प्रशंसा मात्र खोज्ने बानी त्यागौं

हुनत मानिस सानो बच्चा छँदैदेखि स्वार्थी हुन थाल्छ । बच्चाले जब रुन र हाँस्न सिक्छ, त्यसवेलादेखि नै केहि चेतनाको विकास हुन थाल्छ । बेस्सरी हप्काएको जस्तो गर्ने हो भने जन्मेको केहि दिनदेखि नै उस्ले प्रतिक्रिया दिन थाल्छ, तर्सिन्छ वा रुन थाल्छ । जन्मेको एक महिना नपुग्दै उसले अन्य व्यक्तिको संकेत बुझ्न थाल्छ । जब मानिसले अरुको संकेत बुझ्न थाल्छ, त्यतिबेलैदेखि मानिसहरु स्वार्थी बनेको पाईन्छ ।

बच्चा स्वार्थी हुनु त स्वभाविक मान्नुपर्छ, तर ठूलो भैसकेको मान्छे सधैं स्वार्थी बनेको चाँही नसुहाउने रहेछ । सधैं आफ्नो प्रशंसा मात्रै चाहनेले हो भने सच्चिने सम्भावना कम रहन्छ, गल्तीको पश्चाताप गर्ने बानी नै बस्दैन । आफूले जे गरेको छु, राम्रै गरेको छु भन्ने महशुस हुन्छ । मान्छे सुध्रिने अवसर नै पाउदैन ।

जब गल्तिको पश्चाताप समेत महशुस हुँदैन, मानिस झन झन गल्ति गर्दैै जान्छ । आज चोर, डाँका, फटाहा नसुध्रिने कारण त्यहि नै हो । आज भ्रष्टाचारीहरु नसुध्रिने कारण त्यहि हो । आफूले जे गल्ती गरेपनि र जस्तोसुकै अपराध गरेपनि त्यसलाई गल्ती र अपराध नसम्झने बानिले मुलुक बर्बादीतिर गइरहेको छ । बलात्कारीहरुले बलात्कार गर्न छोड्दैनन्, भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्न छोड्दैनन् , डाँका र डनहरुले पनि आफूले अपराध गरेको स्वीकार्दैनन् ।

प्रशंग कुनै एउटा कुराको मात्रै होइन । हरेक क्षेत्रमा आज भइरहेको यथार्थता हो । हामी कसैले पनि आफ्नो बारेमा प्रशंसा मात्रै खोज्ने गरेका छौं । एउटा डाक्टरले टाउकाको विरामीलाई खुट्टाको औषधी दिए पनि आफूले गल्ति नगरेको जिकिर गरेको देखिन्छ । एउटा व्यापारीले मिति कटेका सामान बेच्दा पनि आफूले गल्ति गरेको महशुस गर्दैन । भ्रष्टाचारीहरु रंगेहात फेला पर्दा पनि उसलाई कुनै पश्चाताप देखिदैन । हाम्रा राजनैतिक नेतृत्वहरुले मुलुकलाई समृद्ध गराउछौं भन्दै जीवनभर राजनीति गर्दा पनि र सत्तामा पुग्दा पनि उपलब्धिमूलक काम केही नहुदा समेत पछुताएको पाइदैन ।

मानिस प्रशंसाका भोका छन्, गल्ति गरेर पनि आफू सच्चिनुपर्ने कसैले पनि महशुस गर्दैनन् । एउटा ठूलो भ्रष्टाचारीले समेत आफू भ्रष्टाचारी नभएको भन्दै आफूभन्दा ठूला भ्रष्टाचारीहरुलाई भ्रष्टाचारी भएको उदाहरण दिन्छ । त्यति मात्रै होइन, एउटा साधुसन्तले पनि आफ्नो प्रशंसा नै चाहन्छ, आफूलाई कुनै पनि प्रकारले मगन्ते भएको महशुस गर्दैन ।

एउटा किसान र पशुपालकले पनि आफ्नो बारेमा कुनै पनि नराम्रो कुरा सुन्न चाहदैन । दुधमा धेरै पानी मिसाएर बेच्दा पनि आफूले गल्ति गरेको महशुस गर्दैन । बरु कसैले पानी धेरै हालेको रहेछ भन्यो भने उसप्रति नै रिस पोख्ने गर्दछ । हुँदा हुदा हामी यस्ता भैसकेका छौं कि आफ्नो बारेमा सधैं राम्रो मात्रै कुरा बाहिर आओस् , आफ्नो बारेमा सबैले राम्रो नै भनिदिउन् , आफ्नो बारेमा सञ्चारमाध्यमदेखि सवैले राम्रै कुरा मात्र प्रचार गरिदिउन् ।

यसरी प्रशंसा मात्रै खोज्ने बानीले हाम्रो उत्पादन गुणस्तरीय भएन । हामी जति मेहनती हुनुपर्ने थियो, त्यति मेहनती हुन सकेका छैनौं । हामी जुन रुपमा असल नागरिकको परिचय दिनुपर्ने थियो, त्यो रुपमा असल नागरिक बन्न सकेनौं । त्यसैले सधैं प्रशंसा मात्र  खोज्ने बानी त्यागौं । अरुका कुुरा पनि सुनौं । गल्ति कमजोरी भएको भए सुधार गरौं । सच्याउनुपर्ने वा सच्चिनुपर्ने भए सोहि बमोजिम तयारी होऔं । आफू र संगसँगै आफ्नो उन्नती र प्रगति चाहने हो भने भएका गल्ति कमजोरी महशुस गरौं, सुधार गरौं र सच्याउनुपर्ने भए सच्याऔं । यसैमा हामी सवैको कल्याण छ ।

प्रतिक्रिया दिनुहोस

<