श्रीनगर बजारस्थित सुकेखोलामा बन्दै गरेको पुलले बढायो भित्री सडकमा चहलपहल 

सल्यान, १६ फाल्गुन  ।
शारदा नगरपालिका १, श्रीनगरको मुख्य बजारदेखि भित्री सडकमा हिजोआज चहलपहल बढ्दै गएको छ । मुख्य बजारदेखि पश्चिममा रहेको भित्री सडकमा मानिस हिड्न र साना सवारी साधन आवतजावत गर्ने सडकलाई अब सुकेखोलाको पुलले जोड्ने भएपछि चहलपहल झनै बढेको हो ।

तल्लो बसपार्कदेखि नयाँ वसपार्क जोड्ने बाटोको रुपमा रहेको उक्त सडकमा मानिसहरु ओहोरदोहोर गर्ने क्रम बढेको छ । मूख्य सडकको धुलो, धुवाँ र ध्वनी प्रदुषणबाट जोगिन र स–साना कामका लागि पटक–पटक मुख्य सडक नै धाउन नपर्ने भएपछि भित्री सडकको महत्व बढेको छ ।

अब माथिल्लो बसपार्क, भवगती सिनेमा हल, सुुकेखोला हुदै सिधै भगवती खोला र नजिकै रहेको तल्लो बसपार्क पुग्न सकिने भएको छ, अर्थात ओहोरदोहर गर्न सकिने भएको छ । बिहीबार नगरप्रमुख सुरेश अधिकारीले उक्त भित्री सडक जोड्न बन्दै गरेको पुलको ढलान गर्ने तयारी अवस्थाको प्रत्यक्ष अवलोकन गरेका छन् भने ढलानका लागि पुजासहित शुभारम्भ गर्दै योजना दिगो र आर्थिक रुपमा पारदर्शी बनोस् भन्ने कामना गरेका छन् ।

करीब ७ लाख बजेटमा उक्त पुुल सहित सुकेखोलाको दक्षिण तर्फ ४२ मिटर लम्बाई र ४ मिटर चौडाइको स्ल्याव निर्माण गरिने जानकारी निर्माण समितिका अध्यक्ष गुमानसिंह बस्नेतले जानकारी दिए । वडा नं. १ का अध्यक्ष नवराज बुढाथोकी, स्थानीय उपभोक्ता, निर्माण समितिका पदाधिकारी लगायतको सहभागीतामा पुलको ढलान शुभारम्भ भएको छ ।

 

तटबन्धको अनुगमन 

नगरप्रमुख सुरेश अधिकारी सहितको टिमले निर्माणाधिन पुलसंगै उक्त पुलदेखि माथि सुकेखोलाकै किनारामा बन्दै गरेको पक्की तटबन्धको पनि अनुगमन गरेको छ ।

साथै स्थानीय जग्गाधनीहरुले खोलाको एउटा किनारमा मात्रै पक्कि तटबन्ध निर्माण गर्दा अर्को किनारामा खोलाले क्षती गर्ने भन्दै दुवै किनारामा उक्त संरचना निर्माण गर्न अनुुरोध गरेका छन् । नगरप्रमुख अधिकारीले अबउप्रान्त तटबन्धका संरचना दुवै किनारामा बनाउन प्रयत्न गर्ने र चाँडै नै उक्त योजना पर्ने समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<