लकडाउन समयको सदुपयोग गरौं

अहिले देशमा लकडाउनको समय छ । कोरोना भाइरसको संक्रमण बढ्ने खतरालाई रोक्ने उदेश्यले सरकारले नै लकडाउन शुरु गरेको हो । कति नागरिकहरुले यो समय सहज रुपमा विताएका छन् भने कतिपयलाई निकै कठिन भएको पनि देख्न सकिन्छ । कतिपयले यसलाई आगामी योजना कोर्ने समयको रुपमा पनि सदुपयोग गरेका छन् भने कतिपयका लागि पुरै बन्धन जस्तै भएको छ । कतिपयले त गोप्यरुपमा जुवातासमा रमाईरहेका खवर पनि सामाजिक सञ्जालबाट थाहा पाउन सकिन्छ । घरभित्रै बस्नुपर्ने बाद्यताका कारण जे होस्, अहिले आ आफ्नै किसिमले समय विताईरहेको अवस्था छ ।

कतिपयले यो समयलाई निकै सदुपयोग गरेको पाउन सकिन्छ । वर्षदेखि पढ्न भनेर थन्काइएका किताबहरुका पाना फेरी पल्टाउन थालेका छन् । घरमा बन्ने खानेकुराहरुमा फेरबदल आएको छ । सधै स्कुलमा व्यस्त हुने छोराछोरीहरु घरमा अव्यस्त हुन थालेका छन् । करेसाबारीले समय पाएको छ । सामाजिक संजालहरु आफ्ना जिन्दगीका पुराना पलहरुका यादले भरिदै छन् । घरका कुनामा थन्किएका गितार, बासुरी, हार्मोेनियमले जानी नजानी धुनहरु निकाल्न थालेका छन् । आफ्नै पेशा, व्यवसायमा रमाउने मानिसहरु अहिले परिवार तथा छोराछोरीसँग रमाउन थालेका छन् ।

अहिलेको समय घरमै रहेर पनि धेरै कामहरु गर्न सक्ने समय हो । ध्यान, योग र अध्ययनमा समय विताउन सकिन्छ । नयाँ श्रृजना र रचनाहरु रच्ने समय यो हुन सक्छ । पारिवारीक वातावरणलाई व्यवस्थापन गर्न सकिन्छ । अभिभावकले परिवारका सदस्यहरुले के चाहन्छन् भनेर बुझ्ने समय अहिले छ । छोराछोरीको रुचिका विषयहरु चिन्न सकिन्छ । कुलतमा लागेका सन्तानलाई सुधार्ने अवसर पनि यो हुन सक्छ । सधैं किनेरै खाने बानी लागेका हामी अब केही दिन भएपनि घरमै पकाएर खानुपर्ने कुरा सिक्दैछौं ।

कुनै महत्वपूर्ण रुचिका पुस्तक, कथा, उपन्यास्, धार्मिक पुस्तक या फिल्म आदि पढ्न या हेर्न समय नमिलेको भए यो समयको सदुपयोग गर्न सकिन्छ ।
तर फुर्सद हुँदा समयलाई सदुपयोग गर्नुको सट्टा समूहमा बसेर तास खेल्ने, जाड–रक्सि खाने, अनि खानपानमा ध्यान नदिने, आवश्यकताभन्दा बढी समय सुत्ने, आफ्नो बारेमा वा आफ्नो पेशा तथा व्यवसायका बारेमा बढी चिन्ता लिएर समय बिताउँदा एउटा बिपत्तिबाट बच्नुको सट्टा कयौँ अरु बिपदहरुलाई थाहै नपाई आमन्त्रण गरिरहेका हुन सक्छौँ । अतः यी कुराहरुबाट बच्न जरुरी छ ।

यही समयलाई उपयुक्त तरिकाले सदुपयोग गर्यौँ भने यो एउटा जिन्दगी बदल्ने अवसर पनि हुन सक्छ । आफ्ना जीवनमा कति त्यस्ता इच्छाहरु थिए तर त्यसमा दिने समय हामीसँग थिएन । अहिले त्यो समय आएको छ । आफ्नो जिन्दगीलाई छुट्टै ऐनामा राखेर हेरौँ, कति समय आफ्ना लागि दिइयो, कति समय अर्काका लागि दिइयो, यी कुराहरुलाई मनदेखि नै महशुस गरौँ । खाली समय बितेको पत्तो नै हुँदैन ।

त्यसैले हरेक दिन सुत्नुभन्दा अगाडि नै भोलिको समय कसरी बिताउने भन्ने आफ्नो योजना बनाएर मात्र बेडमा जाने बानी बसाल्न जरुरी छ । कसैलाई पनि निराशा बनाउने व्यबहार नगरौं । सके सुरक्षित तरिकाले अरुलाई पनि सहयोग गरौं र नसके आफ्नो कारणले अरु कसैलाई पनि अफ्ठयारोमा नपारौं । समयलाई चिनौं र सोहि अनुसार काम गरौं ।

प्रतिक्रिया दिनुहोस

<