जनता भोकमरीमा, अनुदानको चामल ठेकेदारले बेचेर खाने, गोदामको गोदाममै कुहिने

 

 

दानबहादुर बुढा
मुगु, ६ असार ।

नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागि पठाईएको चामल सोरु गाउँपालिका वडा नम्बर ८ बाटै बिक्री हुने गरेकोे खुलासा भएको हो ।

यसरी बाटोबाटै ठेकेदारले मनोमानी रुपमा चामल बिक्री गरेपछि स्थानीयवासीले अनुदानको चामल नपाएको बताएका छन् । नेपाल सरकारले अनुदानमा खाद्यान्न उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । तर ठेक्केदारले मनोमानी नाफा कमाउने उद्देश्यका साथ अनुदानको चामल हुम्लाका नागरिकलाई बिक्री गर्ने गरेका स्थानीयको भनाइ छ ।

हुम्लाला जिल्लाको लागि सरकारले अनुदानमा पठाएको चामल ठेकादारले कमै मात्र लक्षित जनतासम्म पुर्याउने गरेको छ । अनुदानका लागि आउने चामल पनि हुनेखानेहरुले मात्र पाउन्छन्, भोकाहरुले नपाउने गरेको स्थानीयको गुनासो छ । चामका लागि २ दिन आउन २ दिन जान गरी ५ दिन लगाएर मुगु जिल्लाको तारापानी आएर नेपाल खाद्यान्न संस्थानको अरुवा मोटो चामल ठेकादार हिमाल टमटा बाट किनेर लग्नुपरेको हुम्लाको अदानचुली गाँउपालिकाका बिजित कुलालले बताए ।

उता सोरु गाउँपालिकाका जनतो चामल नपाएर हैरान छन्, अनुदानको चामल भने बाटोमा बिक्री गरेको पाइएको छ । वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेकाले लक्षित जनताले अनुदानको चामल नपाएको सोरुगाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मानप्रसाद भट्टले बताए ।

अहिले सोरुकोट डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ । अनुदानको चामल बिच बाटोमा बिक्री गर्ने तर जनतालाई ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो आइरहने अध्यक्ष भट्टले बताए ।

खाद्यान्न अभावमा जनता

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातीत अन्नबाट दैनिक जीविका चलाउँदै आइरहेका छन् । सरकारले यहाँ जनताका लागि अनुदानमा उपलब्ध गराउँदै आएको चामल भने बाटोमै बिक्री गरेर कागज मिलाउने र मिलेमतोमा खाने गरेको खुलेको छ । यस गर्दा सोरु गाउँपालिका बासिन्दा चामलको अभाव झेलिरहेका छन् ।

यता सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले अनुसार अनुदानको चामल बाटोमा बिक्री गरेको आफूलाई थाहा नभएको र बिक्रि गरेको भए कारबाही गर्ने बताए । नेपाल खाद्य संस्थानले सोरुकोट डिपो र कालै खाद्यान्न बिक्री केन्द्रको लागि पठाउनुपर्ने अनुदानको चामल के(कति आयो जाँचबुझ गर्ने र माग गरिए बमोजिम अनुदानको चामल नआएको भए ढुवानीको जिम्मा लिइएको ठेक्केदारलाई कारबाही गर्ने अध्यक्ष शाहीको भनाइ छ । उनले बिच बाटोमा चामल बिक्री भएको कुनै पनि निकायबाट जानकारी नआएको र तुरुन्त संस्थानको कर्मचारीलाई बुझेर आवश्यक कारवाही अगाडि बढाउने बताए ।

‘जुन स्थानमा लिनी पर्ने हो तेही ठाँउ सम्म ठेकेदारले पुगाउनु पर्छ कुनै पनि ठेकेदारले बदमास गरेको छ भने कारवाई हुन्छ,’ अध्यक्ष शाहीले भने ।

कसरी हुन्छ ढुवानी रु

सोरुकोट वितरण केन्द्रका लागि चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको जिम्मा शर्मा ढुवानी सेवाले लिएको नेपाल खाद्य संस्थानले जनाएको छ ।

