बाढी पहिरोबाट कर्णालीमा मात्रै ३५ को ज्यान गयो : कर्णाली सरकारको निर्णय कागजमै सिमित


सल्यान, १६ साउन ।
वर्षात सुरु भएयता कर्णालीमा बाढी पहिरोमा परि ३५ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक÷एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले बताएको छ ।

वर्षात सुरु भए यता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता छन् । कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । यो अवधिमा पहिरोमा परेर २५ जना घाइते भएका छन् ।

 

कालीकोटमा मात्रै ४४ घर विस्थापित

बाढीपहिरोले कालीकोटका ४४ घरका २६५ जना विस्थापित भएका छन । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँका ४४ घर परिवार विस्थापित भएको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार रास्कोट नगरपालिकाका १३ घर, सान्नी त्रिवेणी गाउँपालिकाका ५ घर र नरहरिनाथ गाउँपालिकाका २५ घर विस्थापित भएका छन् । उनीहरु केहीलाई विद्यालयमा राखिएको छ केहीलाई पाल टाँगेर जंगलमै राखिएको छ ।

विस्थापितलाई राहत र व्यवस्थापन गर्ने काम स्थानीय तहहरुले गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । घटनास्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको टोली खटाइएको छ ।

असार १५ देखि साउन १६ सम्मा जिल्लामा १३ जनाको मृत्यु भएको छ भने ७ जना बेपता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले जानकारी दिए ।

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । अवरुद्ध सडक समयमै खुलाउन नसक्दा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

अविरल वर्षाका कारणले राजमार्गको दैलेख, कालीकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार राजमार्गको पहिरो हटाउने काम भइरहेको र लगातार पानी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि राजमार्ग खुलाउन समस्या भएको छ ।

प्रदेश सरकारको तयारी कागजमै सीमित

प्रायः भूभाग विकट रहेको कर्णालीका १० वटै जिल्ला बाढी वा पहिरोको जोखिममा छन् । तर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम रहे पनि प्रदेश सरकारको पूर्वतयारी शून्य जस्तै छ । प्रदेश सरकारले बाढी, पहिरोलगायत विपद्को पूर्वतयारीका लागि भन्दै गरेका एक दर्जन निर्णय पनि निर्णयमै सीमित छन् ।

गत असार २९ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेशमा बाढी, पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सार्नेदेखि प्रदेशका ७९ वटै स्थानीय तहमा विपदमा परेकाहरुको तत्काल उद्धारका लागि ‘टास्क फोर्स’ गठन गर्ने निर्णय ग¥यो ।

तर १९ दिन बित्दा पनि निर्णयहरु कागजमै सीमित छन् । टास्क फोर्स गठन सम्बन्धमा कुनै जानकारी नभएको स्थानीय तहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस