सल्यानमा ५१ करोड रकम फ्रिज

साउन ५, २०७६ सल्यान

सल्यानमा आर्थिक वर्ष २०७५र०७६ मा ५१ करोड बढी रकम फ्रिज भएको छ। गत आ।व। मा ४ अर्व, २६ करोड, ३९ लाख, ३ हजार ७४८ रुपैयाँ विनियोजन भएकोमा ५१ करोड ३४ लाख ६५ हजार ५४९ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो। सबैभन्दा धेरै कर्णाली प्रदेश मातहत रहेको पूर्वाधार कार्यालयको रहेको छ। पूर्वाधार कार्यालयले सल्यानका २० योजनाका लागि २५ करोड ७५ लाख बजेट विनियोजन गरेकोमा ४३ लाख मात्र रकम खर्च गर्न सफल भएको छ।

मोटरवेल पुल, झुलुङ्गे पुल र सडकका लागि विनियोजित भएको ठूलो परिणामको बजेट १० प्रतिशत पनि खर्च हुन नसकेको हो। यस्तै प्रदेशबाट ५८ करोड ८३ लाख ८६ हजार १२७ रुपैयाँ बजेट विनियोजन भएकोमा ४१ करोड, १३ लाख, ६७ हजार ५०३ रुपैयाँ खर्च हुँदा १७ करोड, ७० लाख, १८ हजार ६२३ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका कोष नियन्त्रक पूर्णबहादुर ओलीले बताए। उनले भने, ‘पूर्वाधार कार्यालयको बजेट हाम्रो कार्यालय मातहतमा पर्दैन। अन्य त्यस बाहेको संघ र प्रदेशबाट विनियोजन भएको बजेट मध्ये २५ करोड, ५९ लाख ६५ हजार ५५० रुपैया बजेट फ्रिज भएको छ।’

संघ मार्फत ३ अर्व, ४३ करोड, ८० लाख ७ हजार ६२१ रुपैया बजेट विनियोजन भएकोमा ३ अर्व ३५ करोड, ९० लाख ६० हजार ६९४ रुपैया खर्च हुँदा ७ करोड ८९ लाख, ४६ हजार ९२७ रुपैया बजेट फ्रिज भएको छ। फ्रिज हुनेमा सबैभन्दा बढि रकम प्रदेशको रहेको छ। प्रदेशले विनियोजन गरेको रकममा जलस्रोत तथा सिचाई विकास भिडिजन कार्यालय, डिभिजन वन कार्यालय, लेखा इकाई कार्यालय , भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बजेट बढी फ्रिज भएको छ।

दस वटै स्थानीय तहले बुझाएनन् चौमासिक प्रतिवेदन

आर्थिक वर्ष सकिएको भन्दै एक हप्ता पुगी सक्दा समेत जिल्लाका दसवटै स्थानीय तहले चौमासिक प्रतिवेदन बुझाएका छैनन्। असारको २४ गतेसम्म बुझाईसक्नु पर्ने प्रतिवेदन दुई हप्ता बितिसक्दा समेत खर्च प्रतिवेदन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ।

दार्मा गाउँपालिकाले ९२ लाख रकम फिर्ता गरेपनि प्रतिवेदन भने नबुझाएको कार्यालयका सूचना अधिकारी वृद्धि बस्नेतले बताए। पटक पटक प्रतिवेदन बुझाउन ताकेता गरेपनि कुनै पनि तहले प्रतिवेदन नबुझाएको उनले बताए। असार २४ पछिको खर्च विवरण बरुजु हुने बस्नेतको भनाई छ।

प्रतिक्रिया दिनुहोस

<