शिक्षा क्षेत्रको सुधारका लागि हाम्रो सोचमा नै परिवर्तन हुनुपर्छ भन्छन् शिवजन मा.वि.का., वि.व्य.स. अध्यक्ष, राजेश वि.क

सल्यान जिल्लाको प्रमुख शैक्षिक, व्यापारिक तथा औद्योगिक क्षेत्रको रुपमा रहेको श्रीनगर बजारदेखि उत्तर पश्चिममा रहेको शिवजन मा.वि.का वि.व्य.स. अध्यक्ष श्री राजेश विकसग गरेको कुराकानीलाई यस अंकमा राखिएको छ । राजेश वि.क.ले शिक्षा, यातायात व्यवशायी, खानेपानी महासंघ, निर्माण व्यवसायी जस्ता विभिन्न क्षेत्रमा काम गरेर एक अनुभवि व्यक्तित्वको रुपमा पहिचान बनाईसकेको अवस्था छ । निर्विवाद रुपमा सामाजिक नेतृत्व र जिम्मेवारी सम्हाल्दै आएका राजेश वि.कको भोगाई, अनुभव र आगामी सोच समेतलाई  यस अंकमा समेटिएको छ । जसलाई यसप्रकार प्रस्तुत गरिएको छ ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

हुनत मेरो जिम्मेवारी अलि बढि नै क्षेत्रमा छ ता पनि विशेष गरी अहिले शिवजन मा.वि.तिर व्यस्त छु । अब यही ज्येष्ठ ९ देखि ११ सम्म बार्षिक उत्सव मनाउने तयारी हुदैछ । त्यसको लागि पनि बढी खटनपटन गर्नुपर्ने अवस्था छ ।

अहिले शिवजनजस्तो जिल्लाको ठूलो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको छ । त्यहाँको समग्र शैक्षिक अवस्था के कस्तो छ  ?
शिवजन मा.वि. जिल्लाकै एउटा नमूना विद्यालय हो । अहिले धेरैको रोजाईमा शिवजन परेको छ । विभिन्न निजी विद्यालयबाट समेत शिवजनमा आउने क्रम बढेको छ । शिवजनमा अंग्रेजी र नेपाली दुवै भाषामा अध्ययन अध्यापन भईरहेको छ । विद्यार्थी संख्या पनि बढेको अवस्था छ । अहिले कक्षा १ देखि १० सम्म ९८१ जना विद्यार्थि छन् । कक्षा ११ मा २८८ जना छन् र कक्षा १२ मा ३०८ जना छन् ।

केहि वर्ष पहिले आइ एस्सी एजी को पढाई सञ्चालन गर्ने भनेर महायज्ञ लगाईएको थियो । रकम पनि धेरै उठेको थियो । त्यो रकमको सदुपयोग भयो कि भएन ? अहिले उक्त शिक्षा के कस्तो रुपमा चलिरहेको छ ?

हो, करीब ४ वर्ष पहिले शिवजनमा आई एस्सी एजी को पढाई सञ्चालनका लागि महायज्ञ सञ्चालन भएको हो । रकम पनि उठेको हो । तर दाताले घोषणा गरेको सवै रकम भने प्राप्त भएन । बरु तुलनात्मक रुपमा केही गरीबहरुले  आफूले बोलेको रकम बुझाए, तर अलि हुनेखानेले भने कबुल रकम बुझाएका छैनन् । महायज्ञ सञ्चालन गर्न समयमा दाताको सम्मानका लागि शिलालेख बनाउने लगायतका कार्यहरु पनि गर्ने भनिएको थियो । अब करीब २ महिनामा त्यो कार्य पनि हुँदैछ । जतिले सहयोग गर्नुभएको थियो, त्यसले पनि ठूलो मदत मिलेको छ । महायज्ञको उदेश्य बमोजिम उक्त पढाई सञ्चालन पनि भएको छ ।

