गगन थापाद्वारा स्वास्थ्य संकटकाल घोषणा गरी जनजीवन जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, १३ बैशाख ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना संक्रमण रोकथाम गरी जनजीवन जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

सोमबार भिडिओ सन्देश जारी गर्दै सांसदसमेत रहेका थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसको रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधामन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

कोरोनाको बढ्दो संक्रमणले भयावह स्थितिको संकेत गरेको उल्लेख गर्दै थापाले सन्देशमा भनेका छन्,‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ। यो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन।’

कोरोनाको दोस्रो लहर सुरु भइसक्दा पनि प्रधानमन्त्री उद्घाटन र शिलान्यासमा केन्द्रित भएको भन्दै थापाले प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिए। देशका बिभिन्न ठाउँका अस्पतालहरुको अवस्था हेर्दा स्वास्थ्य संकटकाल लगाउनु अति आवश्यक रहेको थापाले सुझाए।

संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षणको प्रयास गरेको भन्दै थापाले आफूले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि संसद विघटन लगायतले अन्यत्र ध्यान मोडिएको बताएका छन्।

नागरिकहरूले पनि स्वास्थ्यका मापदण्ड पुरा गर्न लापरबाही गरेको औंल्याउँदै थापाले हेलचेक्रयाइँ नगर्न अनुरोध पनि गरे ।

प्रतिक्रिया दिनुहोस