सल्यानको पत्रकारिता मर्यादित रुपमा अगाडि बढेको छ,

पत्रकार महासंघ सल्यानका अध्यक्ष : प्रतिक इच्छुक शर्मा

कुमाख दैैंनिकले २ वर्ष पार गरेको सन्दर्भमा पत्रिकाको समीक्षा गरिएको छ । त्यस्तै सल्यानमा सञ्चार क्षेत्रको अवस्था र योगदान विषयमा पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मासंग कुराकानी गरेका छौं । यस्तो छ उहाँसितको कुराकानी ।

 

सल्यानमा तपाईले अध्यक्षको जिम्मेवारी सम्हालेको कति समय भयो ?

मैंले एक कार्यकाल भनौं ३ वर्ष अवधि सकिएर पनि पुनः ६ महिनाका लागि उक्त जिम्मेवारीमै रहने अवसर पाएको छु ।

यो तीन वर्षको अवधिमा पत्रकार महासंघले गरेका स्मरणीय कार्यहरु के के छन् ?

पत्रकार महासंघ सल्यानले सर्वप्रथम महासंघको आफ्नो कार्यालयका पुर्वाधार निर्माण गरेको छ । यसबीचमा तत्कालीन जि.वि.स., सूचनाविभाग र नगरपालिकाको सहयोग लिएर महासंघको भवन निर्माण (तला थप्ने कार्य) संगै फर्निचर लगायतको उचित व्यवस्थापन गरेको छ ।

त्यसबाहेक पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गरेको छ ।

मेरो आफ्नै कार्यकालमा पत्रकारिता क्षेत्रमा योगदान गर्नेहरुलाई प्रोत्साहन दिनका लागि ३ वटा पुरस्कार स्थापना भएका छन् । पत्रकार शालिकराम शर्मा स्मृतिको नाममा (शारदा एफएम समेतले सहयोग गर्ने गरी) कोष खडा गरिएको छ ।

त्यस्तै पत्रकार करण शर्माको आमाको स्मृतिमा ५१,००० को पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

त्यस्तै तत्कालीन जिल्ला विकास समितिको निमित्त स्थानीय विकास अधिकारी र हाल शारदा नगरपालिकाका मेयर शुरेश अधिकारीको छोरीको स्मृतिमा रु. ५०,००० को पत्रकारीता पुरस्कार कोष खडा गरिएको छ । यसरी सल्यानमा महासंघले गरेका गतिविधि कतिपय छिमेकी जिल्लाहरुभन्दा पनि उत्कृष्ट रहेको अन्य जिल्लाहरुको समेत मुल्यांकन छ ।

त्यस्तै पत्रकार महासंघले जिल्लाका विभिन्न क्षेत्रको प्रचारप्रसार र विकास होस् भन्ने उदेश्य राखी जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा महासंघको नियमित बैठक राख्ने गरेको छ ।

यसबीचमा जिल्लाको लक्ष्मिपुर, मालिका लेक, चाँदनी गुफा लगायतका विभिन्न क्षेत्रमा घुम्ति बैठक राखेर पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने काम गरेको छ ।

त्यस्तै पत्रकार महासंघले आफ्नो स्थापना दिवस् मनाउन थालेको छ, यो पनि राम्रो पक्ष मानिन्छ । त्यसैगरी महासंघले आफ्ना विभिन्न गतिविधिहरु समेटेर बार्षिक मुखपत्रको रुपमा प्रकाशन गर्ने तयारी गरेको छ । यी विभिन्न कामहरु पत्रकार महासंघले गरिरहेको र गर्ने तयारीमा रहेकोले समग्रमा सल्यानको पत्रकार महासंघ क्रियाशिल छ ।

 

सल्यानका सञ्चारमाध्यम र पत्रकारको पहुुँचको अवस्था कसरी मुल्यांकन गर्नुभएको छ ?

