हिन्दु धर्मभित्र असाध्यै राम्रा कुराहरु छन्, तर हामीले बुझाउन सकेका छैनौं

 

   कुमाख राष्ट्रिय दैनिकको यस अंकमा बैदिक सनातन हिन्दु परिषद नेपालका अध्यक्ष दधिराम शर्मा भण्डारीसंगको कुराकानीलाई प्रस्तुत गरेका छौं । विशेष गरी हिन्दु धर्मले पवित्र मान्दै आएका कुराहरुको बारेमा यसमा चर्चा गरिएको छ । गाईको महत्व के छ ? पिपलको महत्व के छ ? शालिग्रामको महत्व के छ ? कुशको महत्व के छ ?  श्राद्ध किन गर्नुपर्छ ? कुल किन पुज्नुपर्छ लगायतका विविध विषयमा कुराकानी गर्न गईरहेका छौं । उहाँ केही वर्षयता धार्मिक प्रशिक्षण, धार्मिक कार्यक्रम, धार्मिक क्षेत्रको अवलोकन लगायतका काममा लागिरहनुभएको छ । अर्घाखाँची जन्मस्थल भई दाङलाई कर्मक्षेत्र बनाउदै आए पनि उहा सामाजिक कामका लागि विभिन्न जिल्लाहरुमा पुग्नुभएको छ । यस्तो छ, उहाँसितको कुराकानी ।

वास्तवमा धर्म के रहेछ ?

धर्म भनेको आत्मिय रुपबाट ग्रहण गर्नुपर्ने या धारण गर्नुपर्ने एउटा आध्यात्मिक नियम हो । यो एउटा अदृष्य तर भावनात्मक एकता र संगठनको प्रतिक पनि हो । धर्मले मानव लगायत समस्त प्राणिहरुको हितमा काम गर्नुपर्छं ।

तपाई हिन्दु धर्मको प्रचारप्रसार गर्दै हुनुहुन्छ, धर्म संस्कृतिको संरक्षणमा जुट्नुभएको छ, खासमा के छ यसको रहस्य ?

हामी सनातन धर्मका अनुयायी हौं । सनातन धर्म अति व्यवहारिक छ । यो धर्मका अत्यन्तै महत्वपूर्ण ग्रन्थहरु छन्, जसको नाम धेरैलाई थाहा छ । वेद, पुराण, गीता लगायतका अत्यन्तै महत्वपूर्ण ग्रन्थहरु छन् । तर तिनको महत्व र तिनले भन्न खोजेको सार कुराहरु ओझेलमा परेका छन् । तिनको बारेमा जे–जति बुझेका छौं, जे–जति जानेका छौं, हामीले तिनैलाई धारण गरेर हिडेका छौं । आफूले जानेबुझेका कुराहरु प्रचारप्रसार गर्दै हाम्रो पुर्खाले मान्दै आएको धर्मको रक्षार्थ उभिने प्रयत्न गरेका छौं ।
त्यसैगरी हिन्दु धर्मका विभिन्न शास्त्रहरुमा भएका मानवहितका कुराहरुलाई प्रचारप्रसार गर्नु हाम्रो पनि कर्तव्य हो भन्ने ठानेका छौं ।

हिन्दु धर्मभित्र केही प्राणी र वस्तुहरु जस्तो कि गाई, पिपल, कुश, शालिग्राम लगायतलाई पवित्र मान्दै आएको  पाईन्छ । त्यस्तै विभिन्न पुजा आराधना र हिन्दु संस्कारहरुमा तीनीहरुलाई महत्व दिदै आएको पाईन्छ, । त्यसमा के छ महत्व ?

हिन्दु धर्म अत्यन्तै व्यवहारिक र बैज्ञानिक धर्म हो । यसभित्रका विभिन्न कुराहरु विज्ञानसम्मत छन् । आज विज्ञानले समेत हिन्दु धर्मले महत्व ठानेका कुराहरुलाई अँझ पुष्टि गरेको छ ।
गाई बहुउपयोगी छ । गाईको गहुतमा किटनाशक क्षमता हुन्छ, त्यसैले अहिले पनि गहुतलाई पवित्र मान्दै आएको अवस्था छ । गाईको दुध, दहि, ध्यू लगायत सवै बस्तुको आफ्नै खालको महत्व छ ।  मानवका अत्यावश्यक आवश्यकता धान्नेदेखि औषधि उपचार समेतमा गाईको उपयोग हुन्छ । हिन्दु शास्त्र अनुसार गाईलाई लक्ष्मिको रुपमा र गौमाताको रुपमा पुजा गरिदै आएको छ ।  विशेष गरी शान्त स्वभाव र बहुउपयोगी गुणकै कारण गाईलाई पुज्दै आएको देखिन्छ ।

