नेपालमा आयातीत साहित्यका विधामा बढी नै बहस हुने गरेको पाइन्छ । तर बहस कै बीच त्यो फैलिन्छ यद्यपि आफ्नोपन र विशेषता लिएर । गजल जस्तै हाइकु आयातित विधा हो । तर हाइकु नेपाली भजन, चुट्का र लोकगीतहरूमा पहिलेदेखि नै प्रयोगमा थियोे भनेर खोजी भइरहेको छ । तर नेपालीपनमा ती विधालाई ढाल्न साहित्यका साधकहरू लागिपरिरहेका छन् । म गजललाई छन्दमा लेखिनुपर्छ र मज्जाले लेख्न सकिन्छ भनेर प्रमाणित गर्नुहुने पोष्टराज चापागाईंका यी मन छुने शब्दहरू यहाँ प्रस्तुत गर्दछु ।
“बहरको गुलाफी मगमगभन्दा छन्दको चसचस नै किन नहोस् प्यारो लाग्छ मलाई । यसकारण नै होला बहर नेपाली गेय साहित्यले सँगालेको अमूल्य नासो हो भने छन्द झुत्रै किन नहोस् वंशजको नाताले पाएको नेपाली नागरिकता जस्तो लाग्छ मलाई ।“
( पोष्टराज चापागाईं
आज पोष्टराज चापागाईंले निर्माण गरेका हिमालको नाममा राखिएका छन्दमा धेरै गजलकारले गजल लेखेका छन् । छन्दमा लेखिएका गजल संग्रहमा पोष्टराजद्वारा लिखित छन्द शिखर र गौरी पव्लिकबाट प्रकाशित शैलहार संयुक्त गजल संग्रहलाई लिन सकिन्छ ।
यसैगरी नेपाली साहित्यमा २०७६ साल वैशाख २१ गते एउटा अविस्मरणीय दिन बन्यो । पहिलो पल्ट नेपालमा स्टेजमा हाइकु गाइयो र वर्णमालामा हाइकु पुस्तकको लोकार्पण भयो । यसका नायक थिए, दुर्गा अधिकारी भमरकोटे । भमरकोटे साहित्यकार तेजप्रकाश बानियाँका साहित्यका सिष्य हुन् । मन्चमा प्रस्तुत नगरे पनि हाइकुलाई बानियाँले गुनगुनाउँथे । उक्त कार्यक्रममा बानियाँलाई दोसल्ला ओडाई सम्मान समेत गरिएको थियो ।
त्यो दिनबाट भमरकोटेले हरेक स्टेजमा हाइकु गाउन थाले । नेपाली लोकभाकामा हाइकु जम्न थाल्यो । सबैले मनपराउन थाले । हाइकुको महत्त्व र उचाइ बढ्न थाल्यो । यसैबीच गतिशील साझा साहित्य आवाजले भमरकोटेको विशेष हाइकु वाचन कार्यक्रम नै राख्यो । तालीको वर्षासँगै भमरकोटेले लोकभाकामा हाइकु सुनाए । मंसिरको सुरूवातमै उनको कृति हाइकु वर्णमालाको दोस्रो संस्करण नै आयो । हाइकुको पुस्तकले प्रसस्त पाठक सहित प्रशंसा कमायो ।
यसरी नेपालीपनमा पनि हाइकु लेख्न र गायन मार्फत प्रस्तुत गर्न सकेको खण्डमा हाइकुका पाठक, स्रोता र दर्शकले अत्याधिक मनपराउँदा रहेछन् भन्ने पुष्टि भयो ।
यति हुँदाहुँदै पनि हाइकुका केही जानकार भनाउँदाहरू उहाँका हाइकुलाई हाइकु मान्न तयार छैनन् । १७ अक्षरमा लेखिने हाइकुलाई सत्ताइस खाले तर्क वितर्क गर्न लाग्छन् । उहाँको हाइकु यात्राको पूर्णविराम लागोस् भनेर मनोबल गिराउने प्रयत्नमा समेत लागेका देखिन्छन् ।
