छेपाराको श्लोक झैं भयो विकास

 

प्रत्येक आर्थिक वर्ष सकिनै लाग्दा हाम्रो विकास निर्माण कार्यले खुबै गति लिईरहेको हुन्छ । भएभरका तालिम ज्येष्ठ आषाढ मै भईरहेका छन् । सडक निर्माणको कार्यले यतिवेलै गति लिइरहेको छ । मानौं कि विकास निर्माणको समय नै यहि हो । एकातिर यतिवेलै कृषकहरु खेती पातिको काममा मच्चिएका छन् । अर्कोतिर मुलुकभर विकास निर्माणले गति लिएको छ । यतिवेला नै बेरोजगारहरु बढेझैं गरिएको छ र विभिन्न प्रकारको काममा लगाउन खोजिदैछ ।

यो गलत प्रक्रिया हो भन्ने कुरा सवैलाई थाहा छ, तर पनि कोहि बोल्न चाहदैन । यसप्रकारको कामले बेरोजगारीको सूचिमा सूचिकृतहरुले १०, १५ हजार रुँपँया कमाउलान् तर त्यसले उनीहरुलाई एक महिनादेखि अर्को महिना पुग्दैन । यो दिगो विकासको तरिका हुँदै होईन । बरु राज्यले जनतालाई उत्पादनमूलक काममा लगाउने र उत्पादित वस्तुको बजार खोजिदिने या राज्यले नै किनेर कृषक या पशुपालकलाई राहत दिने हो भने त्यो प्रकारको विकास दीगो हुन सक्दथ्यो । उत्पादनका लागि प्रतिश्पर्धा हुनेथियो ।

कृषि र पशुपालन पेशामा लगाउदा एक महिना होईन ६ महीना नै रोजगारी पुग्ने थियो । यतातिर कसैले पनि सोचको देखिदैन ।
नेपालको विकास अहिले ठ्याक्कै छेपाराको श्लोक झैं भएको छ । छेपारोले जब जाडो लाग्छ, त्यतिवेला भोलि त पक्कै आफूलाई न्यानो बनाउने व्यवस्था गर्छु भन्छ रे । तर जब भोलिपल्ट विहाना तातो लाग्छ, आनन्दले सुत्छ, सवै कुरा विर्सन्छ रे । हाम्रो विकास पनि त्यस्तै छ । जतिबेला संकट आउँछ, त्यतिवेला यसो गरेको भए हुनेथियो, उसो गरेको भए हुुनेथियो भन्छौं, तर जब काम गर्नुपर्ने समय आउँछ, हामी अनेक बहाना गरेर समय विताउछौं । अहिलेको यथार्थता त्यहि नै हो ।

अब वर्षात लाग्नसाथ विकास निर्माणका कार्यहरु ठप्प हुन्छन् । त्यसपछि हामीलाई याद् हुन्छ, एक हप्ता मात्रै समय भएको भए कति धेरै काम गर्ने थियौं । एक महिना समय भईदिएको भए त अँझ धेरै नै काम गर्ने थियौं । हो, यस्तै भन्दै दिन वित्ने गरेको छ । हाम्रा लागि विडम्वना त्यहि नै हो । समय छउन्जेल वास्ता नगर्ने र समय फुत्कीसकेपछि पछुताउने हाम्रो बानी नै भैसकेको छ । एक जनाले होइन, दुई जनाले होइन । अधिकांशले त्यसै गरिरहेको अवस्था छ । काममा ढिलासुस्ती गर्ने एउटा रोग नै बसिसकेको छ ।

यसका लागि नेतृत्व तहले कडा भन्दा कडा कदम् चाल्न जरुरी छ । नेतृत्व आफू समेत निस्वार्थ तरिकाले लाग्न जरुरी छ । नेतृत्व नै स्वार्थमा लिप्त भएपछि जतिसुकै इमान्दारीताका कुरा गरेपनि व्यर्थ नै हुन्छ । जतिसुकै कडा कदम् चालेपनि कुनै अर्थ रहदैन ।

प्रतिक्रिया दिनुहोस

<