त्यस्तै पिपलले सवैभन्दा बढि अक्सिजन उत्पादन गर्दछ । त्यहि भएर हाम्रा पुर्खाले विभिन्न क्षेत्रहरुमा पिपलको चौतारो बनाउने गरेको पाईन्छ । पिपलको जराबाट पनि औषधिजन्य वस्तुहरु उत्पादन गरिन्छ । यसलाई भगवान विष्णुको रुपमा पनि पुजिदै आएको छ । विष्णु भगवानलाई संसारका पालनकर्ता मानिन्छ ।

त्यस्तै कुश, तुलसी लगायतका विरुवा पनि अत्यन्तै उपयोगी छन् । एकातिर विष्णु भगवानको प्रतिकको रुपमा लिने गरेका छौं भने अर्कोतिर मानबको लागि बहु उपयोगी बस्तु पनि रहेका छन् । त्यस्तै शालिग्राम पनि विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरेका छौं ।

अनि मानिसहरु भगवानका नाममा ब्रत बस्ने गर्दछन्, यसमा पनि केहि रहस्य छ कि ?

भगवानका नाममा ब्रत बस्ने भनेको एक त मानिसले आफू एउटा असल काममा मात्र लाग्नेछु भन्ने प्रतिज्ञास्वरुप गरेको तपस्या हो । अर्कोतिर केहि दिनको अन्तरमा ब्रत बस्दा यसबाट शरीरलाई समेत फाईदा हुने कुरा विज्ञानले समेत प्रमाणित गरेको छ । तर ब्रत बस्दा पानी समेत नपिउने भन्दा पनि अन्य खाद्यान्नहरु वा कडा खालको भोजनमा केहि विश्राम गर्न सकिन्छ । यसबाट स्वास्थ्यलाई केहि हानी हुदैन ।  अहिले पनि मानिसहरु मोटोपना घटाउने नाममा वा शरीरलाई व्यालेन्स राख्ने नाममा खाली पेट बस्ने गरेको पाईन्छ । विकसित देशमा समेत यो प्रचलन छ ।

श्राद्ध किन गरिन्छ ?

हामीले गर्ने श्राद्ध कर्मको पनि अत्यन्तै महत्व छ । हामीलाई विभिन्न संस्कार र संस्कृति सिकाउने, आदर्श, ज्ञानगुण र आफूले जानेको कला एबं सीप सिकाउने पिता माता र पुर्खाको सम्झना एबं श्रद्धास्वरुप श्राध्द कर्म गरिएको हो । हामीलाई मनुश्यको रुपमा जन्म मात्र दिएका छैनन्, बाँच्ने कला समेत पितामाताले दिएका छन् । विशेष गरी उनैको सम्झना र श्रद्धास्वरुप श्राद्ध कर्म गरिन्छ ।

कुल पुजा गर्नुको महत्व के छ ?

पुजा गर्ने जुन परिपाटी छ, यसको पनि आफ्नै खालको महत्व छ । आफ्ना समस्त भाइ बन्धुहरु भेला भएर जुन खालको भेटघाट, समीक्षा र मेलमिलाप एबं सहयोगको वातावरण बन्छ, यो आज विकसित देशका लागि पनि अनुकरणीय छ । आफ्ना भाईबन्धु, इष्टमित्र, नातागोता र आफन्तीहरु भेटघाट भएर जुन खालको आत्मियता प्रकट गरिन्छ, यसले भावि सन्ततिलाई समेत दिशा निर्देशन गरिरहेको हुन्छ । जतिवेला देशमा युद्ध हुन्छ, अशान्ति हुन्छ, मुलुक गृह युद्धमा फस्छ, त्यस्तो बेलामा रगतको नाताले पनि मानिसहरुमा सहयोग आदानप्रदान हुन्छ । अस्तित्वको लडाईमा एकजुट बन्न पनि यसखालका संस्कृतिले मदत पु¥याउछन् ।

यसरी हिन्दु धर्मभित्रका विभिन्न क्रियाकलापमा बैज्ञानिक कारण समेत छ । यसभित्र अत्यन्तै राम्रा कुराहरु छन्, तर हामीले बुझाउन सकेका छैनौं । आज हिन्दु धर्मको महत्व कतिपय विकसित देशमा पनि बुझ्न थालेका छन् । बेद्, पुराण, गीता जस्ता शास्त्रहरु विकसित देशमा अध्ययन अनुसन्धानका विषय बनेका छन् । तर हाम्रो पछिल्लो पुस्ताले यसलाई महत्वहीन ठान्नुमा हाम्रो नै कमजोरी हो, हामीले बुझाउनसक्नुपर्छ ।

