श्रम गरिखाना के को लाज ?

श्रम गरिखाना के को लाज ?

हामी बेरोजगारी र गरिबीको चपेटामा त छँदैछौं, तर त्यसभन्दा पनि ठूलो समस्या हामीभित्रको अहम्ता, हामीभित्रको अल्छिपना र हामीभित्रको विलासिताको सोखले झनै समस्यामा छौं । पैंसा छैन, तर ठूलो काम खोज्छौं, गरिब छौं ता पनि विलासितामा भुल्न थालेका छौं । सानो काम गर्न भनेपछि लाज श्रम मान्ने गर्दछौं । काम ठूलो र सानो भन्ने हुँदैन, सवै कामलाई सम्मान गर्न सिक्नुपर्छ भन्ने बुझ्दैनौं । कतिपय कामहरु धेरै योग्यता, क्षमता र सीप चाहिने हुन्छन्, त्यस्ता कामको लागि त प्रतिश्पर्धा गर्न सक्नुपर्छ । तर भनेजस्तो काम नभए विदेशै ताक्ने वा कामै नगरी बस्ने जुन सोच बनेको छ त्यो सोचले माथि उठ्नै दिदैन । त्यस्तो सोच राख्न थाल्यौं भने अनि हामी जस्ता नेपालीहरुलाई ऋणको भार नथपिएर के थपियोस् ? गरिब र ऋणी हुने प्रमुख कारण त्यहि नै हो ।. निजीस्तरमा अहिले पनि प्रशस्त काम पाउन सकिन्छ, तर सरकारी काम खोज्दै हिड्छौं । अनि सुविधा धेरै हुने अफिस खोज्छौं । एकातिर काम नगर्ने  र अर्कोतिर सुविधा धेरै खोज्ने परिपाटीले निजीस्तरमा पनि काम दिन गाह्रो भइरहेको छ । कामदार र कर्मचारीकै अभावले अहिले निजीस्तर पनि माथि उठ्न सकिरहेको छैन । निजीस्तरमा सञ्चालित कैयाँैंं स्कुल कलेजहरु ऋणमा चुर्लुम्म डुवेका छन् । उनीहरु पछाडि फर्कन पनि सक्दैनन् र अगाडि बढ्न पनि सकेका छैनन् । हामी नेपालीहरु एउटा साह्रै खराब बानी घरनजिक पाईने कामलाई हेला गर्छौ र बाहिर गएपछि जे पनि गर्न तयार छौं । भारतमै पुगेका कैयौं नेपालीहरु दिनभर भारी बोक्छन्, एउटा कामदारभन्दा ठूलो हैसियतमा छैनन् ता पनि तिनै नेपालीहरु नेपाल फर्किसकेपछि पुरै युरोपिएन देशहरुबाट आएको जस्तो सान झार्ने गर्दछन् । यो एउटा उदाहरण मात्र हो, आज लाखौं नेपालीहरुको अवस्था दयनीय छ । तिनै नेपालीहरुलाई स्वदेशमा आत्मनिर्भर बन्ने खालका काम गर भन्दा निकै ठूला ठहरिने गर्दछन् । यसले गर्दा दास मनोबृत्तिको विकास भएको छ । ईज्यत भनेको छिमेकी र ईष्टमित्रको अगाडि मात्रै जोगाए पुग्छ भन्ने मानशिकताबाट माथि उठ्न नसकेको अवस्था छ । बाहिर गएर गर्नेजति दुख नेपालमा गर्यो भने मुलुक निकै नै अगाडि बढ्ने सम्भावना छ । आज अरबौंको तरकारी भारतबाट आउँछ, अरबौंको खाद्यान्न छिमेकी लगायत अरु देशबाटै आउछ । आफ्ना उद्योगजति सुक्दै गएका छन् । क्षणिक फाईदाका लागि जीवनभर दास बन्नुपर्ने अवस्था धेरै नेपालीहरुको छ । यो देशमा धेरै सम्भावनाहरु छन्, तर मेहनतको खाँचो छ । अँझ उल्टो अनुदान प्राप्त गर्नका लागि मात्रै बाख्रा पाल्नेहरु बढेका छन् । अनुदानका लागि मात्रै विभिन्न व्यबशाय गर्नेहरु बढेका छन् । यसले गर्दा एकातिर मुलुकको बजेटजति त्यसै खेर गईरहेको छ र अर्कोतिर स्वाभिमानी नागरिक बन्ने कुरा कागजमै सीमित बन्दैछ । अतः नागरिकलाई सामाजिक आर्थिक न्याय दिन नसक्नुमा राज्य दोषि भएता पनि जालझेल, छलकपट र गलत काम गरेरै राज्यको ढुकुटि मास्न खोज्ने हामी नेपाली नागरिकहरु दोषि नै छौं । हिजोआज हामीलाई फेसबुक चलाएरै तलब पाक्ने जागिर चाहिएको छ, हिजोआज गफ गरेरै कार्यालय समय विताउने जागिर चाहिएको छ । सुविधा धेरै चाहिएको छ, तर काम भने चाहिएको छैन । अतः हामी नेपालीहरुको पछिल्लो समयमा आनिबानी विग्रेको छ । थोरै सन्तान जन्माउने र काम नगराएरै सुखमा बसाउन खोज्ने अभिभावकहरुको पनि सोचमा सुधार गर्न जरुरी छ । राज्यले प्रत्येक नागरिकलाई अनिवार्य श्रम गर्न र उत्पादनमूलक काममा लगाउन जरुरी छ । साथै राज्यको ढुकुटिको दुरुपयोग गरी फजुल खर्च गर्ने राष्ट्रसेवकहरुलाइै पनि तत्काल कारबाही गर्न जरुरी छ । दुख गर्न वा काम गरिखाना हिनताबोध गर्ने नागरिकहरुबाट मुलुक बन्दैन ।

प्रतिक्रिया दिनुहोस

<