राजधानीमा विप्लवको बम आतंक, गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत गर्न निर्देशन

 

 

     काठमाडौं, १२  जेठ , २०७६  ।

आइतवार राजधानीमा विप्लव नेकपाले बम आतंक नै मच्चाएको छ । राजधानीको सुकेधारा र अनामनगरमा अपरान्ह प्रेसर कुकर बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । त्यसैगरी राजधानीको चन्द्रागिरी नगरपालिका ३ नागढुंगामा पनि बम बिस्फोट भएको छ । सो घटनामा २ जना घाइते भएका थिए ।

ललितपुरको लगनखेलमा बम भएको आशंकामा नेपाली सेनाको एक टोलीले शंकास्पद बस्तु फेला पार्यो । ललितपुरकै ग्वार्खोमा पनि प्रेसर कुकरसहित शंकास्पद बस्तु सुरक्षाकर्मीले फेला पारे । कोटेश्वरबाट सशस्त्र प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई प्रेसर कुकरसहित पक्राउ गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

बम विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<