सन्दर्भ : बीपी स्मृति दिवस ‘आदर्शप्रेरित राजनेता’

काठमाडौँ, ६ साउन  ।
नेपाली काँग्रेसका संस्थापक एवम् देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो ।

राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक हुनुहुन्थ्यो ।

उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आम निर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्थ गरी प्रधानमन्त्री बीपी लगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि आठ वर्ष प्रवास र पुनः स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र सङ्घर्षमै उहाँको जीवन बित्यो ।

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला भन्नुहुन्छ, ‘‘बीपीको जीवनगाथा नै कठोर र सङ्घर्षमय छ, जन्मँदादेखि मृत्युको शय्यासम्म पुग्दा चयन र शान्तिको सास फेर्न पाउनुभएन ।

क्यान्सरजस्तो घातक रोगसँग सङ्घर्ष गर्दागर्दै पनि बीपीले राजनीतिक सङ्घर्षलाई कायम नै राख्नुभयो ।’’

बीपीले धेरै दुःख भोग्नुप¥यो, अभावै अभावको जीवन जिउनु प¥यो, कठोरभन्दा कठोर बन्दी जीवन बिताउनु प¥यो, ज्यानलाई हत्केलामा राखेर राणाकालमै आमरण अनशन बस्नुभयो, पञ्चायती व्यवस्थामा पनि बीपीले मृत्युलाई अगाडि राखेर राजनीतिक यात्रा गर्नुभएको चर्चा कोइरालाले गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावल बीपी कोइरालालाई राजनीतिक र साहित्यिक पाटोबाट अलग अलग सम्झनु उपयुक्त हुने बताउनुहुन्छ । निरङ्कुशता पल्टाउन र राजनीतिक दललाई बलियो बनाउनुपर्छ भनेर जुन सङ्घर्ष र अडान बीपीले राख्नुभयो, त्यो योगदानको कदर गर्नुपर्ने भनाइ डा. रावलको छ ।

जीवनको उत्तराद्र्धमा आएर बीपीले राष्ट्रियता र मेलमिलापलाई बढी जोड दिएको पाइन्छ भन्दै उहाँले कारागारमा बन्दी जीवन बिताउँदा होस् वा बाहिर रहेर बीपीले साहित्यको माध्यमबाट समाजलाई चेतनशील बनाउन योगदान दिएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जीवनभर प्रजातन्त्र र राष्ट्रियताका लागि बीपीले सङ्घर्ष गरेको बताउनुुभयो । ‘राष्ट्रियताको हकमा मेरो राजासँग घाँटी जोडिएको छ तर प्रजातन्त्रका लागि म जनतासँग छु,’ बीपीले भनेको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो ।

डा. कोइराला भन्नुहुन्छ, ‘‘बीपीको समाजवादको पहिला त्यति व्याख्या भएन तर अहिले झन् सान्दर्भिक भएको छ, त्यस्तै राष्ट्रिय मेलमिलाप पनि अहिले उत्तिकै आवश्यक छ ।’’

बीपीले जुन राजनीतिक संस्कार, संस्कृति र नैतिक शिक्षा दिनुभयो, अहिलेको राजनीतिक नेतृत्वमा त्यसको ह्रास आएको छ भन्दै डा. कोइरालाले विगतदेखि नै नेतृत्वको ध्यान सत्ताको छिनाझपटीमा अल्झेकोमा चिन्ता प्रकट गर्नुभयो ।

राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालको विचारमा बीपीको आवरणमा अहिलेको राजनीति छ तर राजनीतिक संस्कार र मूल्यमा त्यो देखिँदैन । बीपीको सम्पूर्ण जीवनमा जनता तìवले स्थान पाएको देखिन्छ, अहिले जनता विमुख राजनीतिक चरित्र निर्माण भएको छ । सत्ताभन्दा आदर्शले प्रेरित राजनेताका रूपमा बीपीलाई सम्झनुुपर्ने उहाँ बताउनुहुुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘‘राजनीति भनेको केवल सत्ताको खेल मात्रै होइन, अहिले खेलाडी धेरै भए, नियमबिनाको खेल छ, भोगवादी संस्कृति निर्माण भएको छ, नेतृत्वमा बस्ने मानिसमा समाज अध्ययनको कमी छ, बीपीले भन्दा धेरै पढेका होलान् तर उनीहरूको बोलीमा समाज बुझेको स्पन्दन देखिँदैन ।’’

साहित्यकार डा. ज्ञानु पाण्डेका विचारमा बीपीले आत्मानुशासनमा रहेर भनाइ र गराइ फरक हुन दिनुभएन, आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि अर्पण गर्नुभयो, राजनीतिक सिद्धान्त र आदर्शमा कहिल्यै सम्झौता गर्नुभएन ।

‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नुभएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो तर सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

<