अहिले आई एस्सी एजी मा सवै १२० जना विद्यार्थी छन् । त्यस्तै अहिले सिटीईभिटी बाट मान्यताप्राप्त विषयहरु पनि वढाई भईरहेको अवस्था छ । १८ महिने भेटेरीनरी कोर्ष पनि सञ्चालन भएको छ । जसको शुल्क समेत त्यति चर्को छैन, जम्मा ५० हजारले उक्त कोर्षको लागि पुग्छ । त्यस्तै कृषि जे.टि.ए.को लागि भने २९ हजारले नै कोर्ष पुरा हुन्छ ।
त्यस्तै अर्को वर्ष बनविज्ञान विषयको समेत पढाई शुरु गर्ने तयारीमा छौं, यसको पहल गरिरहेका छौं ।

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न विभिन्न क्षेत्रबाट के कति सहयोग पाउनुभएको छ ?

विद्यालयको शैक्षिक सुधारको प्रयत्नलाई सवैतिरबाट सहयोग भईरहेको छ । केहि वर्ष पहिले सम्म पत्र पठाएर पनि नआउने अभिभावकहरु अहिले विद्यालय व्यवस्थापन समितिले अनुरोध गरेमा निकै उत्साहका साथ आउन थाल्नुभएको छ । दाताहरु देखि सरकारी क्षेत्रबाट समेत सहयोग भईरहेको छ ।

गत वर्ष माननीय अर्थमन्त्री प्रकाश ज्वालाले उपलब्ध गराएको ३० लाख र शारदा नगरपालिकाबाट प्राप्त ३० लाख रकमले भवन, सभाहल लगायतको संरचना थप हुँदैछ । अरुवेला पनि सहयोग पाउँदै आएको छ । त्यस्तै विद्यालयको भौतिक स्तर सुधार गर्न शिक्षा मन्त्रालयबाट ३ वर्षमा खर्च गरिसक्ने गरी डेढ करोड बजेट स्वीकृति भईसकेको छ । यसरी सवै क्षेत्रबाट सहयोग भएको छ र अँझ पनि सहयोग हुने अपेक्षा गरिरहेका छौं ।

अहिले निजी क्षेत्रबाट समेत विद्यार्थीहरु त्यता आकर्षण भईरहेको भन्ने सुनिन्छ, खासमा के छ, त्यहाँको विशेषता ?

निजी र सरकारी भन्ने कुरामा अभिभावकको भूमिकाले पनि प्रभाव पार्दछ । निजी स्कुलमा पढ्नेलाई अभिभावकले जति सक्यो सफा सुग्घर बनाएर पढाउने, जुता, व्याग, टाई, बेल्ट, डूेस, कपाल, नङ, कापी किताव हेरेर पठाउने, नियमित होमवर्क गर्नुपर्छ भन्ने सिकाउने, तर सरकारी विद्यालयमा जाने भएपछि केहि पनि वास्ता नगर्ने सोच नै यसमा जिम्मेवार छ ।

अहिले शिवजन मा.वि.मा पनि केही कुराहरु निजी स्कुलमा जस्तै लागु गर्न खोजेका छौं । लामो लामो कपाल पालेर आउने, अनुशासनमा नबस्ने विद्यार्थीहरुलाई सुधार गर्ने प्रयत्नमा लागेका छौं । बरु कहिलेकाँही त विद्यालयकै शिक्षक, वि.व्य.स. लगायतका व्यक्तिहरुले आफूले पैैसा तिरेर भएपनि कपाल काट्न लगाउने व्यवस्था गरेका छौं । विद्यार्थी अनुशासनमा बसे नबसेको, पढे नपढेको आदि हेर्ने गरेका छौं ।

अनि दृष्टिविहीन विद्यार्थीहरु पनि देख्न सकिन्छ,उनीहरुको कसरी व्यवस्थापन गर्नुभएको छ ?

हो, विद्यालयले दृष्टिविहीनहरुको लागि पनि पढ्ने व्यवस्था मिलाएको छ । अहिले २२ जना दृष्टिबिहीन विद्यार्थीहरु छात्रवासमा बसिरहेका छन् । ति विद्यार्थीहरुको लागि एक जना शिक्षकको व्यवस्था गरिएको छ । प्रति विद्यार्थी ४०००।– रुपँया सरकारले नै बेहोरेको छ । तर त्यसको व्यवस्थापन पक्ष विद्यालयले हेरेको छ ।

विद्यालयमा पुस्तकालयको व्यवस्था कस्तो छ ?

