निमावि शिक्षक लाइसेन्समा ४ प्रतिशत मात्रै उत्तीर्ण !

काठमाडौं, १२ चैत ।
शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को सबै विषको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार नेपाली विषयको नतिजा सार्वजनिक भएसँगै निम्न माध्यमिक तहको सबै विषयको नतिजा सार्वजनिक भएको हो । तर नतिजा भने, माध्यामिक तहको भन्दा निम्न माध्यामिक तहको नतिजा निकै कमजोर आएको छ ।

 

आयोगले निम्न माध्यामिक तहको अनिवार्य अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । तर नतिजा भने उपलब्धी मुलक आउन सकेन् ।

नतिजा अनुसार विज्ञान विषयको परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ८७ जनाको वस्तुगत परीक्षा रद्द भएको छ ।

१ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ । यो नतिजा हेर्दा झण्डै ८.५८ प्रतिशत उम्मेदवार मात्रै निम्न माध्यामिक तहको विज्ञान विषयको नतिजामा उत्तीर्ण हुन् सफल भएका छन् ।

यस्तै अनिवार्य गणित विषयको नतिजा परीक्षामा सहभागि ७ हजार ७ सय ७५ जना मध्ये ६ सय ९१ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै दुई सय ७४ जनाको कि उल्लेख नगरिएको भन्दै परीक्षा रद्द गरिएको छ । यो विषयको नतिजा हेर्दा ८.८८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

 

यसैगरी अंग्रेजी विषयमा जम्मा १९ हजार ८ सय ९ जना परीक्षामा सहभागि भएकोमा जम्मा ९ सय ५३ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै, ६ सय ७३ जनाले कि उल्लेख नगरेकाले उत्तरपुस्तिका रद्द गरिएको छ । परिक्षामा अमर्या्दित कार्य गरेको भन्दै ६ जनाको परिक्षा रद्द गरिएको छ । यसमा जम्मा ४.८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसैगरी अनिवार्य सामाजिक विषयको परीक्षमा २२०९९ परीक्षार्थी परीक्षामा सहभागि भएकोमा जम्मा ७ सय ४२ जनामात्रै उत्तीर्ण भएका छन् । १२ सय ३३ जनाले परीक्षमा कि उल्लेख नगरेकाले उत्तर पुस्तिका रद्द गरिएको छ भने, मर्यादा विपरित कार्य गरेकाले ६ जनाको परीक्षा नै रद्द गरिएको छ । सामाजिकमा जम्मा ३.३ प्रतिशत परीक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन् ।

यसबीच अनिवार्य नेपाली विषयको परीक्षामा ४८ हजार ९ सय ३४ जना सहभागि भएकोमा जम्मा २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै, कि उल्लेख नगरेको भन्दै २३ सय ६४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ, भने परीक्षामा अमर्या्दित कार्य गरेको भन्दै ८ जनाको परीक्षा नै रद्द गरिएको आयोगले जनाएको छ । समग्रमा नेपाली विषयमा जम्मा ४.२० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

निम्न माध्यामिक तहको यि अनिवार्य पाँच विषयमा जम्मा एक लाख एक हजार ९ सय ८४ जना परीक्षामा सहभागि भएकोमा जम्मा ४ हजार ७ सय ३४ जना मात्रै उत्तीर्ण भएका छन् । यो नतिजा हेर्दा ४.६४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यो नतिजा माध्यामिक तहको नतिजा भन्दा झण्डै ४ गुणा कम उत्तीर्ण भएका छन् ।

आयोगले यसअघि सार्वजनिक गरेको माध्यामिक तहको सबै विषयको नतिजामा झण्डै १५ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका थिए । समग्रमा हालसम्म सार्वजनिक भएको माध्यामिक र निम्न माध्यामिक तहको नतिजा हेर्दा यो पटक भने, माध्यामिक तहको भन्दा निम्न माध्यामिक तहको नतिजा निकै खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस

<