कविता: आमा

12 baishakh, 2077

जागीरे जीवनसंगै आफ्नो साहित्यीक यात्रालाई निरन्तर अगाडि बढाईरहने र धेरैको आँखामा नम्र एबं मिजासिलो स्वभावका एक असल व्यक्ति भनेर पहिचान बनाउन सफल पूर्ण ओलीको कविता यसमा प्रस्तुत गरेका छौं । जागीरे जीवनकै क्रममा यसअघि सल्यानमा पनि काम गरिसक्नुभएको छ भने हाल उहाँ काठमाडौंमा बस्दै आउनुभएको छ । उहाँको जन्म घर रुकुम जिल्ला हो । सल्यानमा रहदा पनि उहाँ विशेष गरी यात्रा सम्बन्धिका मिठासपूर्ण दैंनिकी लेख्ने गर्नुहुन्थ्यो । साहित्यकारले विभिन्न क्षेत्रको बारेमा विशेष रुपमा चिरफार गर्न सक्दछन् । सवै क्षेत्रलाई रहस्यमय बनाउन सक्ने वा सवै क्षेत्रको आ–आफ्नै महत्व रहने कुरालाई  स्पष्ट पार्दछन् । त्यो गुण उहाँमा पनि छ । उहाँले विभिन्न क्षेत्रमा कलम चलाउने गर्नुहुन्छ ।  यसमा आमाको महिमा सम्बन्धिको छन्दवद्ध कविता राखेका छौं ।

पूर्ण ओली

              आमा

धर्तीकै जति बोझ् उठाइ जगमा आमा खडा छ्यौ तिमी
माया शान्ति, क्षमा र दान, करुणा, ज्ञान् की घडा हौ तिमी ।
हामीमा दिल, अन्न, श्वास, जलले गर्छ्यौ सदा सिँचन
तिम्रो छाति छ उच्च शैलसरिको, ऐना सरी कञ्चन ।१।

 

आफ्ना सन्ततिमा दया र ममता, संस्कारले भर्दछ्यौ
आफैले पनि क्यै नखाइकन हे ! भोका उदर् भर्दछ्यौ
सारा जीवन चक्र चल्दछ यहाँ, तिम्ले चलाएपछि
आम बुझाउँछ स्नेह, ममता, शान्ति, सुरक्षा जति ।२।

 

कालै तुल्य मिची पिडा प्रसवको, सन्तान जन्माउँछ्यौ
स्याहार्छ्यौ शिशु यत्नसाथ अनि पो, सँसार सिँगार्दछ्यौ
हाल्छ्यौ फाल समाप्त पार्न कहिले, सन्तान च्यापीकन
फेर्छ्यौ अन्तिम सास नै निकटमा, सन्तान राखीकन ।३।

 

झाडीमा परित्यक्त अज्ञात शिशुको, वात्सल्य तिम्ले दियौ
जन्माए पनि टेष्ट ट्यूब विधिले, आमा तिमी नै थियौ
आमाको भुमिका निभाइ जगमा, अर्कै उदाए पनि
आमा सन्ततिकी स्वयम् हुन तिनी, शब्दै हराए पनि ।४।

 

‘आमा झैँ अरु तीर्थ छैन गतिलो !’ हिन्दूहरु मान्दछन्
पूजाले यिनको सुध्रन्छ ‘इहलोक्-पर्लोक’ ती ठान्दछन्
‘प्रज्ञा, शील, समाधि’ यी त्रिगुणमा बुद्धत्व प्राप्ती छ रे
‘पैतालामुनि स्वर्ग छ जननीको’, भन्दै छ इस्लामले
‘लामो आयु हुने’ इसाइहरुको, विश्वास् छ आमा पुजे
आमाको अनुहार हेर अरु क्यै, चाहिन्न आफै बुझे ।५।

 

तिम्रो हुन्छ समाप्त नै इहलिला, सन्तान जन्माउँदा
जानी त्यो भय भाग्दिनौ तर तिमी, कर्तव्य भन्दा उता
आमासामु सधैँ अनेक थरिका, राखिन्छ रे सोधनी
बाबासामु गरिन्छ प्रश्न एउटै :’आमा कता छिन् ?’ भनी ।६।

 

आमा सन्ततिको खुशी, प्रगतिमा आफ्नै खुशी देख्दछिन्
पीडा, सङ्कट हेर्न सक्तिनन यी, बाधा स्वयम् छेक्दछिन्
लाग्दा ठेस, विमारमा र दुखमा, फुत्किन्छः “आमा मरेँ !!!”
कोरोना पनि तर्सियो छुन अहो ! तिम्रै महत्ता छ रे ।७।

 

जस्तै सन्त महान्, खुँखार बदमाश्, सन्तान होस् तापनि
आमासामु निहुरिन्छ, हुन्न तुजुकी, जस्तै विपत्मा पनि
आमाका मननीय, क्लिष्ट, गुलिया वाणी चहार्नेहरु
को को छौ ? व्यवहारमा हरघडी साँच्चै उतार्नेहरु ।८।

प्रतिक्रिया दिनुहोस