दश वर्षमा राजनीति सफा हुन्छः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षमा राजनीतिक सफा हुने बताएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा उनले एक दशकभित्र नेपालको राजनीतिलाई सही ट्र्याकमा ल्याउने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार, अनियमितता व्याप्त रहेको स्वीकार्दै सचेत नागरिकको खबरदारी र राजनीतिक दलको इच्छाशक्तिले यसलाई शुद्धिकरण गर्ने बताए । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले मुलुकको सबै क्षेत्रमा भ्रष्टाचार मुख्य रोग रहेको बताउँदै राजनीतिमा झन् ठूलो भ्रष्टाचार हुने बताएका थिए ।
प्रत्युत्तरमा दाहालले  भने, “हामी सबैका प्रिय कलाकार मदनकृष्ण श्रेष्ठले हस्यौली पारामा तर मार्मिक कुरा गर्नुभयो । उहाँले भनेको प्रिय सुनिँदो रहेछ । अरू कसैले भनेको भए रिस उठ्थ्यो होला ।”
उनले सत्तापक्ष, प्रतिपक्ष सबैका कारण क्रिकेट रंगशाला बनाउने सपना सार्थक हुन लागेको बताए । चितवनबाटै निर्वाचित जनप्रतिनिधिसमेत रहेका दाहालले क्रिकेट मैदानको जग्गा खोजीमा आफूले पनि ताकेता गरेको बताएका थिए ।
त्यस्तै उनले खेल क्षेत्र स्वास्थ्यसँग मात्रै नजोडिएको र यसले वृहत् उद्योगको आकार लिइसकेकाले नेपालले पनि फड्को मार्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

<