व्यवस्था यस्तो होस्, जसले सवैलाई खुसी बनाओस्

 

मुलुकमा धेरैपटक राजनैतिक परिवर्तन भएको छ । पटक पटक संविधान संशोधन भएको छ । ऐन कानूनहरु संसोधन भएका छन् । सामाजिक मुल्यमान्यताहरुमा पनि केहि परिवर्तन भएको छ र पनि आज जनता सुखी बनेनन्, सन्तोषले बाँच्न सकेका छैनन् । गरिब र सर्वहारा वर्गलाई माथि उठाउने धेरै नाराहरु बने, तर सत्ता र शक्तिमा पुगेपछि व्यवहारमा कार्यान्वयन गर्न नसकेको अवस्था छ । यसले गर्दा न त गरिब र पिछडिएका जनता माथि उठ्न सकेका छन्, न त पुजिपतिहरु वा सम्पन्न वर्ग नै ढुक्कले उद्योगव्यवशायहरु सञ्चालन गर्न सकेका छन् । एकातिर भएका पुजिपति वर्गले पनि स्वदेशमा लगानी गर्न सकिरहेका छैनन् र अर्कोतिर गरिब वर्गहरुलाई माथि उठाउने गरी राज्यले थप केहि विकल्प खोजेको छैन ।
राज्यले सवै नागरिकहरुको सुरक्षा र हितलाई ध्यान दिनुपर्छ, पूजि पलायन रोक्नुपर्छ, श्रम पलायन रोक्नुपर्छ, उद्योगधन्दाहरु विस्थापित हुन दिनुहुदैन । भएको पूजि परिचालन गरी अधिक्तम रोजगारी श्रृजना गर्नुपर्छ । सवै नागरिकहरुले सुरक्षा, रोजगार र न्याय पाउनुपर्छ । सबै नागरिकहरुले काम गरी खाने व्यवस्था भयो भने कोहि पनि असन्तुष्ट हुँदैन । अवसरमा गरिबलाई प्राथमिकता दिनुपर्दछ भने पूजिपति वर्गले स्वदेशमै लगानी गर्न सक्ने वातावरण सरकारले निर्माण गर्नुपर्दछ ।
सवै नागरिक सुखि र सवै नागरिक सम्पन्न बनाउने सोच राज्यको हुनुपर्र्छ । काम सानो र ठूलो भन्नुहुँदैन  । शारीरिक, मानशिक रुपमा स्वस्थ भएको र आफ्नो सीप, योग्यता र क्षमता अनुसारको काम प्रत्येक नागरिकहरुले पाउनुपर्छ । न्यूनतम रोजगारीका अवसर प्रत्येक नागरिकलाई राज्यले व्यवस्था गर्नुपर्छ ।
अर्कोतिर पूजिपति वर्गले धन संचित गर्ने वातावरण अन्त्य गर्नुपर्दछ । बरु उद्योग व्यवशायमा लगानी गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्छ । नेपाल गरिब छैन, यहाँ साधन र श्रोतको परिचालन हुन सकिरहेको छैन । अहिले पनि हजारौं विगाहा जमिन बाँझो अवस्थामा छ, अहिले पनि खरबौं रुपँयाको काठपात खेर गईरहेको छ , अहिले पनि हजारौं मेगावाट विद्युत उत्पादन हुने जलश्रोत उपयोगमा आएको छैन, अहिले पनि कैयौं खनिज पदार्थहरु जमिनमुनि प्रयोगविहीन अवस्थामा छ । राज्यले चाह्यो भने सवै क्षेत्रको विकास गर्न सक्छ । लाखौं नेपालीलाई स्वदेशमै विभिन्न प्रकारको रोजगारी श्रृजना गर्न सक्छ । यो देश सम्भावनै सम्भावनाले भरिपूर्ण छ । सवै नागरिकहरुलाई सुखी र सम्पन्न बनाउसक्ने सम्पदा नेपालमा छ ।
अतः भएको साधन श्रोतको सहि परिचालन र सदुपयोग गरेर सवैका लागि रोजगारी श्रृजना गर्न सक्ने अवस्था छ । सवै नागरिकहरुका लागि विभिन्न प्रकारका अवसरहरु श्रृजना गर्न सक्ने अवस्था छ । यहाँका बन जंगल, जडिबुटि, खानी, जल, जमिन र युवाहरुको श्रमको सदुपयोग गर्न सके कोहि पनि बेरोज हुनुपर्दैन, कोहि पनि असुरक्षित हुनुपर्दैन । मुलुक विश्वकै सुखि र सम्पन्न देशको रुपमा नेपाल हुन सक्छ, तर त्यसका लागि निश्वार्थ, देशभक्त र दूरदृष्टिवाला नेतृत्वको खाँचो छ , भ्रष्टाचार नगर्ने राष्ट्रसेवकहरुको खाँचो छ र परिश्रमी नागरिकहरुको खाँचो  छ । तब मात्र हामी नेपाली सुखी, आत्मनिर्भर र स्वाभिमानी नागरिकको रुपमा बाँच्न सक्छौं । अतः व्यवस्था यस्तो होस्, जसले सवैको हित गरोस् ।

प्रतिक्रिया दिनुहोस

<