यद्यपि जब सर्जकहरू आकर्षित हुन्छन् । पाठक स्रोता र दर्शकले मन पराउछन् तब विरोधको नाममा विरोध मात्र गर्ने विरोधीहरूले भित्तामा टाउको ठोकाए पनि सिर्फ उनीहरूको आफ्नै टाउको दुख्ने हो । सर्जक पाठक र श्रोता–दर्शकले त्यो मिठास न भुल्न सक्छन् , न भडकाउ र विरोधको स्वर सुन्छन् ।
नेपाल भित्रीएको ५० वर्ष भएपनि अधिकास हाइकुकारहरूले यसको ठ्याक्कै मापदण्ड र परिभाषा ठम्याउन नसकेको बेलामा लोकभाकामा हाइकु खोजिनु र लेखिनु सुखद कुरा हो । अब १७ अक्षरको हाइकु लेख्न सत्ताइस थरी कुरा सुनिरहनु आवश्यक छैन् ।
म यहाँ तिला लेकालीको पर्खालभित्र हाइकु सङ्ग्रहमा हाइकुकार मिश्र वैजयन्तीले लेख्नु भएको कुरा साभार गर्दैछु ।
“ हाइकु चीनबाट बीजारोपण भएर जापानमा विकास भई संसारका प्रायः सबै लिखित भाषाहरूमा लेखिन थालेको साहित्यिक विधा हो । त्यसैले हाइकुमा चिनियाँ र जापानी नियमहरू जस्तै अन्य भाषाका हाइकुका नियमहरू पूरा गर्न आफैंमा पनि निकै कठिनाइ छ । नवीन लेखकहरूले नियम भत्काएर लेख्ने परिपाटीले पनि हाइकुका नियमहरूलाई उत्ति पछ्याइरहेको पाउन सकिएको अवस्था छैन् । “
( मिश्र वैजयन्ती
यसैगरी देशभरिका हाइकुकार समेटेर पुर्वान्चल हाइकु संघले निकालेको सम्बन्ध सुत्र संयुक्त हाइकु कृतिमा प्रकाशकियमा तिला लेकालीको भनाई साभार गरेर हेरौः
“ हाइकुमा ऋतुबोधक वा प्राकृतिक शब्द हुनुपर्ने मान्यता छ । यस्ता शब्दहरू नभएका हाइकुलाई कसैले सेन्यु त कसैले छोटा कविता भनेको पाइन्छ । जे भए पनि विदेशी माटोबाट नेपाली माटोसम्म आइपुग्दा यो विधाको आफ्नै मौलिकता हुनुपर्छ भन्नेहरूको संख्या पनि ठुलो छ । यसरी अचेल प्राकृतिक वा ऋतुवोधक शब्द नराखीकन पनि हाइकु लेख्ने चलन छ । यस पुस्तकमा पनि यस्ता दुबै खालका हाइकु लेख्ने चलन छ । यस पुस्तकमा पनि यस्ता दुबै खालका हाइकुहरूको संयुक्त समावेशिता रहेको छ ।
(तिला लेकाली
यसैगरी सम्बन्ध सुत्रमा नै “ नेपालिभत्रको हाइकु र हाइकुभित्रको नेपाल“ शीर्षकमा दीपक सुवेदीले हाइकुको पृष्ठभूमि, हाइकु परिचय र परिभाषा लगायतका विभिन्न दस विषयमा निकै लामो लेख लेख्दै अन्त्यमा भन्नुभएको छ ।
“ हाइकु लेखनर प्रकाशन सम्भावनाको खोज र अनुसन्धानमा संस्थागत विकास नहुनु भएपनि आशिंक रूपमा हल्लै हल्लाको सहर केन्द्रित मात्र हुनु दुर्भाग्य भएको देखिन्छ । अब अन्य सिर्जना विधामा जस्तै यसको रचनामा पनि सम्भावनाका चिरागहरू भएकाले यसको बिस्तार, शीर्षकीकरण र काव्य सिर्जनामा आधारभूत सिद्धान्त तथा शास्त्रीय नियममा रहने या नरहने आदि विषयमा बहस हुनु पनि अपरिहार्य भइसकेको छ ।“
