सम्पादकीय : कोरोना कहर घट्दैछ, तर आयात दर बढ्दैछ

पछिल्लो समय कोरोना कहर घट्दैछ, तर आयात दर तिब्र गतिमा बढ्न थालेको छ । कोरोनाको संक्रमणदर घट्दै जाँदा बजार सहज बन्दै गएको छ । यसरी करिब एक वर्षमा फेरी जनजीवन सहज बन्न थालेको छ । कोरोना महामारी नियन्त्रण भैसकेको अवस्था भने होइन, तर पनि मानिसहरु पहिलाको जस्तो डरत्रासमा छैनन् ।

बलियो स्वास्थ्य छ भने  रोगले त्यति सजिलै आक्रमण गर्न नसक्ने कुरा सवैले महशुुस् गरेका छन् । जनजीवन सहज भएसंगै वस्तुु आयात दर ह्वात्तै बढेको हो । कोरोनाले मानिसहरु गाउँ फर्किएका थिए । गाउँकै बस्तु उपयोग गर्न थालेका थिए र यस अर्थमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुुख हुुदै जाने अवस्था बनेको थियो ।

तर बजार सहज भएसंगै फेरी विश्वव्यापी प्रतिश्पर्धाका कारण विदेशी बस्तुुले नेपालको बजार भरिदै जाँदा आयात बढेको हो । तथ्यांक अनुुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) सम्म कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसमा पनि मंसिर महिनामा उच्च आयात भएको देखिएको छ ।

मंशिरमा महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ । कात्तिक महिनामा समेत १ खर्ब १२ अर्ब रुपैयाँ हाराहारीको वस्तु आयात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात पुरानै अवस्थामा फर्कने संकेत गरेपनि निर्यातमा भने उत्साहजनक वृद्धि छैन । पहिलो पाँच महिनामा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

त्यसो त समग्र आयात भने गत वर्षको यसै अवधिको तुलनामा ९.५९ प्रतिशतले कम भएको छ । तर, चालु आर्थिक वर्षका प्रारम्भिक महिनाको तुलनामा पछिल्ला महिनाहरु भने वैदेशिक व्यापारका दृष्टिकोणबाट सहज बन्दै गएको देखिएको छ । पछिल्लो ५ महिनाको तथ्यांकअनुसार निर्यातमा समेत अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.१२ प्रतिशतको वृद्धि देखिएको छ । ५ महिनामा समग्र वैदेशिक व्यापारको आकारमा भने गिरावट आएको छ ।

चालु आवमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा यस्तो रकम ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको थियो । समग्र वैदेशिक व्यापारमा ८.४८ प्रतिशतको गिरावट आएको तथ्यांक छ । नेपालको वैदेशिक व्यापारमा ९१.३० प्रतिशत हिस्सा आयातको रहेको छ । ८.७० प्रतिशत हिस्सा मात्र निर्यातको छ । यद्यपी अघिल्लो वर्षको यसै अवधिको तुलनामा निर्यातको हिस्सामा १४.८६ प्रतिशतको वृद्धि भने देखिएको छ ।

यसरी समग्रमा निर्यातभन्दा आयात निकै बढि भएको तथ्यांकले देखाउदछ । विश्वव्यापी प्रतिश्पर्धाका कारण नेपाली बस्तुुहरु निर्यात हुन कठिन भएको छ । बढि लागत र कम गुुणस्तरका बस्तुुहरुले बजारमा प्रतिश्पर्धा गर्न सक्दैनन् । यस्तै विभिन्न कारणहरुले नेपाल परनिर्भर बन्न बाद्य भएको छ ।

प्रतिक्रिया दिनुहोस

<