जिल्ला अस्पताल सल्यानमा २० बेडको क्वारेन्टाईन तयार

सल्यान, १२ चैत ।
बिश्वभर कोरोना भाइरस फैलिदैँ गएको बेला सल्यानमा २० वेडको क्वारेन्टाईन वार्ड तयार गरिएको छ । कोरोना भाईरस संक्रमितको उपचारका लागि जिल्ला अस्पताल सल्यानमा २० बेडको वार्ड तयारी गरिएको हो ।

विश्वव्यापी रुपमा कोरोनाको त्रास बढी रहँदा जिल्ला अस्पतालमा कोरोनाको लक्षण देखिने विरामी राख्न छुट्टै क्वारेन्टाईन वार्ड निमार्ण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सम्भावित जोखिम मध्यनजर गर्दै २० जनासम्म रहन सक्ने गरी क्वारेन्टाईन वार्ड निमार्ण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अजुर्न कुमार बढाले बताउनुभयो ।

‘अस्पतालमा भएको बेडको प्रयोग गरेर हामीले वार्ड तयार पारेका छौँ’ उहाँले भन्नुभयो ‘कोरोना भाइरसबाट बच्नको लागि अस्पतालले गरेको यो तयारी हो ।’ उहाँले आमसेवाग्राहीलाई सचेत रहँन आग्रह गर्दै जनचेतनामुलक सन्देश प्रवाह गर्दै आएको बताउनुभयो ।

अस्पतालमा क्वारेन्टाईन वार्डको व्यवस्था गरिए पनि आबश्यक उपकरण र जनशक्तिको अभाव रहेको छ । स्वास्थ्यकर्मी संक्रमितको नजिक जानको लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षाका लागि सामाग्रीको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस संक्रमितलाई चेकजाँच गर्दा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को अभाव रहेको छ । कोरोना संक्रमितको उपचारमा मात्र नभएर शंकास्पदको उपचार गर्ने चिकित्सकले समेत पीपीई लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस

<