(दीपक सुवेदी ।
माथि उल्लेखित तीनजना विद्वानहरूको भनाइबाट यो पुष्टि हुन्छ । हाइकु लेखनमा दोधार छ । बहस र छलफलको आवश्यक छ । प्रकृति र ऋतुबोधक शब्द प्रयोग भएका र नभएका दुबै खाले हाइकु लेखिएका छन् र छापिइरहेका छन् ।
यसै मेसोमा लोकभाकामा हाइकु लेखनको अभ्यास र अभियानले हाइकुको बहसलाई आफ्नो पन दिनेछ । हाइकुमा मौलिकता दिने छ । लेख्न त लेखियो के भयो होला भन्ने कुराको अन्त गरेको छ । हामी लेख्दै हाइकुको बहसमा सहभागी बन्न सक्नेछौ ।
लकडाउन भैरहेको अवस्थामा पनि लोकभाकामा हाइकु सिर्जना र लेखनको वार्षिक उत्सव हामीले मनाएका थियौ । २०७६ सालको मातातीर्थ औंसी बैशाख २१ गते शनिबार परेको थियोे । यसपालि बैशाख ११ गते पर्याे तर शनिबार १३ गते हामीले प्रथम वार्षिक उत्सव मनायौ । उक्त अबसरमा २१ जना हाइकुकारको सहभागीता रहेको थियो । त्यहाँ प्रस्तुत हाइकु अनलाइन संस्करण रातोनेपाल डट कम र भिडियो संस्करण रातोनेपाल टि भिमा प्रसारण गरिएको थियो । उक्त कार्यक्रममा अधिकाश साहित्यकारले गायनमा हाइकु प्रस्तुत गरेका थिए । अब हैरौ उक्त अवसरमा आएका विभिन्न स्वाद र लयका केही हाइकुहरूः
गरौं लगानी
देशको विकासमा
जुटौं हामी नि ।
राम्रो बन्नु छ
दुःखी र गरिबको
सेवा गर्नुछ ।
– सुशीला पौडेल
माथिका दुई हाइकुमा देश विकास र परोपकारको भावना समेटिएको देखिन्छ ।
माया आउन
चोखो प्रीति गासौंन
देवी भाकेर ।
जित उसैको
मिहिनेत गर्छ जो
सत्य बोलेर ।
–अनुराधा शर्मा
यी माथिका हाइकुमा माया, प्रेम, संघर्ष र इमानदारीताका भावहरू छल्किएका छन् ।
गर्याे विनास
लौ कृष्ण तिमीले नै
देऊ निकास ।
नन्द गोपाल
आएर तिमीले नै
धर्ति सम्हाल ।
– तोयानाथ सुवेदी
माथिका यी हाइकुहरूमा हामीले पुज्दै र आराधना गर्दै आएका भगवान् कृष्णको आरधना गरिएको छ ।
सानो झुपडी
लुकामारी गर्ने हो
खेलौं कपर्दी
हजुरआमा
कथा सुन्छु गुनेर
राम्रो चुनेर ।
–सीता बिष्ट कार्की “ सीबिका “
माथिका यी हाइकुहरूमा बाल्य अवस्थाको चित्रण गरिएको छ ।
बाटो खुलेसी
यो कोरोना ढलेसी
भेटौ हलेसी ।
चिन्ता होइन
कोरोनाको बारेमा
गरौ चिन्तन ।
–चन्द्रा न्यौपाने
यी हाइकुहरूमा महामारीलाई राम्रोसँग बुझ्न सके, आत्मअनुशासनमा बस्न सके पुनः हाम्रो भेट हुन्छ । आत्तिनु पर्दैन भन्ने सन्देश प्रवाह गरिएको छ ।
भेना आएको
रमाइलो लाग्छ नि
देख्न पाएको ।
माया लाउँ कि
देउराली भाकेर
घर जाउँ कि ?