विद्यालयमा पुस्तकालय छ, तर अँझै व्यवस्थित हुन सकिरहेको छैन, अब चाँडै नै त्यसका लागि पनि हामीले सोच बनाएका छौं ।

विद्यार्थी संख्याको अनुपातमा शिक्षक र कक्षाकोठाहरुको अवस्था के छ ?

विद्यार्थीको चापको आधारमा सरकारले व्यवस्था गर्न सकेको छैन । जम्मा १५ जना मात्र स्थायी शिक्षकहरु छन् भने हाल सबै ३९ जना शिक्षकहरु अहिले कार्यरत छन् । सरकारी सेवा लिने बाहेकका शिक्षकहरुलाई निजी स्तरबाटै राखिएको छ, सरकारी सुविधा अनुसार दिन नसकेपनि दुईपक्षीय सहमतिमै शिक्षकहरुले पढाईरहनुभएको छ ।

यसरी शिवजन मा.वि.को शैक्षिक स्तर बृद्धि हुदै जानुमा र विद्यार्थीको समेत चाप बढ्दै जानुमा क–कसको भूमिका महत्वपूर्ण देख्नुहुन्छ ?

अहिले शिवजन मा.वि. जिल्लामै नमूना विद्यालय बनेको छ । यसरी अहिलेको अवस्थामा आईपुग्न सवैको साथ रहेको छ । प्रधानाध्यापकको रुपमा हिरालाल नेपाली जस्तो योग्य शिक्षकलाई पाएका छौं, त्यस्तै अन्य विभिन्न शिक्षकहरुले पनि आफ्नो पेशामा कटिबद्ध भएर लाग्नुभएको छ । त्यस्तै पछिल्लो समय अभिभावकहरुले समेत विद्यालयप्रति चासो राख्दै गएका कारण शैक्षिक अवस्थामा सुधार भईरहेको छ ।

तपाई अहिले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको जिल्ला सचिव पनि हुनुहुन्छ, त्यतातिर के के गर्नुभएको छ ?
हो, मेरो त्यतातिरको पनि जिम्मेवारी छ, अहिले जिल्लाका विभिन्न तहहरुमा पुगेर स्थानीय सरकारकै सहयोगमा उपभोक्ता समितिहरुलाई तालिम दिने काम गरेका छौं । समितिले विधान बनाउनुपर्ने, मुलहरु दर्ता गर्नुपर्ने, खानेपानीका योजनाहरु दीगो राख्नुपर्ने, मर्मत सम्भार योजना बनाएर काम गर्नुपर्ने, मर्मत सम्भार कार्यकर्ता तयार गर्नुपर्ने लगायतका विषयमा सहजीकरण गरिरहेका छौं ।

जसरी भएपनि सहज, सरल तरिकाले स्वस्थ पानी पिउन पाउनुपर्ने लगायतका कुरामा हामीले जोड दिएका छौं । स्थानीय स्तरमा गएर सवैलाई उत्प्रेरणा दिएका छौं । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष पूर्ण चन्द्र राईको विशेष पहलमा अहिले सवै स्थानीय तहहरुमा  राम्रो समन्वय गरेर काम गरिरहेका छौं ।

खानेपानी महासंघको संरचना कस्तो छ ? नगरपालिका र गाउँपालिका सम्म पनि यसको संरचना छ कि जिल्ला स्तरमा मात्रै ?