 

पछिल्लो समय सल्यानका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको राम्रो पहुँच पुग्दै गएको छ । पछिल्लो समय सञ्चारमाध्यमको संख्या पनि बढेको छ, ५,६ वटा रेडियोहरु नियमित चलेका छन् ।

राष्ट्रिय स्तरका पत्रपत्रिकामा सल्यानका समाचारहरु धेरै देख्न सकिन्छ , टेलिभिजनमा पनि नियमित रुपमा समाचार गईरहेका छन् ।

त्यस्तै जिल्लामा भएका गतिविधिहरु १०,१२ वटा अनलाईनहरुमा धेरैले जानकारी पाईरहेकै छन् । त्यस्तै तपाईहरुले पनि पत्रिकालाई निरन्तरता दिइरहनुभएको छ ।

यी विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुको समाचार सम्प्रेणको कारण सल्यानमा पत्रकारीता क्षेत्रको विकास राम्रो हुदै गएको छ भन्ने मलाई लाग्छ ।

 

पत्रकारहरुले कतिपय विषयहरु उठान गर्न नसकेको भन्ने जनसमुदायको गुनासो पनि सुनिन्छ, यसलाई कसरी लिनुहुन्छ ?

 

कुनै पनि क्षेत्रमा गुनासो आउछ भने त्यो राम्रो पक्ष हो, गुनासो आउनुलाई सकारात्मक रुपमा लिनुुपर्छ, यसले सच्चिने र सच्याउने अवसर पनि दिन्छ, तर सल्यानमा त्यसरी धेरै विषयहरु ओझेलमा परेका वा पत्रकारले उठान गर्नै नसकेका भन्ने मलाई लाग्दैन ।

विभिन्न क्षेत्रका समाचारहरु निरन्तर आईरहेका छन् । बरु पढ्ने, अध्ययन गर्ने जस्ता कुराहरुको कमी भएर पनि उहाँहरुलाई जानकारी नभएको ुहुन सक्छ ।

पत्रकारहरु पनि विभिन्न प्रलोभनमा पर्ने गरेको गुनासो सुनिन्छ, कतै ति आरोपहरु सत्य हुन् ?

समग्रमा सल्यानको पत्रकारिता निकै मर्यादित छ ।

पत्रकारबाट कहिल्यै गल्ति हुदैन भन्ने होइन, कहिलेकाँही कुनै पत्रकारहरुबाट केही कमीकमजोरी हुनु स्वभाविक पनि हो, तर गल्ति गरेको अवस्थामा सम्बन्धित सञ्चारमाध्यम र पत्रकारले स्वीकार्नुपनि पर्छ र सच्चिनुपनि पर्छ ।

तर तथ्य र प्रमाणविना लाग्ने आरोपलाई त्यति महत्व दिन हुदैन ।

गल्ति नै गरेको भए गुनासो सुन्ने निकाय छ, पत्रकार महासंघ छ, प्रेश काउन्सील छ । कहिले काँही कुनै गल्ति नगर्दा पनि मिथ्या आरोप लगाउनेहरु पनि समाजमा हुन्छन् ।

अतः सकेसम्म गल्ति गर्नुहुदैन र भूलबस वा कथंकदाचित भएका गल्तिकमजोरीलाई सम्बन्धित सञ्चारमाध्य वा पत्रकारले भूल स्वीकार गर्नुपर्छ, तर विधि र प्रक्रियासम्मत तरिकाले ।

 

सल्यानमा सूचना लुकाउने वा स्थानीय सञ्चारमाध्यमलाई दिनुपर्ने सूचनाहरु पनि बाह्य जिल्लामा पठाउने गरेको प्रशस्त उदाहरण छन् । यसमा महासंघको के छ धारणा ?

सल्यानमा लामो समयदेखि यी विषयहरुमा छलफल हुदै आएको छ । स्थानीय सञ्चारमाध्यमलाई दिन मिल्ने सूचनाहरु बाहिर पठाउनु राम्रो होइन । यसबारेमा विभिन्न कार्यक्रमहरुमा समेत कुरा उठाउने गरेका छौं ।

पत्रकारिता सेवा वा व्यबशाय के हो ? यसलाई कसरी लिने ?

अहिलेको समग्र पक्षको मुल्यांकनबाट पत्रकारिता क्षेत्र सेवाकै रुपमा रहेको पाईन्छ । धेरै पत्रकारहरु पैंसा कमाउने सोचभन्दा पनि आफ्नो क्षमता विकास र आफ्नो पहिचानका लागि समेत प्रवेश गरेका छन् ।

पत्रकारितामा धेरै चुनौतिहरु छन् ता पनि सञ्चार उद्यमीहरुले आफ्ना कर्मचारीहरुलाई दिनुपर्ने पारिश्रमिक दिनैपर्छ ।

सञ्चार उद्यमहरुलाई राज्यले टेवा दिनुपर्छ, तर उद्यमीले आफ्ना कर्मचारीहरुलाई विना पारिश्रमिक काम गराउनुहुदैन ।

स्थानीय सरकारहरुले पत्रकारिता क्षेत्रलाई कसरी लिएको पाउनुहुन्छ ?

