बहार हराएको बसन्त !

सल्यानको कुमाख गाउपालिका वडा नं. ५ कालागाउँमा जन्म भई हाल सदरमुकामा खलंगा निवासी भिम कुमाखी जनवादी कलाकारको रुपमा परिचित हुनुहुन्छ । उहाँ जनसांस्कृतिक महासंघ, कार्णाली प्रदेशका संयोजक पनि हुनुहुन्छ । समाज परिवर्तनको लागि सञ्चालित जनयुद्धका एक सिपाहीको रुपमा पनि चिनिदै आउनुभएको छ । पूर्व जनकलाकार संघ केन्द्रिय समिति संयोजक र सामना परिवार केन्द्रिय टोली संयोजक समेतको जिम्मेवारी सम्हालीसक्नुभएको छ । हाल सूचना प्रविधि क्षेत्रमा क्रियाशिल क्यान महासंघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

उहाँ निरन्तर उर्जाशिल हुनुहुन्छ र समाज परिवर्तनका लागि निरन्तर संघर्षशिल व्यक्ति हुनुहुन्छ । गीत, कविता लगायतका विभिन्न क्षेत्रमा लेखन, वाचन र गायनमा दक्षता हाँसिल गर्नुभएको छ । आज उहाँको एउटा कविता यहाँ प्रस्तुत गरेका छौं ।

भिम कुमाखी

क्षितिज मुनिका पखेरीहरूमा
ढकमक्क फुल्ने
लालीको राज छ होला
पहेलपुर पाकेका
ऐसेलु झर्न थाले होला
लटरम्मै चुथ्रा पनि
छरिएहोलान जमिनभरी
बासन्ती पल्लवहरू एक्लै-एक्लै
मानव तन र मन विहिन
निरस जवानी फेर्दै होलान
कोकिल गाउदै होलिन
कुहुको सुमधुर गीत

 

न्याओ चरी
आफ्नै धुनमा होलीन
काफल र घुयली खादै
नाच्दै होलीन चिरबिर चरीहरू
म बन्द कोठामा छु
मलाई त्यो पखेरीसम्म पुग्न
पर्खाल लागेको छ
मानव जीवनको लागि
मृत्यु जित्नको लागि
बदलियो समय आएन खुसी
सुनसान छ यो मौसम
नुन नलागेको तरकारी झै
आएको छ मेरै आसपासमा
बहार हराएको बसन्त !

 

प्रकृति रंग फेरीरहेछ
मानव मनहरुको लागि
कहिले आँशुको रंग
कहिले खुसीको रंग
प्रकृतिका हर झोक्काहरूमा
खेल्न जानेको यो प्राणी
कहिले जीतको उन्मादमा हुन्छ
कहिले युद्ध हारेको सिपाही झै
झोक्राएर बस्छ
आफै कैदी बन्छ
निरास भएर गल्छ

यसपाली मौसम
फरक जवानीमा छ
गएका बर्ष जस्तै
मुस्कुराएको बसन्त
एकलै जीएको छ
पात बजाउनेहरु र भाका सुसेल्नेहरू
मन्दिरका मुर्ति झै
घरभित्रै ध्यानमग्न छन
आफ्नो प्राणको रक्षा गर्न
मानव जगतको समिप भन्दा परको प्रकृति
निसाइलोमा हुर्कीरहेछ
कता कता बादल बिनाको झरीझै
बर्षिरहेछ कोलाहल
हर्ष बिनाको मौनतामा
उम्रिरहेछ आफ्नै सुरमा
बहार हराएको बसन्त !

 

सपनाहरू छन् जिन्दगीका
आशाका सपना
जगतको हितमा केहि साँचेका सपना
प्राण रहेन भने
हत्या हुनेछ सपनाहरूको
चिरनाद्रामा पुग्नेछन इच्छाहरू
फगत हुनेछन् आकांक्षाहरू
यो बसन्तको सेरोफेरोमा
उल्टो पाल्टो सबै-सबै
तथानाम सोचिरहेछ मन
कहिले झ्यालको चरबाट
कहिले कोही नभएको मौकामा
चोरले झै कसैले नभेट्ने गरी
एक्लो केवल एक्लो बनेर
त्यो पखेरी भन्दा टाढैबाट
स्पर्श विनाको आनन्द लिन
अछूत झै टाढिनु परेको छ

र त यो पल
मानव स्पर्श विनाको
बसन्त फुलिरहेछ
बसन्तको स्पर्श बिना
मानव बाँचिरहेछ
दुई मेल बिनाको कहरमा
प्रहर ढलिरहेछ र बितिरहेछ
बहार हराएको बसन्त ।

प्रतिक्रिया दिनुहोस