दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ

दाङ, १३ साउन ।
दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । सोमबार दिउँसो घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कको एक होटलबाट १४ किलो चरेससहित ६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पा नगरपालिका–१० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका-५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका–४ कि जुनु बुढा, सल्यान बनगाढ नगरपालिका–१२ का २८ वर्षका डिलबहादुर विक र नेपालगञ्ज उप–महानगरपालिकाका सन्तोष गुरुङ रहेको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक क्षेत्रीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि पनि दाङबाट रोल्पाका ६ किलो ९६७ ग्राम लागूऔषध अफिमसहित ४ जना पक्राउ परेका थिए । साउन ९ गते रोल्पाको सुनछहरी गाउँपालिकाका ४ जना राप्ती गाउँपालिका १ भालुवाङको एक होटेलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस