बाँदरको हातमा नरिवल जस्तो भयो संस्कृत भाषा

संस्कृत भाषा निकै पुरानो र परिष्कृत भाषा हो । एसियन देशहरुमा इतिहास, धर्म, कानुन, दर्शन र संस्कृतिको आधार पनि संस्कृत नै हो ।

तर हामी पछिल्लो समय संस्कृत भाषाको संरक्षणमा निकै अनुदार देखिन थालेका छौं । जब बौद्धिक वर्गभन्दा बुद्धु वर्गका हातमा सामाजिक, राजनैतिक, आर्थिक पहुँच भयो, तत्पश्चात नै आज संस्कृत भाषा मृत्युको मुखमा पुगेको हो ।

हुँदा हुँदा अहिले आएर संस्कृत भाषाप्रदायक संस्थाको समेत जगेर्ना हुन छोडिसकेको छ । संस्कृत भाषाको महत्व बुझाउने प्रयाश खासै गरिएन ।

बर टाँठाबाठा र पण्डित पुरोहितहरुले संस्कृत भाषा अरुले जान्नुहुँदैन, सिक्नुहुदैन र यसलाई महत्व पनि दिनुहदैन भन्ने जसरी व्याख्या विश्लेषण गर्दै केवल आफ्नो पुरोहित पेशा मात्रै जोगाउन ध्यान दिन थाले ।

संस्कृत भाषाको संरक्षणका लागि भएका संस्थाको संरक्षणमा पनि सरोकारवालाहरुको ध्यान जान सकेन । धमिराको संक्रमणबाट ग्रस्त बनेको प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ यसैको एउटा उदाहरण हो ।

वाल्मीकि नेपाल संस्कृत विश्वविद्यालयका १३ वटा आंगिक क्याम्पसमध्ये एक हो । यहाँ १७ वटा विषयको पढाइ हुन्छ । जुन अन्य आंगिक क्याम्पसको तुलनामा सबैभन्दा धेरै पनि हो । राजधानीमा रहेका कारण यो क्याम्पसलाई समग्र विश्वविद्यालयकै धरोहरका रूपमा लिइन्छ ।

यस हिसाबले संस्कृत भाषा, साहित्य र अन्य निधिको जगेर्ना गर्ने जनशक्ति उत्पादनमा पनि यो क्याम्पसको भूमिका अन्यको भन्दा ज्यादा छ ।

यो स्वाभाविक पनि हो । साथै स्वदेशीसँगै विदेशी विद्यार्थीको आकर्षण बढ्दै जानुले पनि यो क्याम्पसको महत्व अझ बढी दर्शाउँछ । तर यो क्याम्पस अहिले लाजमर्दो अवस्थामा सञ्चालित छ ।

क्याम्पस प्रवेश गरेदेखि पछिल्लो भागमा पुग्दा देखिने दृश्यहरू साँच्चै टिठलाग्दो छ। शैक्षिक, प्रशासनिक तथा भौतिक समस्याले क्याम्पस जर्जर बन्दै गएको छ । बनेका भौतिक संरचनाको संरक्षण भएको छैन, भवनका भित्ताहरू रङ उडेर फुस्स देखिन्छन् ।

झ्यालमा नफुटेका सिसा छैनन् । पुस्तकालय भवन भत्किएर लाखौं मूल्यबराबरका हजारौं पुस्तक अलपत्र छन् । धमिराले डसेर ती पुस्तक किराले खाएको पातजस्ता देखिन थालेका छन् ।

क्याम्पसमा वरिपरि बडेमानका टिलिक्क टल्किने निजी भवन बनेका छन्, तर यहाँको जग्गा खेर गइरहेका छन् । मूल्यवान् यस्ता सम्पत्तिलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्तन क्याम्पस प्रशासनले गर्न सकेको छैन ।

क्याम्पसको चौर बटुवा र घुमन्तेको थकाइ मार्ने स्थल मात्र बनेको छ । शौचालयको अवस्था वर्णन गरिसाध्य छैन । अध्ययन, अनुसन्धान, प्रकाशनजस्ता प्राज्ञिक कार्य शून्यजस्तै छन् । शिक्षक कर्मचारी संख्या आवश्यकताभन्दा धेरै छन्नतैपनि विद्यापीठको अवस्था झन्झन् खस्किँदो अवस्थामा छ् ।

विश्वविद्यालयका नेतृत्वमा रहेका पदाधिकारी तथा विद्यापीठका प्राध्यापक, कर्मचारीहरू पेसागत मर्यादा बिर्सेर दलीय राजनीतिमा ज्यादा सक्रिय रहन्छन् । पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा हुन्छ ।

दलको झन्डा बोकेर पदमा पुगेका यस्ता कर्मचारी विश्वविद्यालय र क्याम्पस सुधारमा भन्दा दलीय भक्तिमै बढी केन्द्रित हुन्छन् । नियुक्ति पाउन नेतालाई कसरी रिझाउन सकिन्छ भन्नेमै बढी सोचमग्न हुन्छन् ।

यस्तो अवस्थामा क्याम्पस सुधारमा कसले ध्यान दिने ? यसरी संस्कृत भाषा र भाषाको संरक्षणका लागि खोलिएका विद्यालय समेत संरक्षण नगरिनु दुखको कुरा हो । आज विदेशीहरुले समेत संस्कृत भाषाको महत्व बुझेर आफ्नो देशमा पढाउने वातावरण बनाउदैछन् ।

तर हामी नेपालीहरु संस्कृत भाषालाई हेला गर्न थालेका छौं । संस्कृत पढ्नेहरुलाई समेत हामी हेला होचो गर्ने गर्दछौं । यसरी राज्य र नागरिक दुवैतर्फबाट बेवास्ता गरिएपछि संस्कृत भाषाको संरक्षणमा समेत कठिनाई हुन थालेको छ ।

आज नेपालमा संस्कृत पढाउने पाठशाला राम्रा छैनन् । युवा पुस्तामा त झनै संस्कृत भाषाप्रति अलिकति पनि मायमोह छैन । संस्कृत भाषा, बाँदरको हातमा नरिवाल भनेजस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस

<