दुबै अध्यादेश फिर्ता लिने मन्त्रीपरिषद्को निर्णय

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । संविधानको धारा ११४ (२) ख बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ । सोही व्यवस्था अनुसार आजको बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले यही ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित समेत गरिएको थियो ।

अध्यादेश जारी भएपछि विपक्षी दलसहित स्वयं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारकै मन्त्रीहरूबाट विरोध भएको थियो। गएको बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र समेत पठाएका थिए।

सरकारको चर्को आलोचना भएपछि बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन आफू सकारात्मक रहेको बताएका थिए। तर साँझसम्म पनि अध्यादेश फिर्ता नभएपछि नेकपा सचिवालयका बहुमत सदस्यको भैँसेपाटीमा बैठक बसेर अध्यादेश फिर्ता लिन दबाव दिएको थियो ।

यसरी सरकारले जारी गरेका अध्यादेशविरुद्ध सत्तारुढ नेकपाभित्रै बहुमत संख्या उभिएपछि र प्रमुख प्रतिपक्षी दल लगायत साना दलले पनि त्यसको विरोध जनाएपछि प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

<