धर्म संस्कृति बचाउन भनेर तपाईहरु संगठित रुपमा लाग्नु भएको छ । आज संगठित रुपमा लाग्दै गर्दा के के जिम्मेवारीहरु बहन गर्नु भएको छ ?
यो धर्म बचाउ अभियानमा लागेको धेरै वर्ष वितिसकेको छ । नेपालका विभिन्न जिल्लाहरुमा पुगेर धर्मलाई बचाउनु पर्छ, सनातन धर्मको रक्षा गर्नुपर्छ र सनातन धर्मले नै सवै मानवको कल्याण गर्दछ भनेर प्रशिक्षण दिईरहेका छौं ।

पछिल्लो समय धर्म परिवर्तन गर्ने गराउने काम चलिरहेको छ, फरक धर्मलाई अंगाल्ने र जातिगत तरीकाले विशेष प्रभाव पारेर धर्म परिवर्तन गर्ने गराउने काम अहिले भइरहेको छ, यसमा तपाई के भन्नु हुन्छ  ?

अहिले धर्म परिवर्तन गराउनेहरु दिनरात सक्रिय छन् । पश्चिमेली मुलुकबाट केही मानिसहरु यसमा जोडतोडसंग लागिरहेको अवस्था छ । अर्काे कुरा नेपालको सन्दर्भमा जाति विशेषमा भनौं या दलित, मधेसी, थारुहरुमा बढि देखिएको छ । धर्म परिवर्तन गर्ने राम्रो कुरा होइन । धर्मभित्र हाम्रो पहिचान छ, पुर्खाको पहिचान छ, यो समस्त नेपालीहरुको पहिचानसित जोडिएको विषय हो ।

धर्म परिवर्तन गराउने कार्य अल्प ज्ञानीहरुले गरिरहेका छन् । परिवर्तन गर्ने पनि अल्प ज्ञानी छन् । कतिपय मानिसहरु आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गरेका छन् । आर्थिक अभावकै कारण परधर्मको पक्षमा लाग्न बाद्य हुनुपरेको अवस्था पनि छ । पछिल्लो समय आर्थिक मात्रै पनि होइन, केहि अन्य प्रलोभनहरु पनि छन्, जस्तोः तपाईहरु यो धर्ममा लाग्नु भयो भने बिरामी हुनु हुन्न, विरामी हुनुभयो भने पनि निःशुल्क उपचार हुन्छ । बच्चा बच्चिलाई निशुल्क पढाउन पाईन्छ भन्ने जस्ता नानाथरी प्रलोभनहरु देखाएर धर्म परिवर्तन गराउने  चलन बढेको छ नेपालमा । यसमा पश्चिमी मुलुकको प्रत्यक्ष र अप्रत्यक्ष दुवै सहयोग छ । तर नेपालमा यसको प्रभाव नकारात्मक बन्दैछ । किन भन्दा नेपाल स्वतन्त्र देश हो ।

स्वतन्त्र देशमा धार्मिक युद्ध निम्त्याउनका लागि पश्चिमेली केहि लागेका छन् र योबाट बच्न  हाम्रो संगठन र हामीले पनि सक्दो पहल गरिरहेका छौं, गर्नुपर्छ ।

तपाईहरु  कसरी संगठित रुपमा यहाँसम्म आउनुभएको छ ? पृष्ठभूमि बताईदिनुहुन्छ कि ?

हामी हिन्दु पारिवारीक पृष्ठभूमिकै हौं । तर केहि वर्ष यता युवापुस्तामा हाम्रो हिन्दु धर्म र संस्कृतिप्रतिको मोह घट्न थालेकोमा हामी चिन्तित छौं । हामीले हिन्दु धर्म र संस्कृतिको चिन्तनमनन्मा लाग्दै गर्दा संगठित रुपमै अगाडि बढ्ने सोच बनायौं ।

