सचेत नागरिक मौन बस्नुहुदैन ।

सचेत नागरिकहरु मौन बसेभने मौन स्वीकृति भएको अर्थ लाग्ने गर्दछ । चाहे व्यवस्थाप्रति मौन बसुन् वा चाहे समाजमा स्वतस्फूर्त रुपमा भएका गतिविधि हरुप्रति मौन बसुन् । यदि मौन बसेभने स्वीकार गरेको अर्थ लाग्ने गर्दछ । तर सचेत नागरिकहरुले साँचो र गलत छुट्याउने प्रयत्न गर्नु उचित हुन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्दछ । राम्रै भएपनि राम्रो भन्नसक्नुपर्छ र नराम्रो भए खुलेर प्रतिवाद गर्न सक्नुपर्दछ । सिंगो व्यवस्था कस्तो बनाउने भन्ने कुरा विशेष गरी नागरिकहरुको प्रतिक्रियामा भर पर्दछ ।

र सञ्चारको जति जति विकास भएको छ, त्यति त्यति निरंकुश चरित्रका शाशकहरुको अन्त्य भएको छ । शिक्षा र  सञ्चारको कारण गलत कामकुराहरु भएमा जताततैबाट नागरिकहरुले प्रतिवाद गर्न थालेको अवस्था छ । नागरिकहरु शिक्षित र सचेत हुनु भनेको निरंकुश शासकहरुको लागि घातक कुरा हो । त्यहि भएर नै बेलाबखत शासकहरु सामाजिक सञ्जालमा समेत रोक लगाउने प्रयन्न गर्दछन् । राणाशासनले विद्यालय खोल्न नदिने कारण त्यहि नै हो । जनता सचेत भएमा गलत क्रियाकलापको प्रतिवाद गर्दछन् । राजा विरेन्द्रको बंश नै नाश हुने गरि भएको हत्याकाण्डपछि पनि पुरै सञ्चार अबरुध्द पारिएको थियो । किनकी देशभरबाट नागरिकहरुले प्रतिवाद गर्ने र त्यो जस्ताको तस्तै विश्वसामु पुगेर संकास्पद व्यक्तिहरु आलोचित हुने डरका कारण फोन समेत बन्द गरिएको थियो । त्यति गर्दा पनि नवोदित राजामाथि हत्याकाण्डको योजनाकारको रुपमा नागरिहरुले बुझे र धेरै वर्ष नवोदित राजा टिक्न सकेनन् । एउटा सिंगै परिवार सखाप हुदा एउटाको सिंगै परिवार जिवित रहनुमा केहि षडयन्त्र पक्कै हो भन्ने नागरिकहरुले बुझे र अन्तमा नागरिकहरुको विश्वास गुमेपछि राजसंस्था नै नरहने गरी व्यवस्था परिवर्तन भयो । अतः नागरिकहरुले सडकमै प्रदर्शन नगरेपनि सिंगो व्यवस्थाप्रति आफ्नो प्रतिक्रिया जनाईरहेका हुन्छन्  । तर अपवादको रुपमा जब नागरिकहरु कार्यकर्तामा रुपान्तरण हुन्छन्, त्यसपछि भने गलत कामकुराहरुले प्रश्रय पाउछन् । समाज दुइ भागमा विभाजन हुन्छ । त्यस अवस्थाम नागरिकहरुले चाहेको जस्तो परिवर्तन हुदैन ।  यदि त्यस्तो अवस्था आयो भने सचेत र स्वतन्त्र विचारधाराका नागरिकहरु अँझ बढि जुर्मुराउनुपर्दछ । अन्त्यमा विजय सत्यकै हुन्छ । गलत काम गर्नेहरु परास्त हुन्छन् ।

निष्कर्षमा भन्नुपर्दा सचेत नागरिकहरु मौन बस्नु भनेको गलतलाई पनि स्वीकार गरेर बस्नु हो । सञ्चार र पत्रकारिता जगत पनि पार्टीको अन्धभक्त कार्यकर्ताको रुपमा प्रस्तुत हुनुहुदैन । यदि आश्थाकै पार्टीका व्यक्तिहरुले गलत गरेमा पनि गलत कुराहरुलाई गलत हो भनेर भन्न र लेख्न सक्ने नागरिकहरुको यो देशमा खाँचो छ । जुनसुकै पेशा र व्यवशायमा लागे पनि सत्य र न्यायको पक्षमा आवाज उठाउन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

<