मुक्तकहरु

सर्जक र स्रष्टाहरुका लागि जुनसुकै समय पनि उपयुक्त नै हुन्छ । सुखद् समयमा सुखद् कुरा व्यक्त भएका हुन्छन् र दुखद् समयमा दुखद् कुराहरु नै व्यक्त भएका हुन्छन् । रचनामा सत्ता र शक्तिमा हुनेले गरेका वा गर्नुपर्ने कुराको बारेमा पनि सुझाव र सन्देश ब्यक्त भएको हुन्छ भने नागरिकहरुले भोगेका कुराहरु पनि जस्ताका जस्तै आएका हुन्छन् । अतः संकटमा पनि नमर्ने भनेको साहित्य, कला र सृजना रचना नै हुन् ।

एकताका कुनै राजा महाराजा वा ठूलाबडाका मात्रै रचनाहरुलाई सञ्चारमाध्यमहरुले प्रचार गर्दथे , तर अहिले लोकतन्त्रमा त्यस्तो छैन, जो सुकैले सृजना गरोस्, नागरिकको मनमा पस्न सक्ने रचना छ भने सजिलै प्रचारप्रसार हुने गरेका छन् ।

पछिल्लो समय, गलज, मुक्तक वा लेख रचनाहरुमा सल्यानीहरु पनि निकै अगाडि बढेका छन् । त्यस्तै एक सल्यानी युवाको मुक्तकलाई आज यहाँ स्थान दिएका छौं । सल्यानको बन्गाड कुपिन्डे नगरपालिका ३ घर भई  एउटा सामान्य परिवारमा आफ्ना दिनहरु विताईरहेका सुनिल राना विरहीले शब्दहरु र शब्दसंगै मिल्ने चित्रहरुमार्फत समाजलाई चित्रण गरिरहनुभएको छ । उहाँले दर्जनौं मुक्तक र गजलमार्फत आफुलाई चिनाउनुभएको छ । आज उहाँका केही मुक्तकहरु यहाँ प्रस्तुत गरेका छौं ।

                                 सुनिल राना बिरही

मुक्तक १

भेटहुने  समय  तोकेर  बोल्ने रहर छ।।

घमन्डी हरुलाई रोकेर बोल्ने रहर छ।।

त्यो  साइत जुनदिन आउँछ नि मिलेर ,

नजरमा  नजर  ठोकेर  बोल्ने रहर छ।।

 

 मुक्तक २

सिन्दुर  पठाई  दिउँला चुरा पठाई दिउँला

केही नयाँ केही पुराना कुरा पठाई दिउँला

अरब बाट भोलि जहाज आउँदैछ नेपाल

माग प्रिया  जे चाहिन्छ पूरा पठाई दिउँला

 

             मुक्तक ३

बोली होस् या वचन मरेर जाँन्छ।।

गर्दा गर्दै पनि जत्तन मरेर जाँन्छ।।

सुरुमा के न होला प्रश्न जागे पनि ,

ईच्छा पुग्छ पछि मन मरेर जाँन्छ।।

 

         मुक्तक ४

भएर म अयोग्य मित्र मौन बसि दिउँला।।

बसेझैँ भित्ताको चित्र मौन बसि दिउँला।।

साथी ठानेर बोलाउँदा अन्यथा हुन्छ भने,

साथीहरुकै सूचीभित्र मौन बसि दिउँला।।

 

              मुक्तक ५

देखिने ओराली उकालीमा गाडी पुर्‍याउनलाई।।

सडक बनाई  यसैपालिमा गाडी पुर्‍याउनलाई।।

घन सबल कोदालो बोकी जुटेकाछन् जनताहरु,

जुम्ला  हुम्ला  कर्णालिमा  गाडी पुर्‍याउनलाई।।

 

                  मुक्तक ६

कहिले  रुँने  कहिले  हाँस्ने  संसार  यस्तै हो।।

सम्बन्ध लाई छुटाउने  गाँस्ने संसार यस्तै हो।।

थोरै दुस्ख हुँदैमा गुनासो  नगरौं जिन्दगी  सँग ,

दुःख  कष्टलाई  सहेर  बाँच्ने संसार यस्तै हो।।

 

                       मुक्तक ७

जुनदिन  मैले  हात  उठाउँछु थाहा पाउने छन् ।।

बल अनि  बुद्धि सब लगाउँछु थाहा पाउने छन् ।।

आज  मेरो  मन दुखाई धरधरी रुवाँउने हरुलाई ,

घामले धोएर पानीमा सुकाउँछु थाहा पाउने छन् ।।

 

                        मुक्तक ८

सानो घर मिलेको छ घरको तला मिलेको छ।।

विरही भाका वहकाई गाउने गला मिलेको छ।।

जिन्दगीको  गुरु  जीले  साथ  छोडेर गएपछि ,

मलाई एकलै जीवन जिउने कला मिलेको छ।।

 

                   मुक्तक ९

खोला  नदि  पाखा  पर्वत  भिर  काटेर ।।

गरिएका  बाचा  बन्धन  जन्जिर  काटेर।।

आमाको बाल्यकाल फर्केर आउँथ्यो भने ,

चढाइ दिन्थेँ भगवान् लाई यो शिर काटेर।।

 

सुनिल राना बिरही

बन्गाड कुपिण्डे नगरपालिका ३ सल्यान

प्रतिक्रिया दिनुहोस

<