नौ महिनामा ३४७ को मृत्यु, साढे ३ अर्ब रुपैयाँको क्षति

काठमाडौं । २०७५ साल पुससम्मको ९ महिनामा देशभर प्रकोपका घटनामा परी ३ सय ४७ जनाले ज्यान गुमाएका छन् । गत वैशाख १ गतेदेखि पुस मसान्तसम्ममा देशभर भएका ३ हजार १ सय ५२ वटा प्रकोपका घटनाले व्यक्ति तथा राज्यलाई साढे ३ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुर्याएको छ ।

राज्यले प्रकोप व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा वर्षेनी करोडौं रुपैयाँ खर्च गर्दै आएपनि प्रकोपका घटना र तिनले पुर्याउने क्षति वर्षेनी बढ्दो छ । गृह मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ९ महिनाको अवधिमा देशभर प्रकोपका घटनामा परी १ सय ९६ पुरुष र १ सय ५१ महिला गरी ३ सय ४७ जनाको ज्यान गएको छ । ती घटनामा ८ जना पुरुष र एक जना महिला गरी ९ जना बेपत्ता भएका छन् ।

प्रकोपका घटनामा १ हजार ६ सय ५४ पुरुष र १ हजार २५ जना महिला गरी २ हजार ६ सय ७९ जना व्यक्ति घाइते भएका थिए । प्रकोपका घटनाबाट पछिल्ला ९ महिनामा ६ हजार ९ सय ८८ घर–परिवार प्रभावित भएको गृहको तथ्यांकले देखाएको छ । ती प्रकोपको घटनामा ३ हजार १ सय ८२ घरपालुवा जनावर मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस

<