घर न घाटको अवस्थामा छन् नागरिक

सूचना र सञ्चारका कारण विश्व आज एउटा सानो घर झैं बनेको छ । अन्तर्राष्ट्रिय व्यापार, रोजगार र सूचना संयन्त्रले मानिसहरु कल्पनै नगरेको प्रगति पनि गरिरहेका छन् । सडकबाट अर्वपति भएका छन् भने केहि पनि गर्न सकिएन भन्ने सोच हुनेहरु डिप्रेसनको सिकार भईरहेका छन् ।

आज धेरै मानिसहरु अशान्त छन् , नैराश्यतामा छन् । सुख, सन्तोष, उन्नती र प्रगतिको आशामा रहदा रहदै भनेजस्तो केहि नहुदा र केहि नपाउँदा झन झन चिन्तामा परेका छन् । अधिकांश युवाहरु यतिखेर सानो काम पनि गर्न नसक्ने र ठूलो काम पनि केहि नभेटाउने अवस्थामा छन् । सानो कामलाई काम नै नभन्ने वा काम गर्दै जाँदा आफूलाई हिनताबोध हुने र काम समेत राम्रोसित नगर्ने अवस्था देखिन्छ । यसै अवस्थाका कारण गर्न लागेको काम बीचैमा छोडेर विदेशतिरै ताक्ने क्रम बढेको छ । जसले काम गरिरहेको छ, उसले पनि आत्म सन्तुष्टि भेटाएको छैन ।

अहिले नेपालको शिक्षा प्रणाली नै त्यहि प्रकारको छ जो बजारमा सजिलै विक्न सक्ने अवस्थामा छैन । आज बि.ए., एम.ए. पढेका शिक्षित व्यक्ति र प्राप्त सर्टिफिकेट पनि काम नपाएर थन्किएका छन् । यसो हुनुमा शिक्षा प्रणालिमा पक्कै पनि खोट छ । बजारमा एक प्रकारको शिक्षा आवश्यक छ, विद्यालय र किताबमा अर्कै प्रकारको शिक्षा छ । जसले गर्दा मानिसहरु भनेजस्तो काम पाउदैनन् । जसले काम पाएका छन्, तिनीहरु पनि सन्तुष्ट छैनन् । शिक्षा र बजारको आवश्यकताबीच तालमेल नखाँदा नै बेरोजगारी बढेको छ ।

मानिसहरु पाएको कामदेखि पनि सन्तुष्ट नहुने कारण देशभित्रकै अन्यायपूर्ण व्यवस्था पनि हो । यहाँ गलत क्रियाकलापबाट सम्पत्ति थुपारेर सानसित बस्नेहरु बढेका छन् । तर इमान्दार र परिश्रमी नागरिकहरुले जीवनभर दुखकष्ट गर्दा पनि आफ्नो जीवनस्तर बदल्न सकेका छैनन् । यसरी विभिन्न प्रकारले असमानता बढेको छ भने त्यहि असमानताकै कारण नागरिकहरुमा वितृष्णा छ ।

समाजमा भएको असमान र विभेदपूर्ण व्यवस्थाकै कारण द्वन्द्व निम्तिने गर्दछ । यस्तो अवस्थामा जसले आन्दोलन थाले पनि नागरिकहरुले त्यसलाई पनि एउटा विकल्पको रुपमा हेर्न थाल्दछन् । अहिले मुुलुकमा देखिएको द्वन्द्वको कारण र परिणाम पनि त्यहि नै हो । सरकारले नागरिकहरुको मागलाई सम्बोधन गर्ने प्रकारका काम र योजनाहरु नल्याउदा जहिले पनि विद्रोही पक्षलाई आश गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा विद्रोही पक्षले मलजल पाउने कारण त्यहि नै हो ।

सरकारले नागरिकहरुलाई विकल्पै नखोज्ने किसिमले काम गर्नुपर्दछ ।  सूचना, प्रविधि र विकासले नागरिकहरु अल्छि पनि बनेका छन् । घण्टौंसम्म फेसबुक वा अनलाईनमा विताउने र कार्यालयको जिम्मेवारी समेत तोकिएको समयमा पुरा नगर्ने क्रम बढेको छ । यसरी अल्छि बन्दै जाने हो भने अनुत्पादक बन्दै जाने खतरा रहन्छ । अहिले देशको अवस्था त्यस्तै देखिन थालेको छ ।

काम छैन भन्ने हो भने नेपालमा कृषि र पशुपालन व्यवशायले नै लाखौं जनतालाई रोजगारी दिन सक्छ, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रका सवै जनशक्ति अट्न सक्ने अवस्था छ । तर आफ्नै गाउँघर वा स्वदेशमा गरिने काम सवै सानो देख्ने वा आफ्नै गाउँठाउँमा काम गर्दा हिनताबोध गर्ने र त्यस्तै काम बाहिर गर्नुलाई सम्मानीत पेशा सम्झने गलत धारणाको विकासले आज नागरिकहरु स्वदेशमा न त मन लगाएर काम गर्छन्, न त बेरोजगार छु भन्न छोड्छन् ।
यसरी दिएको काम पनि नगर्ने र काम पाइएन पनि भन्न नछोड्ने नागरिकहरुको संख्या बढ्दै गएको छ । उनीहरु तल पनि झर्न नसक्ने र माथि पनि उक्लन नसक्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

<