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको संरचना हाल विभिन्न जिल्लाहरुका जिल्लास्तरमा छ भने अव स्थानीय तहसम्म पनि गर्ने तयारीमा छौं । यसको लागि केन्द्रिय तहबाटै पहल भईरहेको छ । विधि, विधान र नीति नियमहरु अँझ पनि बन्दै गरेको अवस्था छ ।

तपाईहरुले दिएको तालिमपछि समुदायबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामीले कालीमाटी, दार्मा, कुमाख, लगायतका गाउँपालिकाहरुमा तालिम सञ्चालन गरिसकेका छौं, अँझै पनि एक दुई वटा बाँकी नै छन् । समुदायमा यस तालिमको राम्रो प्रभाव परेको छ । तर समुदायस्तरबाट थप के पनि अपेक्षा गरियो भने कतिपय स्थानमा खानेपानीका योजनाहरु कतैबाट पनि नपरेकोले महासंघले खानेपानीको समस्याग्रस्त क्षेत्रहरुमा योजना पार्न समेत पहल गरोस् भन्ने देखियो ।

तर हाम्रो समन्वयकारी भूमिका मात्र हुने भएकोले र महासंघको आफ्नै बजेट पनि नभएको अवस्थामा सवै अपेक्षाहरु भने पुरा गर्न सक्ने अवस्था छैन ।

तपाईले यातायात क्षेत्रमा समेत केहि अनुभव हाँसिल गर्नुभएको छ ? अहिले यातायात क्षेत्र कसरी चलिरहेको छ ?

यातायात क्षेत्रमा अहिले प्रतिश्पर्धा हुन थालेको छ । सरकारले प्रा.लि. खोलेर सञ्चालन गर्ने अनुमति र सल्लाह सुझाव दिएपछि पछिल्लो समय विभिन्न प्रा.लि.हरु खोलिएका छन् । जनताको लागि प्रतिश्पर्धा नै हुनु राम्रो भएपनि अस्वस्थ प्रतिश्पर्धा राम्रो होईन ।

यति धेरै प्रा.लि.र समितिहरु भईसक्दा पनि सल्यानको कालिमाटी गाउँपालिका र सल्लीबजारमा अहिले पनि विहानको सदरमुकामबाट विहाना गाडिहरु चल्न सकेका छैनन् । यतातिर तपाईहरुले केहि सोच बनाउनुभएको छैन ? अलिकति जनताको सेवा गर्नुपर्छ भावनाले पनि काम गर्नुपर्छ भन्ने कुराहरु कहिलेकाँही उठ्छन् कि उठ्दैनन् ?

हो, त्यसबारेमा हामीले मात्रै पनि होइन, प्रा.लि.ले पनि सोच्नुपर्ने हो । सवैले सोच्नुपर्ने हो । अहिलेसम्म त्यो हुन सकेको छैन । यसो गर्न नसक्नुको कारण खराब बाटोको कारण पनि हो । ठूलो बसहरु चल्न सक्ने बाटो नहुनु, यात्रुको माग अनुसारका गाडिहरु नहुनु लगायतका विविध समस्याहरु छन् । तर अब विस्तारै त्यो पनि प्रयाश भईरहेको छ ।

त्यस्तै सल्यान जिल्लाका स्थानीय रुटहरुमा अबदेखि राप्ती, नमस्ते र सल्यान रुकुम यातायातले संयुक्त रुपमा यात्रुको सुविधालाई मध्यनजर राखेर ५० प्रतिशत भाडा घटाएर सुविधा दिने तयारीमा छौं ।

तपाईले निर्माण व्यवशायीतिर पनि काम गर्नुभयो, अहिले त्यतातिर कत्तिको व्यस्त हुनुहुन्छ ?

कस्तो पाउनुहुन्छ, त्यतातिरको कामकाज ?

म अहिले नभएपनि केहि वर्ष पहिले त्यतातिर पनि थिए । अहिले र त्यसबेलाको परिस्थिति केही फरक पाएको छु , अहिले गुणस्तरहीन काम गर्ने प्रचलन बढेको छ । आफुले काम पाउनलाई निकै कममा पनि काम गर्न खोज्ने र काम पाईसकेपछि झनै गुणस्तरहीन काम गर्ने प्रचलन बढेको देखिन्छ । निर्माण व्यवसायिभित्र पनि निकै अस्वस्थ प्रतिस्पर्धा छ । सजिलै काम पाउने अवस्था नहुने र पाईहालेमा पनि गुणस्तरीय काम नगर्ने परिपाटीले अहिले राम्रो काम हुन सकेको छैन ।

यसरी तपाईले धेरै क्षेत्रको जिम्मेवारी पाउनुभएको छ ? खास तपाईको कुन गुणले सवैतिर लोकप्रिय बनाएको पाउनुहुन्छ ?

म लामो समयदेखि खलंगा र श्रीनगर सेरोफेरोमा बस्दै र काम गर्दै आएको छ । यसरी रहदा, बस्दा र काम गर्दा सवैसित राम्रै सम्बन्ध विस्तार भयो । कसैसित पनि मेरो दुस्मनी भएन् । कसैसित पनि मारपिट वा भैझगडामा सामेल वा संलग्न भएको छैन । मैंले कसैलाई पनि ठुलै मर्का मारेर काम गरेको छैन ।

यसरी मेरो व्यक्तिगत स्वभाव र गुणले नै सामाजिक जिम्मेवारी पाउने गरेको छु । सर्वसम्मत रुपमै मलाई जिम्मेवारी आउने भएकोले यसमा मलाई गर्व पनि लाग्छ । समाजले विश्वास गरेर कामको जिम्मेवारी दिएपछि मैंले पनि राम्रो काम गर्नुपर्छ भन्ने सोच अनुसार काम गर्ने गरेको छु  ।

सामाजिक जिम्मेवारी पाउन बंशज, ठूलो जाति, वर्ग र पुख्र्यौली रुपमै पनि केहि पृष्ठभूमि बनेको हुनुपर्छ भन्नेहरुलाई तपाई के भन्नुहुन्छ ?

मलाई त्यसमा विश्वास लाग्दैन । सामाजिक जिम्मेवारी पाउन या नेतृत्वमा पुग्न ठूलो जात, ठूलो वर्ग र ठूलो कुल घरानाको हुनुपर्छ भन्ने मलाई लाग्दैन । व्यक्तिगत क्षमता र गुणले पनि मानिसहरु जिम्मेवारी प्राप्त गर्दछन् । व्यक्तिगत क्षमताले पनि मानिसहरु उच्च पदमा पुग्न सक्छन् । सवैभन्दा पहिलो आफूले आफ्नो सोच बदल्न जरुरी छ ।

म आफै सानो जात, सानो वर्ग, सानो कुलको भनेर आफूलाई कहिल्यै मुल्यांकन गर्न हुँदैन । आफुले नै हिनता बोध गरेर प्रस्तुत हुने हो भने मानिस अगाडि बढ्नै सक्दैन । ती परम्परागत सोचहरु बदलेर अगाडि बढ्नुपर्छ । तब मात्र अगाडि बढ्न सकिन्छ । म पनि एउटा सामान्य परिवारको व्यक्ति हु ता पनि आज धेरैको विश्वास जित्न सफल भएको छु । सानो ठूलो भन्ने कुरा यो सोचमा भर पर्ने कुरा हो । कमजोर सोचले कमजोर नै बनाउछ, र राम्रो सोचले राम्रो बनाउछ ।

तपाईले काम गर्दै जाँदा कुन क्षेत्रबाट बढि सन्तुष्टि पाउनुभएको र भोलिका दिनमा कुन क्षेत्रमा तपाईले बढि समय वितोस् भन्ने चाहनुहुन्छ ?

मान्छेको कुनै न कुनै राजनैतिक दलप्रति आश्था पनि रहेको हुन्छ । आश्थासंगै सवैको विश्वास जित्न सकियो भने राजनैतिक बाटो पनि खुलै रहने छ भने मलाई सवैभन्दा बढि रुचिको विषय शिक्षा क्षेत्र बनेको छ । अवसर पाईयो भने कुनै न कुनै प्रकारले समाजमा रहेर शैक्षिक सुधारका काममा लाग्नेछु ।

अन्तमा कुमाख दैनिक पत्रिका र अनलाईनमार्फत केही सन्देश दिनुपर्ने छ कि ?

सवैभन्दा ठूलो कुरा शिक्षा नै हो । सवैले आफ्ना बालबालिकालाई असल शिक्षा दिने प्रयत्न गरौं । शिक्षामा गरेको लगानी खेर जाँदैन । यहि नै भन्न चाहन्छु ।ब

प्रतिक्रिया दिनुहोस

<