चालु आर्थिक वर्षको लागि सुर्खेतबाट र गमगढी शाखाबाट गरेर करिब चार हजार क्विण्टल मध्ये चार सय क्विण्टल मात्र जान बाँकीरहेको शाखा प्रमुख भरतराज खनियाँले बताए । तर खाद्यान्न बीच बाटोमा नै बिक्री भएको भन्ने आफूलाई जानकारी नआएको तथा त्यसको जिम्मेवार स्वयं ठेकेदार नै हुने उनले बताए ।

सदरमुकाम गमगढीबाट ठेकेदारले चामल लिँदा खेरी चेकजाँच गरी लिएको हुन्छ । ठेकेदारले बिच बाटोमा गोदाम गरेको हुन्छ । कहीँ बिच बाटोको गोदाममै पनि चामल कुहिन सक्छ, त्यसको जिम्मा ठेकेदारले नै लिनुपर्ने हुन्छ ।

संस्थानको डिपोमा पुगेको चामल संस्थानका कर्मचारीहरुले चेकजाँच गरेर बुझ्ने गर्छन् । बिच बाटोमा चामल कुहिएको छ या के भएको छ, अहिलेसम्म कुनै पनि जानकारी नआएको मुगु जिल्ला गमगढी खाद्यान्न संस्थानका प्रमुख भरत खनियाले बताए ।

गोदामै कुहियो

सोरुकोट र कालै डिपोका लागि पठाइएको अनुदानको चामलको गोदाममा पानी पस्दा चामल भिजेर कुहिएको छ । गएको ४–५ दिनअघि स्थानीयबासीको खेत रोपाई गर्ने क्रममा खेतमा लगाइएको पानीे सोरु गाउँपालिका वडा नम्बर ८ तारापानीमा रहेको चामलको गोदामा पसेपछि चामल कुहिएको हो ।

१४ क्विन्टल बराबरको अनुदानको चामलमा पानीको भल पसेर सडेको गोदाम रेखदेख गर्ने ठकेदारका आफन्त रामचन्द्र तिरुवाले बताए ।

चामलको गोदाम गहिरोमा रहेको र वरिपरि खेतमा लगाइएको पानी गोदाममै पसेर चामल कुहेको तिरुवाको भनाई छ । यो चामल चालु आर्थिक वर्षको हो वा अघिल्लो आर्थिक वर्षको हो भन्ने खुलेको छैन । तर तिरुवाले चामल बिर्ख टमटा ९हिमाल० फुपाजुको खाद्य संस्थानबाट ठेक्का लिएर वितरण गर्न राखेको बताए ।

यता खाद्य संस्थान मुगु शाखाका अनुसार चालु आर्थिक वर्षको खाद्यान्न ढुवानीको काम विजय ट्रेड एण्ड सप्लायर्सले लिएको र खाद्यान्न पनि गइसकेको जनाएको छ । कालै वितरण केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा गुडविल सप्लार्सले लिएको छ । तर बिर्ख टमटाले खाद्यान्न संस्थान सुर्खेतबाट चामल ल्याएको भन्ने कुरा छ, सुर्खेतबाट कति क्विन्टल आएको हो, कसरी आउन्छ, यसबारे आफूलाई कुनै पनि जानकारी नभएको खाद्य संस्थान शाखा मुगुका प्रमुख भरतराज खनियाँले बताए । उनले कुहिएको खाद्यान्न कुन साल र कुन ठेकेदारको भन्नेमा आफूलाई जानकारी नभएको उनको भनाइ छ । केन्द्रसम्म खाद्यन्न ढुवानी गर्ने जिम्मा ठेकेदारको हुने र बिच बाटोमै नोक्सान भएमा सो दायित्व सम्बन्धित ठेकेदारले नै लिनुपर्ने खनियाको भनाइ छ ।

कलै बितरण केन्द्रमा लिएको खाद्यान्न पनि तारापानीको खुल्ला आकाशमुनी रहेको छ भने झिंगाहरुले आहारा बनाइरहेका छन् । पानीले भिजेको चामल खुल्ला खेतमा सुकाइराखेको अवस्था छ । १४ क्विटल चामल कुहिएर ढुसी परेर सुकाइराखेको हो  ।

प्रतिक्रिया दिनुहोस

<