कपुरकोट गाउँपालिकाले सम्पूर्ण वडा कार्यालयहरुको समस्या बारे जानकारी लिदैँ

 

सल्यान १२, मंसिर ।
सल्यानको कपुरकोट गाउँपालिकाले वडा कार्यालयहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी सहितको टोलिले वडा कार्यालयहरुको स्थलगत भ्रमण गरेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिन सुरु गरेको हो ।

सो क्रममा वडा अध्यक्ष तथा वडा सचिवले भवन अभाव, फर्निचर, कम्प्युटर, प्रिन्टर जस्ता सामग्रीको समस्या देखाएको भण्डारीले जनाउनुभयो ।
बुधबार ५ नम्बर र ६ नम्बर वडा कार्यालयको अवलोकन गरी त्यहाँको अवस्थाको बारेमा जानकारि लिइएको उनले बताए । ५ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडाध्यक्ष यम कुमार वस्नेत, योजना शाखा प्रमुख राजेन्द्र डाँगी, जिन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन सहित प्रमुख प्रशासकीय अधिकृतले कसरी वडा कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए ।

यस्तै वडा नम्बर ६ का वडाध्यक्ष हेरम बहादुर बुढाथोकीले भौतीक संरचना अभावका कारण सेवा प्रवाहमा कठिनाई भइरहेको जनाउँदै यस वर्ष वडा कार्यालयको भवन निर्माणको तयारी थालिएको बताउनुभयो ।

गाउँपालिकाबाट वडा कार्यालय भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन भएको बुढाथोकीले जानकारी दिनुभयो ।  कर्मचारी, जनप्रतिनिधि सबै एउटै कोठामा बसेर सेवा दिनुपर्दा समस्या हुने गरेको वडा कार्यालयहरुले जनाउने गरेका छन् ।

तत्कालका लागि सानातीना समस्या समाधान गर्ने हिसावले आफुहरु वडाहरुको अवस्था बुझ्न निस्कीएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

बुधबार दुई वडा वडा कार्यालयमा पुगेको जनाउदै उनले बाँकी ४ वटा वडाहरुमा पनि पुगेर त्यहाँको समस्या समाधानको प्रयास गरिने जनाए ।

प्रतिक्रिया दिनुहोस

<