कतिपय स्थानीय सरकारले सञ्चारक्षेत्रलाई राम्रो दृष्टिले हेर्ने गरेका छन् । सवै प्रकारका सूचना र जानकारी दिएर आफ्ना गतिविधि जनतामाझ पु¥याएका छन् ।

तर कतिपय स्थानीय तहमा सञ्चारकर्मीहरुप्रतिको बुझाई सकारात्मक पाउन सकिदैन । ढाकछोप गर्नुपर्ने कुराहरु पनि बाहिर ल्याईदिएको भनेर पत्रकारप्रति शसंकित हुने गरेको पाईन्छ ।

सञ्चारक्षेत्रलाई जसले विकासको साझेदार बनाएका छन्, उनीहरुको दृष्टिकोण सकारात्मक छ र जसले जनतामाझ पुर्याउनुपर्ने कुराहरु पु¥याउन चाहदैनन् उनीहरुले हेर्ने दृष्टिकोष त्यति राम्रो देखिदैन ।

तर स्थानीय सरकारले सञ्चारलाई पनि विकासकै साझेदारको रुपमा लिनुपर्छ । पत्रकारले नागरिकलाई निरन्तर सूसूचित गर्दछन् । जसले गर्दा विकासमा जनताको सहभागीतामा बढ्छ ।

 

कतिपय मानिसहरु पत्रकारहरु प्रति पनि शसंकित देखिन्छन्, के पत्रकारले गलत नै गरेको अवस्था हुन्छ कि हेर्ने दुष्टिकोणमै कमजोरी हो ?

पत्रकारले स्पष्ट रुपमा समाचार सम्प्रेषण गर्नुपर्छ, स्पष्ट स्रोत सन्दर्भ सहित पुष्टि हुने कुराहरु मात्र लेख्नुपर्छ । तर कतिपय अवस्थामा सहि समाचारमा समेत प्रश्न उठाउने गरेको पाईन्छ, यो भने हेर्न दृष्टिकोष नै गलत हो ।

अन्तमा पत्रकार महासंघको जिल्ला अध्यक्षको हैसियलते के सुझाव दिनुहुुन्छ ?

हामी पत्रकारहरुले कसैको प्रभावमा वा दवावमा समाचार सम्प्रेषण गर्नुहुदैन । सहि सूचनाहरु प्रवाह गर्नुपर्छ । सल्यानको आजसम्मको पत्रकारिता क्षेत्रको अनुभव र अभ्यासबाट के भन्न सकिन्छ भने आजका दिनसम्मको सल्यानको पत्रकारिता मर्यादित छ ।

पत्रकारिता क्षेत्रको विकास पनि हुदै गएको छ । पत्रकार थपिएका छन्, सञ्चारमाध्यम थपिएका छन् , पत्रकारले गलत काम गरेको पुष्टि कसैले गर्न सक्ने अवस्था छैन ।

कतिपय स साना कमी कमजोरी जुनसुकै क्षेत्रमा पनि हुन्छन्, तिनलाई सच्याउदै र सुधार गर्दै जानु हामी सवैको कर्तव्य हो ।

र अर्को कुरा सल्यानका सवै स्थानीय सरकारहरुले सकेसम्म स्थानीय र जिल्लाकै सञ्चारमाध्यमहरुलाई सूचना, जानकारी र सन्देशहरु दिन आवश्यक छ ।

पत्रकार र सञ्चार जगतलाई विकासकै साझेदारीको रुपमा हेर्न आवश्यक छ ।

जनतालाई निरन्तर सूसूचित गर्ने र जनचेतना फैलाएर विकास निर्माणमा जनसहभागीता बढाउने एबं जिल्लाको पहिचान र समृद्धिका लागि सरोकारवालाहरुलाई निरन्तर खवरदारी समेत गर्ने भएकोले पत्रकारहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस