पूर्ण असक्तलाई घरमै पुगेर परिचय पत्र दिदै कुमाख सरकार


सल्यान, १३ फागुन ।

सल्यानको कुमाख गाउँपालिकाले पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुको घरमा नै पुगेर परिचय पत्र प्रदान गरेको छ ।

बिहीबार कुमाख गाउँपालिका–७ जिमालीका कम्मरभन्दा मुनिको भाग नचल्ने मनोज चन्दलाई उनको घरमा नै पुगेर परिचयपत्र वितरण गरिएको हो । दिसापिसाव भएको समेत थाहा नपाउने उनि पाँग्रे कुर्सीको सहायताले आँगनबाहेक अन्यत्र जान सक्दैनन ।

३ बर्ष अघि गाउँमा नै भएको ट्याक्सी दुर्घटनामा परि घाइते बनेका चन्दलाई उनको शारीरीक अपाङ्गताको अवस्था हेरेर परिचयपत्र वितरण गरिएको हो ।

दुवै खुट्टा सुकेका उनले घरमा नै सेवा पाएपछि खुशी भएको बताएका छन । उनले भनेः ‘आज म अति खुशी भए घरमा नै आएर परिचयपत्र दिनुभो अव सरकारी सुविधा पाइन्छ की जस्तै लागेको छ ।’

मनोजका बुवा शेर बहादुर चन्दले छोराको उपचारको लागि अहिले सम्म ३३ लाख खर्च भएको भन्दै उपचारका क्रममा अस्पतालले प्रहरी समेत लगाएको दुखेसो पोखेका छन ।

उनले भने–‘छोराको उपचारमा सबै इस्टमित्रसंग ऋण छ, छोराको शरिर रहेपनि कम्मर भन्दा मुनीको भाग नचल्दा समस्या भयो यसले जिन्दगीभरी दुःख पाउने भयो ।’

उनले घरमा नै पुगेर परिचयपत्र प्रदान गरेकोमा गाउँपालिकालाइ धन्यवाद दिएका छन । उनले भने– ‘जिल्ला जाँदा कति दुःख हुन्थ्यो, पैसा पनि सकिन्थ्यो हामी त सक्ने नै थिएनौ तर घरमा नै परिचयपत्र पायौं खुशी लाग्यो ।’

गाउँपालिका भित्र रहेका अशक्त अपाङ्गको समस्यालाई ध्यानमा राखेर पालिका भित्रका त्यस्ता व्यक्तिको घरमा नै पुगेर परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले बताएका छन ।

उनले भने–‘यदि कोही त्यस्तो अपाङ्गता भएको व्यक्ति छ भने उनिहरुको निवेदनका आधारमा कार्यपालिकाको निर्णय अनुसार घरमा नै पुगेर उसको अवस्था हेरेर परिचयपत्र प्रदान गरिन्छ ।’

अपाङ्गता भएका व्यक्तिका निम्ती पनि स्थानीय सरकारले विभिन्न काम गरेको भन्दै यस्तो अभियानको संचालन गरेको गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशीले जानकारी दिए ।

उनले ‘क’ वर्गको अपाङ्गता भएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता वापत मासिक ३ हजार, ‘ख’ वर्गकोले १ हजार ५ सय तथा ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भएको व्यक्तिले लोकसेवा तथा विभिन्न सेवामा समावेशीताको साथै यातायातका साधनमा लाग्ने टिकटमा छुट पाइने उनले बताए ।

गाउँपालिकामा अहिलेसम्म यस्ता प्रकृतिका अपाङ्गता भएका व्यक्ति ५ जना भएको निवेदन आएकामा २ जनालाइ प्रदान गरेपनि अन्यलाइ पनि चाँडै उनिहरुको घरमा नै पुगेर प्रदान गरिने गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । उनले सरकारमा सबैको पहुच पु¥याउने गरी नागरिकलाई घरआँगनसम्म पुगेर सेवा प्रदान गरिरहेको बताइन ।

गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा महिला विकाश शाखा सहित बनेको समितिले कागजात अध्ययन गरि अपाग परिचय पत्र वितरण सम्बन्धीका निर्णय गर्छ । पूर्ण असक्त भएको व्यक्तिले क वर्गको, अति असक्तले ख वर्गको, मध्यमले ग वर्गको र सामान्यले घ वर्गको अपाङ्ग परिचय पत्र पाउछन ।

परिचयपत्र प्रदानका लागि गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरको नेतृत्वमा उपाध्यक्ष डिल्लीराज जैशी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती वडाध्यक्ष तुलाराम बोहरा उनिहरुको घरमै पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस

<