आज राष्ट्रिय सभाको १८ सदस्यका लागि मतदान हुँदै, मत परिणाम पनि आजै

दाङ, ९माघ ।
राष्ट्रिय सभाको १८ सदस्यका लागि आज मतदान हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश ५ मा भने रिक्त ३ जना राष्ट्रिय सभा सदस्यका लागि घोराहीको कर्मचारी मिलन केन्द्रलाई मतदान स्थल तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो।

प्रदेश पाँचमा महिलातर्फ एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ १ र अन्य समूहतर्फ १ गरी ३ जना राष्ट्रिय सभा सदस्यका लागि मतदान हुदैछ ।

मुख्य निर्वाचन अधिकृत थापाले ३ सय ५ मतदाताले मतदानमा भाग लिने जानकारी दिनुभयो । ‘प्रदेश ५ मा रिक्त ३ राष्ट्रिय सभा सदस्यका लागि ३ सय ५ जना मतदाता रहनुभएको छ’, मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो, ‘मतदाताको मतभार जम्मा ८ हजार १ सय हुनेछ ।’

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था अनुरुप प्रदेश ५ का ३ राष्ट्रिय सभा सदस्यको २ वर्षे समयावधी आगामी फागुन २० गते सकिदै छ । प्रदेश ५ मा राष्ट्रियसभा सदस्य राजकुमार कुँवर, मीना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिन लागेको हो ।

प्रदेश पाँचमा नौ उम्मेदवार चुनावी मैदानमा
आज हुने राष्ट्रिय सभा सदस्यको र्विाचनका लागि प्रदेश ५ बाट ९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

गत पुस २० मनोनयन दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ९ उम्मेदवार चुनावी मैदानमा होमिनुभएको हो ।

जसमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीका गोपाल भट्टराई र कपिलबस्तुका विमला घिमिरे, नेपाली कांग्रेसबाट दाङका गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाई चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट कपिलबस्तुका शिव पौडेल उम्मेदवार रहनुभएको छ ।

निर्वाचनमा प्रदेश ५ का ८७ जना प्रदेशसभा सदस्य, प्रदेशका १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख, उपप्रमुख गरी ३ सय ५ जनाले भाग लिने प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

अन्य प्रदेशमा कहाँ कहाँ हुदैछ
प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका ४ को समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान हुनेछ ।

यस्तै कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सात प्रदेशमा ५ सय ५० जना प्रदेश सदस्य र एक हजार ५ सय ६ पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना चुनावमार्फत छानिने छन् ।

प्रतिक्रिया दिनुहोस

<