महाकवि सङ्ग्रहालय बन्दै कविकुञ्ज

काठमाडौँ, ७ पुस ।
काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ । सो स्थानमा सङ्ग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले महाकवि देवकोटाको घर सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि त्यस स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण गर्न ‘डीपीआर’ तयार गरी सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

सङ्ग्रहालय निर्माण कार्यलाई प्रतिष्ठानले राष्ट्रिय गौरवको प्राज्ञिक योजनाका रूपमा अगाडि सारेको बताउँदै उहाँले यो घरको बाहिरी आकृतिलाई जस्ताको त्यस्तै राखेर आधुनिक उच्च प्रविधियुक्त सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । १२ आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपियाँको लागतमा चारतले भवन निर्माण हुनेछ ।

“सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहनेछ, कवि गोष्ठी गर्न र नाटक प्रहसन देखाउन मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिनेछ,” सदस्य सचिव उपाध्यायले भन्नुभयो । प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैँचासमेत बन्नेछ ।

सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामग्री, दोस्रो तलामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ ।

भवनको तेस्रो तलामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिनेछ । यो सङ्ग्रहालयको निर्माणसँगै नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाप्रति मात्र सम्मान नभएर सिङ्गो नेपाली साहित्य र साहित्यकार नै सम्मानित हुने वातावरण तयार हुने सदस्य सचिव
उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

<