आफ्नो टोल र छिमेकमा मात्रै धर्मको प्रचार प्रसार र संरक्षणले मात्रै पनि हिन्दु धर्म, संस्कृति र संस्कार नजोगिने ठानेर देशव्यापी रुपमा लाग्नुपर्छ भन्ने सोच बनायौं । देशमा स–साना र भिन्न भिन्न धार्मिक संस्थाहरु छन्, भिन्न भिन्न संस्कृतिहरु छन् । यिनीहरुलाई कसरी मोर्चाबन्दी गराउने भन्ने बारे सोच्यौं र बैदिक सनातन हिन्दु परिषद नेपाल गठन गर्यौं ।  त्यो संस्थाबाट यो धर्मलाई कसरी बचाउने भनेर लागि रहेका छौं ।
तपाई यसबारे प्रशिक्षण र संगठन बिस्तारको लागि सल्यानमा पनि आउनु भएको थियो । संगठन बिस्तारको काम कहाँ सम्म पुग्यो ?
सल्यानमा बैदिक सनातन हिन्दु परिषद २०७३ फाल्गुनमा गठन गर्यौं । शुरुमा तदर्थ समिति गठन ग¥यौं । त्यो तदर्थ समितिले विधिवत रुपमा पुर्णता पाईसकेपछि अहिले सम्म पनि तदारुपताका साथ काम गरिरहेको छ । हामीबीच सल्लाह सुझाव पनि आदानप्रदान भईरहेको छ । अरु जिल्लामा पनि हामीले संगठन बिस्तार गरी रहेका छौं । ८,१० जिल्लामा समिति नै गठन गरिसकेका छौं । थप अन्य जिल्लामा पनि हामिले संगठन बिस्तार गर्ने प्रयासमा छौं ।

नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भन्ने कुरा पनि बेलाबेला उठिरहेको छ । पछिल्लो समय यो कुरा अलि सेलाएको हो कि के छ अवस्था ?

नेपाल पहिले पनि हिन्दु राष्ट्र थियो र अहिले पनि जनताको रगत रतमा हिन्दु राष्ट्र नै छ । कागजमा हटाएको भएपनि नेपालीहरुको मनबाट हिन्दु राष्ट्र हट्ना सक्दैन । हामी नेपालका विभिन्न जिल्लाहरु घुम्दै पनि आएका छौं । अहिले हाम्रो हिन्दु राष्ट्र खतरामा प¥यो, यो देशमा हिन्दु राष्ट्र नै चाहिन्छ भन्ने ठुलो जमात छ । नेपालमा हिन्दु राष्ट्र भएन भने अरु धर्म पनि रहदैन् भनेर अरु धर्म मान्नेले समेत भनिरहेको अवस्था छ ।

 धर्म, संस्कृति  र संस्कार बचाउन राज्यले के गर्नु पर्ला ?

धर्म जोगाउन कर्म पनि जोगाउनुपर्छ । कर्मबाट संस्कृति र संस्कार जोगिन्छ । यसको लागि नेपालमा नैतिक शिक्षाको अभाव छ । संस्कृत शिक्षा पनि लागु गर्नुपर्छ । संस्कृत भाषा पुरानो भाषा मात्रै होईन, पुज्य र पवित्र भाषा हो । अतः विज्ञ टोलि बसेर शिक्षा नीतिमा परिवर्तन ल्याउन जरुरी छ । यस्मा केन्द्र सरकार र स्थानीय सरकार दुवैले सोच्नुपर्ने बेला भएको छ । पश्चिमेली संस्कार भन्दा नेपालकै धर्म संस्कृतिलाई बचाउन जोड दिनुपर्छ । १२ कक्षा सम्म संस्कृति तथा नैतिक शिक्षा लागु गर्नुपर्छ । हाम्रो धर्म, संस्कृति र संस्कारभित्रका राम्रा पक्षहरुलाई प्रचार प्रसार गर्नुपर्छ । राज्यले यस कुरालाई महत्वका साथ हेनुपर्दछ ।

अन्तमा तपाई के भन्न चाहनुहुन्छ ?

हामी बैदिक सनातन हिन्दु परिषद नेपालको तर्फबाट सबैलाई के भन्न चाहान्छौं  भने हिन्दु धर्म निकै पुरानो धर्म हो । हिन्दु धर्मभित्र अत्यन्तै महत्वपूर्ण कुराहरु छन् । स्वधर्मा पत्यिाग गरेर अन्य धर्म अंगाल्न खोज्नु भनेको कहिल्यै पनि समाजमा एकता र मेलमिलाप नचाहनु हो । यदि कहि कतै विकृति विसंगति भएमा सुधार गर्नुपर्छ तर धर्म परिवर्तन गर्ने चिज नै होईना । पुर्खादेखि जे चलिआएको छ,  त्यही धर्मलाई मान्नुपर्छ र यो देशलाई शान्तिमय बनाउनुपर्छ । जो जसले बाटो विराउनुभएको छ, तपाईहरु पनि एक दिन फेरी सनातन धर्ममै फर्किनु पर्दछ । बाटो बिराउदा केहि दुख पाईन्छ । दुख पाएर फेरी पुरानै बाटोमा आउनुभन्दा बाटो नविराउनुहोस् भन्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस

<