सल्यानका एक सिभिल इन्जिनियर, जसले रोजे कुखुरापालन

सल्यान, १२ फाल्गुन ।
स्वदेशमा काम नभएको भन्दै विदेश जाने युवाको जमात बढिरहेको बेला सल्यानका एक युवा भने कुखुरापालन व्यवसायमा लागेका छन् ।

पछिल्लो समय युवाको रोजाइ सरकारी जागिर गर्ने या विदेश जाने लहर चलिरहँदा शारदा नगरपालिका–५ रातामाटाका २० वर्षीय सिभिल इन्जिनियर लालबहादुर कुमाईले भने कुखुरा पालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले २०७६ वैशाखदेखि कुखुरा फर्म नै दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको छ ।

करिब ५ लाख लगानी गरी व्यवसाय सुरु गरेका उहाँले स्थानीय जातका कुखुरा पालन गर्नु भएको छ । अहिले उहाँको फर्ममा स्थानीय जातका ७ सय कुखुरा छन् । वैशाखदेखि पुससम्म कुखुरा र अण्डा बिक्री गरी ८ लाख आम्दानी गरिसकेको उहाँले सुनाउनुभयो ।

उहाँँको कुखुरा फर्मले दैनिक १ सय अण्डा उत्पादन गर्दै आएका उहाँको भनाइ छ । जिल्लालाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेको कुमाईले बताउनुभयो । उत्पादन गरेका कुखुरा र अण्डा अहिले जिल्लामै खपत हुने गरेको छ ।

अहिलेसम्म कहीं कतैबाट सहयोग नपाएको बताउँदै उहाँले अबका दिनमा राज्यबाट केही सहयोग पाए कुखुराको संख्या बढाउने र व्यवस्थित ढंगले सञ्चालन गर्ने योजना रहेको बताउनुभयोे ।

युवा व्यवसायी कुमाईले भन्नुभयो, ‘अर्काको जागिर खाएर नोकर बन्नुभन्दा आफ्नै व्यवसाय सञ्चालन गरेर मालिक बनेकोमा खुसी लागेको छ ।’ अर्काको देशमा रगत र पसिना बगाउनुभन्दा आफ्नै देशमा सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले आफ्नै देशमा व्यवसाय गर्न युवालाई आग्रह गर्नुभयो  । पढेर जागिर नै गर्नुपर्छ भन्ने आमनेपालीको सोचाइ छ, त्यस्तो सोचाइलाई परिर्वतन गर्न जरुर रहेको उहाँ बताउँनुहुन्छ ।

लालबहादुर कुमाईका बुबा र आमाले कुखुरालाई चारो र पानी खुवाउन सहयोग गर्दै आउनुभएको छ । भाइ कृष्ण कुमाईले दाइले गरेको कुखुरापालन व्यवसायबाट प्रभावित भई आफूले पनि भविष्यमा कुखुरा पालन व्यवसाय सञ्चालन गर्ने बताउनुभयो ।

पहिलेपहिले कुनै व्यवसाय नहुँदा आर्थिक भार पर्ने भए पनि कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी भएपछि घर खर्च चलाउन सजिलो भएको उहाँँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

<