करार कर्मचारीद्वारा छत्रेश्वरी गाउँपालिकाका सबै वडामा तालाबन्दी


सल्यान, ११ असोज ।
छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । म्याद थप गर्नु पर्ने भन्दै करार कर्मचारीहरूले वडामा तालाबन्दी गरेका हुन् ।

आफ्नो माग पुरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले बताए । उनले भने ‘गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरेका छौँ । यदि तालाबन्दीबाट पनि समस्या समाधान नभए १३ गतेबाट गाउँपालिकाको कार्यालयमा धर्ना दिन्छौँ ।

वाम निकट र काँग्रेस निकट जनप्रतिनिधिको विवादले आफूहरूको रोजीरोटी गुम्न लागेकाले आन्दोलन गर्नु परेको बोहराले बताए । उनले भने ’हामीहरूलाई राजनीतिक एजेन्डा बनाइएको छ ।’

करारमा कार्यरत कर्मचारीहरूलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफुँहरु तालाबन्दी गर्ने निर्णयसम्म पुगेको उनको भनाई छ । तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनु पर्ने आफूँहरुको माग रहेको उनको भनाई छ ।

यता वाम निकटका जनप्रतिनिधिहरुले गाउँपालिकाले ताला लगाउन लगाएको आरोप लगाएको छ ।

वार्ताको औचित्य समाप्त गर्दै केही करार कर्मचारीलाई गाउँपालिकाले उचालेर तालाबन्दी गर्न लगाएको २ नं. वडा अध्यक्ष प्रेम खड्काले बताए । यस प्रकारको गतिविधिबाट आफ्ना अनियमित गतिविधिको ढाकछोप गर्न अर्को हर्कत भएको खड्काको आरोप छ ।

विगतका कार्यपालिका वैठ्कले पारित गरेको निर्णय कार्यान्वयन हुनु पर्ने, आवश्यकता भन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनु पर्ने लगायतका माग गरेर बामबाट निर्वाचित जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रम र बजेट बहिस्कार गर्दै आइरहेका छन् । जसका कारण हालसम्म गाउँपालिकाले नीति तथा कार्यक्रम पास गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस