हटेन रुढीवादी परम्परा

हामीले धर्म मान्नुपर्छ, संस्कृति मान्नुपर्छ र परम्परा पनि मान्नुपर्छ । तर धर्म, संस्कृति र परम्पराका नाममा समाजलाई नै माथि उठ्न नदिने, मानिसलाई नै असुरक्षित बनाउने र समाजमा विद्रोह निम्त्याउने कुराहरु संरक्षण गरिनु आवश्यक छैन । धर्म, संस्कृति र परम्पराले पारस्परिक एकता बनाउनुपर्छ, राष्ट्रिय एकतामा बल पुग्नुपर्र्छ र समाजमा मेलमिलाप, सहयोग एबं उपकारका कुराहरुमा जोड दिनुपर्दछ ।

तर भर्खरै मात्र धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गरेको घटनाले सवैलाई आश्चार्य बनाएको छ । सवैको मनमा पीडा थपेको छ । नेपालका प्रथम एबंं पूर्वराष्ट्रपतिको जिल्लामा घटेको यस प्रकारको घटनाले सयौं प्रश्न उब्जाएको छ ।

उक्त घटनाका दोषि झाँक्रीलाई प्रहरीले पक्राउ गरेकोे छ ता पनि यतिले मात्र पुग्ने देखिदैन । यसप्रकारको घटना घट्नुमा हाम्रा परम्परा, संस्कृति र मूल्यमान्यताहरु संसोधन गर्नुपर्ने आवश्यकता महशुस भएको छ । गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो । जसको निरन्तर अनुसन्धान भईरहेको थियो ।

उल्लेखित घटना एउटा नमूना मात्रै हो । तराईका जिल्लाहरुमा दाईजो नपाएको निहुमा महिलाहरुको हत्या गरिएको छ । छोरीलाई विवाह गरिदिनुपरेमा सम्पत्ति नै सिध्याउनुपर्ने अवस्था छ । केटा पक्षमा दाइजोको यति धेरै मोह छ कि भनेजति दाइजो नपाएमा जीवनभर महिलाहरु श्रीमान र परिवारबाट अपहेलित हुनुपर्ने अवस्था छ । यसरी तराईमा भईरहेको धामी, झाक्री, बोक्सी, दाइजो लगायतका समस्याले ठूलो रुप लिएको छ ।

त्यस्तै नेपालको सुदुरपश्चिम क्षेत्रमा अर्को खतरनाक रुढीवादी परम्पराले जरो गाडेको छ । जसलाई छाउपडी प्रथा भनिन्छ । महिलाहरु रजश्वला हुदा एक्लै र एकान्तमा रहेको गोठमा बस्नुपर्ने प्रचलनले कैयौ चेलीबेटी वलात्कारको शिकार हुने गरेका छन् । कैयौं किशोरीहरुले अनेक पिडा सहनुपरेको छ । कति युवतीहरु सर्पको टोकाईबाट मृत्युको मुखमा पुगेका छन् ।

यसरी सुदुरपश्चिममा यस प्रकारको परम्परा र संस्कृतिले अँझै पनि हजारौं महिलाहरु संकटमा छन् । रुढिवादी परम्पराले तराई मात्रै होइन, पहाडी र हिमाली भेग पनि अछुतो छैन । झारफुकको भरमा परेर कैयौंले ज्यान गुमाईरहेका छन् । प्रार्थना गरेमा रोग निको हुन्छ भन्दा भन्दै कतिले ज्यान गुमाउने गरेका छन् । वास्तविकता वुझ्नै नसक्ने र बुझ्नै नचाहने वर्गले अहिले पनि समस्या निम्त्याईरहेका छन् ।

रुढीवादी परम्परा र संस्कृति देशभर नै छ । कतै कम छ भने कतै बढी छ । यसप्रकारका संस्कृति, परम्परा र धर्मले समाजलाई पछाडितिरै धेकेलीरहेका छन् । यसमा समाजका जान्ने मान्ने भनिएका हरुको पनि कमजोरी छ । गलत कुरा हो भन्दा भन्दै पनि कारबाही गर्न नसक्ने हाम्रो प्रशासन को पनि कमजोरी छ।

प्रतिक्रिया दिनुहोस

<