रामबहादुर बमजनमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ ः गृह

काठमाडौं, २०७५ चैत १४ गते ।

तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ ।

गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको आश्रममा चलेका अपराधिक कार्यको अनुसन्धान कसरी भएको छ भन्दै गृहमन्त्रीका नाममा प्रश्न दर्ता गरेका थिए । त्यही प्रश्नको लिखित जवाफमा गृहले बमजनमाथि सुक्ष्म अनुसन्धान भइरहेको उल्लेख गरेको हो ।

‘सिआइबी तथा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा भएपछि सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुन बमोजिमको काबाही गरिने छ,’ गृहको जवाफमा उल्लेख छ ।

बमजनको आश्रमबाट सम्पर्क्विहीन भएका अनुयायीहरू (हालसम्म डोल्मो, चुन्मो, सञ्चलाल वाइवा, सुरेश आलेमगर र रिता बोट) को खोजी भइरहेको पनि गृहले जनाएको छ । प्राप्त उजुरीमाथि प्रहरीले सुक्ष्म तरिकाले छानबिन गरिरहेको गृहको जिकिर छ ।

‘प्रहरीबाट घटनाको सुक्ष्म तरिकाले अनुसन्धान कार्य भइरहेकोछ,’ गृहले भनेको छ, ‘पीडित र सम्भावित व्यक्तिहरूसँग बयान कागज, डग स्निफिङ, पोलिग्राफ टेष्ट, दशीप्रमाणको प्रयोगशालामा परीक्षण गराउने, कल डिटेलिङ अध्ययन गर्ने, शंकास्पद गतिविधिको अवलोकन अध्ययन गर्ने, प्रमाण जुटाउने कार्य भइरहेको छ ।’

अहिलेसम्मको अनुसन्धानबाट मिश्रित नतिजा प्राप्त भएको गृहको जवाफमा उल्लेख छ। कतिपयले उजुरी तामेलीमा राख्न निवेदन दिएको लगायत कारणले अनुसन्धान जटिल बनेको पनि गृहले जनाएको छ ।

‘केही उजुरी झुठा विवरणका आधारमा दिएकाले तामेलीमा राखिपाउँ भन्ने निवेदन प्राप्त भएका, पोलिग्राफ टेष्टका लागि स्वीकृति नदिएका जस्ता कारणले गर्दा अनुसन्धानलाई केही जटिल बनाएको छ,’ गृहले भनेको छ ।

जवाफमा पीडित र साक्षीहरूको सुरक्षा व्यवस्थापनमा सरकार संवेदनशील रहेको उल्लेख छ । बमजनले आश्रममा बस्ने आनी र चेलाहरूमाथि गरेको यौनजन्य हिंसा, बलात्कार र हत्याबारे सरकारको धारणा माग्दै सांसद थापाले २ महिनाअघि संसदमा प्रश्न दर्ता गराएका थिए ।

संसदको नियमावली अनुसार यसरी दर्ता भएका प्रश्नको उत्तर गृहमन्त्रीले १० दिनभित्र संसदलाई दिनुपर्छ । कुनै कारणले संसदमा जवाफ दिन नसके अधिवेशन सकिनुअगावै लिखित जवाफ पठाउनु पर्छ ।

तीन महिनाअघि बमजनको आश्रममा भएको बलात्कार, हत्या र हिंसाको दुष्चक्रबारे स्टोरीहरू गरेको थियो । तिनमा बमजनले आनीहरूमाथि गरेको बलात्कार र यौन शोषणा साथै चेलाहरूलाई दिएको यातनाबारे विस्तृत विवरण थिए ।

यसरी यातन दिँदादिँदै मकवानपुरका सञ्चलाल वाइवाको सिन्धुपाल्चोक आश्रममा ज्यान गएको एक प्रत्यक्षदर्शी पूर्व चेलाले बताएका थिए । आश्रमबाट भागेर आएकी गंगामायाले आफूमाथि बमजनले बलात्कार गरेको बताएकी थिइन् । भदौ ३० गते काठमाडौं आइपुगेर बमजनविरूद्ध उजुरी दिन गएकी गंगालाई प्रहरीले बालबालिकाको संरक्षण गर्ने संस्थामा पठाएको थियो ।

पछिल्लो ९ वर्षदेखि बमजनकै आश्रमबाट हराएकी सर्लाहीकी रिता बोट, ४ वर्षदेखि हराइरहेका दुई आनी नुवाकोटकी चुन्मो, मकवानपुरकी डोल्मो साथै मकवानपुरकै सञ्चलालका परिवारले त्यसपछि प्रहरीमा बमजनविरूद्ध जाहेरी दिएका थिए ।

बमजनको आश्रममा हुने अपराधको श्रृङ्खलापछि आफ्ना छोरा सुरेश पनि ४ वर्षयता बेपत्ता भएको भन्दै बाराका हस्तबहादुर आलेमगरले प्रहरीमा जाहेरी दिए । यी सबै जाहेरीमाथि सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, बारा र सर्लाहीका जिल्ला प्रहरी कार्यालयको संयोजन गर्दै सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रत्यक्षदर्शीहरूको बयान व्यक्ति मारेर गाडेको भनिएको ठाउँमा उत्खनन लगायतका काम गरेको प्रहरीले जनाएको छ । मकवानपुरका वाइवालाई कुट्दाकुट्दै ज्यान गएपछि आश्रमभन्दा ३ सय मिटर माथिपट्टीको डाँडामा खाल्डो खनेर गाडेको त्यसपछि नुनका पोका खन्याएको प्रत्यक्षदर्शीले बताएका थिए ।

 

उनकै आधारमा उत्खनन् गर्दा प्रहरीले ९ वटा नुनको पोका फेला पारेको थियो । बमजनको आश्रममा अहिलेसम्म बस्दै आएका अर्का अनुयायीले पनि सञ्चलालको हत्या भएको प्रहरीसमक्ष पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<