– द्वारिका कुइकेल
यी हाइकुहरूमा माया प्रेमका भावहरू त्रिशूली उर्लिएर नारायणीमा मिसिए जस्तै देखिन्छ ।
लकडाउन
जन्ता जति सास्तीमा
नेता मस्तीमा ।
सातु सामल
राहतको नाममा
कुह्या चामल ।
–दामोदर ढकाल “ दीपक“
माथिका यी हाइकुमा देशमा यत्रो महामारी पनि भएको विसङ्गति प्रति ब्याङ्ग गरिएको छ ।
घरै बसेर
कोरोना भगाउँ है
सबै हाँसेर ।
कालो केशैमा
ढुक्क हुँदै बसौं है
हाम्रो देशैमा ।
–सुशीला ढकाल अधिकारी
यी माथिका हाइकुहरूमा हामी अनुशासित भएर घरमा बस्यौं भने हाँस्दा हाँस्दै भाइरस परास्त हुन्छ भन्ने भाव दर्शाइएको छ ।
डम्फु मादल
नेपाली लोक धुन
मौलिक बाजा ।
समय दौड
सँगै हिडे विजय
आत्मविश्वाश ।
–तिला लेकाली
यी माथिका हाइकुमा हामी मौलिक संस्कृतिमा धनि छौ र यदि सकारात्मक सोच राखी समयसँगै आत्मविश्वा पैदा गरे जित सुनिश्चित छ भन्ने भाव प्रस्तुत गरिएको छ ।
नाका सिमाना
कडाइ गर्नुहोस्
रोग रोक्नुहोस् ।
हाम्रै जनता
छिट्टै फिर्ता ल्याएर
ज्यान बचार ।
– लक्ष्मीप्रसाद मिश्र
माथिका हाइकुमा हाइकु मार्फत महामारीको रोगधामको उपाय र आफ्ना नागरिकलाई रक्षा गर्न सरकारलाई सुझाव दिइएको छ ।
सफा वादल
कोरोना नफैलियोस्
ठोक मादल ।
छोरी असल
जान दिन्न काँही नि
चोक पसल ।
– सुचिता काफ्ले
माथिका हाइकुहरूमा सचेतताको कुरा उठाइएको छ ।
बुढो भएसी
हेला गर्छन् सबैले
थला परेसी ।
घर जाने हो
झोली झ्याम्टा कसरी
बोकी लाने हो ।
–शिखरनाथ कवि
माथिका हाइकुमा वृद्धवृद्धाको पीडा र महामारीमा घर फर्कनेहरूको पीडा प्रस्तुत गरिएको छ ।
कोरोना नाम
गरन सरकार
असल काम ।
कोरोना लाग्यो
राहतको नाममा
लुटेरा जाग्यो ।
– पुष्कर अथक रेग्मी
माथिका हाइकुमा महामारीमा लुटतन्त्र होइन असल कर्म गर्न सरकारलाई सुझाव दिइएको छ ।
पैले रहर
काठमाडौं सहर
ऐलै कहर ।
कोही मर्दैन
आयु भए वायुले
केही गर्दैन ।
–तेजप्रकाश बानियाँ
माथिका हाइकुले सहरमा महामारी छिटो फैलिने हुँदा गाउँ नै सुरक्षित भन्ने प्रष्ट पारेको छ भने अर्को हाइकुले आयुको छोरालाई वायुले लाँदैन् भन्ने उखान सहित आत्मविश्वाशको संचार गरेको छ ।
ब्यर्थ नजुधौं
पैसा हो सबैकुरा
भन्ने नबुझौं ।
देश चाहिन्छ
धनले आमा किन्न
कहाँ पाइन्छ ।
–दुर्गा अधिकारी भमरकोटे
माथिका हाइकुहरूमा वर्तमानमा पैसाको पछि लाग्ने परिपाटीको विरूद्ध पैसा साधन हो साध्य होइन भन्ने कुरा पुष्टि गरिएको छ ।
दिलमा फोटो
यहीँ मायाको चिनो
सम्झेर बस्छु ।
पर्खी बसुँला
जिन्दगीको आधार
