दार्मामा असी जना क्वारेनटाइनमा

 प्रकाश शर्मा
२०७७ बैशाख १७ गते बुधबार
सल्यान
            रोजगारीका लागि देशका विभिन्न जिल्लामा पुगेका ८० जनालाई दार्मा गाउँपालिकाले क्वारेनटाइनमा राखेको छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न भन्दै अन्तरजिल्लाबाट घर फर्किएका ८० जनालाई क्वारेनटाइनमा राखेको हो ।

दार्मा गाउँपालिकाका अनुसार रातामाटामा सात, भल्चौरमा १०, मसिनामा ३, रतिखोला १०, सुंगुरखालीमा ६ जना क्वारेनटाइनमा राखिएको छ ।

यस्तै पुखातमा २०, ज्यामिरेमा ११, लिगाछापमा ५, त्रिवेणीमा ४ र दुवाङमा निमार्ण गरिएको क्वारेनटाइनमा ४ जना बसी रहेको जनाइएको छ । क्वारेनटाइनमा बसी रहेका सबैको दैनिक स्वास्थ्य परीक्षण गरि रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले बताए ।

रोजगारी तथा अन्य पेशा व्यवसायका लागि भारत तथा तेस्रो मुलुक र अन्तरजिल्लाबाट गाउँपालिकामा हालसम्म ५ सय १२ जना आएको उनको भनाई छ । जसमा ३ सय ९९ जना होम क्वारेनटाइनमा बसी १४ दिनको अवधि पुरा गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

<