सल्यानमा उपाध्यक्ष कोसेली कार्यक्रम

 


सल्यान, ९ चैत ।

सल्यानमा आमाहरूलाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रम सुरू गरिएको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले उपाध्यक्ष पोषण कोसेली कार्यक्रम सञ्चालन भएको हो ।

पोषिलो आहारले नै शिशु र आमाको स्वास्थ्य स्वस्थ हुने भएकाले सुनौलो हजार दिनका आमालाई लक्षित गरी पोषिलो कोसेली कार्यक्रम सञ्चालन गरिएको कालीमाटी गाउँपालिकाकी उपाध्यक्ष सहनशीलता वली डिसीले बताइन् । गाउँपालिका भरका हजार दिनका आमाहरूलाई पोषण कोसेली प्रदान गर्ने लक्ष्य रहेको उपाध्यक्ष डिसीको भनाइ छ ।

‘हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणप्रति घरपरिवारलाई जागरुक गराउन यस्तो कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भनिन् । उनका अनुसार पोषण कोसेली कार्यक्रममा एक क्यारेट अण्डासँगै सरसफाइको लागि साबुन, ब्रस, मञ्जन, नेलकटर वितरण गरिएको हो ।

कार्यक्रमले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाई छ । पोषणको अवस्थामा सुधान ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<