तिम्रै भरमा ।
–राधिका पुरी “सानू “
माथिका हाइकुमा परदेशमा गएको मायालुको प्रतीक्षा, आशा र भरोसालाई उजागर गरिएको छ ।
मान मर्दन
भ्रष्टाचारी जनको
छिन गर्धन ।
बाटो नछोडौं
अधिकार पाउन
कर्तव्य रोजौं ।
– कमला देवकोटा ।
माथिका हाइकुहरूमा भ्रष्टाचारीको अन्त्य हुनैपर्छ नत्र समाजको रूपान्तरण हुँदैन र अधिकार पाउन कर्तव्य पहिलो दायित्व हो भन्ने भाव समेटिएको छ ।
वनमा पाक्यो
लटरम्मै कन्दमूल
चरीले डाक्यो ।
कहिले सासू
त कहिले बुहारी
पालो आउँछ ।
– कल्पना देवकोटा
माथिका हाइकुहरूमा प्रकृतिको वर्णन र आशाको संचार अभिव्यक्त भएको छ ।
तुलसी पात
जडिबुटीको खानी
देश नेपाल ।
हरियो वन
लालीगुरासँ फूल
मोहीत दृष्य ।
– विजयीता भण्डारी
माथिका हाइकुहरूमा जडिबुटीको महत्त्व र प्राकृतिक सुन्दरता उजागर गरिएको छ ।
आमाको माया
साथमा राखी सधैं
शक्ति बडाउँ ।
राम्रो कार्यले
भगवानको साथ
मिल्छ सधैं नै ।
– लिलामाया ढकाल गौतम ।
माथिका हाइकुहरूले नैतिकवान बन्न प्रेरित गरेका छन् ।
मर्म छ भित्र
महामारीको बेला
दूर छन् बच्चा ।
आमाको प्यार
औंसीको सन्दर्भमा
गहिरिँदै छ ।
–प्रतिभादेवी न्यौपाने ।
माथिका हाइकुहरूमा मातृत्वका भावहरू छल्किएका छन् ।
माथि प्रस्तुत गरिएका हाइकुहरू अधिकांशले गाँउनु भएको थियो । लय र भाका पनि अलग अलग थिए । जसरी नेपालमा गजल मोतिराम भट्ट ले भित्र्याएका थिए, लोक भाकामा तेजप्रकाश बानियाँ र दुर्गा अधिकारी भमरकोटेले शुरूवात गरे भन्दा फरक पर्दैन । तर अब लोकभाकामा हाइकु लेख्ने र गाउनेहरूको संख्या दिनानुदिन बढ्दै जाने हुनाले केही नियमहरू बनाउनु पर्ने देखिन्छ , बहस र छलफल गर्नुपर्ने देखिन्छ । यसको लागि नेपालीपनमा हाइकु लेख्ने र लोकभाकामा गाउने सर्जकहरू फुटेर होइन मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । हिजो जस्तो दुर्गा अधिकारी भमरकोटे एक्लै हुनुहुन्न । अब यो विधाबाट चम्कने पालो तपाईहरूको ।
“ हाम्रो लोकभाका ( जडिबुटी जस्तै ) जापान गयो र हाइकु (ट्याबलेट जस्तै ) बनेर नेपाल आयो । तर हाम्रा चुट्का, भजन र लोकगीतमा हाइकु नभनिए पनि यसको प्रयोग पहिल्यै देखि भएको पाइन्छ । यसर्थ हाइकु मज्जाले गाउन सकिन्छ , लेख्न सकिन्छ र आफ्नोपना दिन सकिन्छ ।“
( दुर्गा अधिकारी भमरकोटे
भमरकोटेको यो भनाइसँगै पुनः सत्र अक्षरको हाइकु लेख्न सत्ताइस थरीका कुरा नसुनौं । खुलेर लेखौं, मज्जाले गाउँदै नेपाली साहित्यको विकास र बिस्तारमा लागौं ।
प्रतिक्रिया दिनुहोस