भारतबाट फर्किएकालाई देश छिर्न आज अन्तिम मौका, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नै पर्ने

काठमाडौं, ११ चैत ।
सरकारले भारतका विभिन्न स्थानबाट आएर दक्षिणी सीमाक्षेत्रमा जम्मा भएका नेपालीलाई घर आउन आज अन्तिम मौका दिएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

समितिका सदस्य, अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । ‘भारतबाट आएका नेपालीहरु पूर्वदेखि पश्चिमसम्मको सीमाक्षेत्रमा जम्मा भएको हामीले जानकारी पाएका छौं’, खतिवडाले भने, ’अहिलेलाई पश्चिमदेखि पूर्वसम्मकाका नाकामा जम्मा भएकाल नेपालीलाई आज अन्तिम पटक देशमा छिर्ने मौका दिएका छौं ।’

तर सीमाबाट नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने खतिवडाले बताए । ’भारतीय क्षेत्रबाट नेपाली हो भन्ने परिचयपत्र देखाएपछि मात्रै उनीहरुलाई प्रवेश दिइनेछ’, खतिवडाले थपे, ’तर उनीहरुले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्छ । त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर निगरानी गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस

<