नेकपाका युवाहरुले सुरु गरे एकता

 

    काठमाडौं,  १३ गते, २०७६  जेठ  ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले एकताको कामलाई अगाडि बढाएको छ । गत जेठ ३ मा तत्कालिन वाइसियल नेपाल र युवा संघ नेपालबीच एकता भएसँगै बनेको युवा संगठनले आन्तरिक एकता प्रक्रियालाई तिव्रता दिन काम अगाडि बढाएको हो ।

युवा संगठनको सोमबार बसेको विधान मस्यौदा कार्यदलको पहिलो वैठकले विधान र संगठनको प्रस्ताव तयार गर्न निर्देशन दिएको छ । कार्यदलको वैठकले नयाँ बन्ने केन्द्रिय समिति, प्रदेशहरुको संगठनात्मक ढाँचा लगायतका विषयवस्तुमाथि प्रस्ताव तयार गरेको छ ।

५ सदस्यीय मस्यौदा कार्यदल जेठ ३ अगाडि नै विधान मस्यौदा कार्यदलको रुपमा कार्यरत थियो । कार्यदलमा नरेश शाही, सुवोधराज शेर्पाली, कसम गुरुङ्ग, बचन सिंह र रमेश आचार्य रहेका छन् ।

बैठकमा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कार्यदललाई यहि १७ गतेसम्म प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । उनले एकता प्रक्रियालाई छिटो टुंग्याएर संगठनलाई नमुना संगठनको रुपमा बनाउने गरि लाग्न सबैलाई निर्देशन समेत दिए ।

कार्यक्रममा सहसंयोजक रमेश पौडेलको पनि उपस्थिति थियो । पार्टी एकता भएसँगै नेकपाको जनवर्गीय संगठनको एकताको कामलाई अगाडि बढाउने युवा संगठन पहिलो हो ।

प्रतिक्रिया दिनुहोस

<