राजनीति बढी भयो

नेपालमा जे कुरामा पनि राजनीति हुने गरेको छ । राजनीतिसंग नजोडेर निष्पक्ष सेवा गर्छु भन्दा पनि सुख नपाउने अवस्था छ । राजनीति यति धेरै हुने गरेको छ कि कुनै पनि  क्षेत्रमा तटस्थ बस्छु भन्दा पनि बस्न नसक्ने अवस्था बनेको छ ।
राजनीतिले समाज नै विकृतितिर धकेलिदैछ । यहाँ त सञ्चारमा राजनीति, शिक्षामा राजनीति, कृषिमा राजनीति, व्यापारमा राजनीति कलासंस्कृतिमा राजनीति, खेलमा राजनीति, स्कुलमा राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, मन्दिरमा राजनीति, मशानघाटमा राजनीति,  जताततै राजनीति चलेको छ ।

यतिवेला पशुपति शर्माको गीतमा ठूलो राजनीति चलेको छ । पक्ष विपक्ष बनेको अवस्था छ । सडकदेखि सदनसम्मै पशुपतिको गीतबारे चर्चा परिचर्चा भएको छ । यसमै पनि सत्तापक्ष र प्रतिपक्ष खडा भएको अवस्था छ । सरकारलाई घोचपेच गरेकोमा खुशि हुदै एक जना संसदले पुरस्कार नै घोषणा गरे । त्यसैगरी सत्तापक्षले ओलीको बोली बोल्दै पशुपतिले गल्ति गरेको आरोप लगाएको छ । विकृति विसंगतिप्रति खरो प्रहार गरेकोमा भने अपवादबाहे सवै खुसि नै छन् ।
राजनीतिले सवैतिर ढाकेको छ । गाउँमा खसि काटेर खानेबेला पनि राजनीति छ । फरक आश्थाको मान्छेले भनेको समयमा मासु पनि नपाउने अवस्था छ । विहेमा जन्ति नपाउने अवस्था छ भने मर्दाको समयमा मलामी नजुट्ने अवस्था छ । या भनेजस्तै कसैको प्यारो हुने सक्यो भने टाढैबाट भएपनि मलामी जान्छन् । जन्मदिनै भए पनि सम्झनै धेरै हुन्छन् । आस्था मिल्यो भने सवै कुराहरुमा सोचेभन्दा राम्रो सफलता पाउन सकिन्छ ।
थर एकथरी जनता कसैको हानी नोक्सानी पनि नगर्ने, कसैलाई उचाल्ने  पछार्ने पनि नगर्ने र केवल आफ्नो काम गरि खाने वर्गलाई भने यस प्रकारको राजनीतिले केहि फाईदा गरेको छैन । अतः हामी सवै नेपाली हौं, एक अर्कामा सहयोग गर्ने भावना हुनुपर्छ र परस्पर मिलेर बस्नुपर्छ भनेर कसैसित दुश्मनी पनि नकमाउने सोच हुँदा हुँदै पनि राजनीतिमा भाग लिनुपर्ने अवस्था छ । तर चाहिने भन्दा बढि राजनीतिले हामी नेपालीहरुलाई माथि उठ्नै नदिने भएको  छ । एकले अर्कालाई माथि उठ्नै नदिने जुन सोच बनेको छ, त्यो निकै घातक छ ।
राजनीतिले कतिपय साँचो कुरालाई गलत प्रमाणित गर्ने गरेको छ । गलत कुरालाई पनि साँचो प्रमाणित गर्ने प्रयत्न भएका छन् । अपराध गर्नेहरुलाई समेत राजनैतिक दवावका कारण तत्काल कैदमुक्त बनाएको अवस्था छ । राजनैतिक दवावकै कारण भ्रष्टाचारीहरुले संरक्षण पाईरहेका छ् । अतः सीमाभन्दा बढी राजनीति हुन थाल्यो भने समाजका लागि त्यो घातक हुन्छ । यसलाई सवैले बुझ्न र विभिन्न क्षेत्रमा हुने गरेका अनावश्यक राजनीतिक गतिविधिहरु अन्त्य गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<