कुमाखमा सरकारी कार्यालय बनाउन जग्गा दान

सल्यान, १० भदौँ ।
नजिकमा सरकारको उपस्थिती र सरकारमा पहुच हुनेभएपछि सबै खुशी हुन्छन । त्यहि खुशी दिन स्थानीय सरकार घर नजिकै रहने भएपछि कुमाखमा जग्गा दान गरेर भएपनि सरकारी संस्थाहरु स्थापना हुन लागेका छन ।

अघिल्लो बर्षमात्रै स्थानीयबाट दान गरेर गाउँपालिकाको नाममा जग्गा नामसारी भएपछि गाउँपालिकाको भवन बनिरहेको कुमाखमा वडास्तरमा पनि जग्गा प्रदानको काम भैरहेको छ ।

गत हप्ता वडा नं. ४ को वडा कार्यालयल तथा आधारभुत स्वास्थ्यकेन्द्रको भवन निर्माणका लागि स्थानीयले झण्डै पाँच रोपनी जग्गा प्रदान गरेका छन ।

उनिहरुले केहि दिन अघि मालपोत कार्यालय सल्यानमा वडाकार्यालय र स्वास्थ्यकेन्द्रको नाममा जग्गा पास गरिदिएको वडाध्यक्ष तिलविर बुढाले जानकारी दिए । स्थानीय दामोदर गिरीले २ रोपनी ६ आना, पलभान गिरीले १४ अना ३ दाम, प्रसाद गिरीले १३ आना र विर्मी गिरीले ११ आना २ दाम जग्गा प्रदान गरेका हुन ।

अझै ५ जनाले जग्गा प्रदान गर्न बाँकी नै रहेको चाँडै पास गरिने वडाध्यक्ष बुढाले जानकारी दिए । भेरीको फाँटमा रहेको स्थानीय शिव मन्दिर नजिकै साढे आठ रोपनी जग्गामा वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको भवन बनाइने छ ।

अहिले वडा कार्यालय ४ कोठामा र आधारभुत स्वास्थ्य केन्द्र ३ कोठामा स्थानीयको घर भाडामा लिई संचालन भैरहेका छन ।

त्यस्तै कुमाख गाउँपालिकाकै वडा नं. १, ५ र ७ मा पनि जग्गा प्राप्त भएको र पास गर्न बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिएका छन ।

कुमाखमा साविकका मर्मपरिकाँडा र बडागाँउ गाविसमा पर्ने ३ र ६ बाहेक सबै वडामा स्थानीय सरकार बनेपछि मात्रै वडाकार्यालयहरु बनाइदैछ र २ नं. वडाको भवन सरकार बनेपछि सम्पन्न भई अघिल्लो बर्षबाट काम आफ्नौ कार्यालबाट संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<