सल्यानमा २० क्वारेन्टाइन र पाँच आइसोलेसन बेड तयारी अवस्थामा

सल्यान, १५ चैत ।
सल्यानमा कोरोना भाइरसको सम्भावित संक्रमणका वेला अपनाउनुपर्ने पूर्वतयारी गरिएको छ ।

जिल्ला अस्पतालमा २० वटा क्वारेन्टाइन र पाँचवटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । अहिलेसम्म जिल्लामा कोही पनि शंकास्पद अवस्थामा नभेटिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

१० वटा स्थानीय तह रहेको सल्यानमा पालिकाहरूले वडास्तरमा विदेश तथा भारतबाट आएकाहरूको निगरानी गरिरहेका छन् । विदेशबाट आएकाहरूको रेकर्ड राखिएको र अहिलेसम्म कोही पनि शंकास्पद अवस्थामा नरहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा कोही शंंकास्पद देखिएमा तत्कालै रुकुम चौरजहारी, तुलसीपुर र सुर्खेतमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

<