सल्यानको कपुरकोट गाउँपालिकामा महिनापिच्छै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन

मंसिर, ९ सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकामा महिनापिच्छै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुने गरेका छन् । यसैवर्षको असोज, कार्तिक र मंसिर महिनामा मात्रै ३ जना प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।

२०७६ असोज १ गतेसम्म प्रमुख प्रशासकीयको रूपमा काम गरेका सुवाश रिजालको सरुवा भएयताको ३ महिनामा ३ जना हाकिम चेन्ज भएका हुन् ।

स्थानीय तह बनेदेखि अहिलेसम्म कपुरकोट गाउँपालिकामा ६ जनाले प्रशासकीय अधिकृतको कार्यभार समालेका छन् ।
१. गुरु प्रसाद योगी– २०७३ फागुन २७ देखि २०७३ चैत्र २२ गतेसम्म ।

२. रेमन्त बहादुर डाँगी– २०७३ चैत्र २३ देखि २०७४ कात्तिक १४ गतेसम्म ।

३. सुवाश रिजाल– २०७४ असोज २९ देखी २०७६ असोज १ गतेसम्म ।

४. अमर बहादुर वली–२०७६ असोज २ देखि २०७६ कात्तिक १९ गतेसम्म ।

५. अरुण दाहाल– २०७६ कात्तिक २० देखि २०७६ मंसिर ७ गतेसम्म ।

६. हिरालाल भण्डारी– २०७६ मंसिर ८ गतेदेखि सुरु भएकाछन ।  समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय आवश्यक पर्दछ ।

यसैबीच आईतबार कपुरकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हिरालाल भण्डारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमका वक्ताहरुले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय आवश्यक रहेको बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताइन्  ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सबै पक्षले आ–आफ्नो जिम्मेवारि पुरा गरेमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताए । ‘म एउटा लाईसेन्स प्राप्त ड्राईभर हो,’ कर्मचारीहरुलाई इंगीत गर्दै उनले भने, ‘गाडिका हरेक पार्टपुर्जाले काम गरे भने मात्रै मैले गाडिलाई गन्तव्यमा पु¥याउन सक्छु ।

त्यसैले यहाँका शिक्षा, स्वास्थ्य, पशु, कृषि लगाएतका शाखाले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्नुपर्छ ।’ कपुरकोट लगाएत देशभरका स्थानीय तहहरु कर्मचारी अभाव, भौतीक संरचनाको अभावमा रहेकाले आफुले कायापलट नै गर्न भने नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा हाल सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका अरुण दाहाल, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माण देखि प्रशासनीक काममा बाधा पुगेको बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारी दाङको राजपुर गाउँपालिकाबाट सरुवा भएर कपुरकोट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

<