समस्यामा परेका पत्रकारलाई सहयोग गर्न इन्जाले अभियान थाल्यो

काठमाडौं, ५ साउन ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) नेपालले कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरूलाई सहयोगका लागि अल्पकालिन र दीर्घकालिन विशेष अभियान सुरू गरेको छ ।

गम्भीर संकटको अवस्थामा पत्रकारहरूको रोजीरोटी समस्या हल गर्न अल्पकालिन अभियानअन्तर्गत इन्जाले एक लाख अमेरिकी डलरको लक्ष्य राखी एक गोफन्डमी खाता (https://bit=ly/30phjzW) खोली सहयोग जुटाउने काम थालिसकेको छ ।

यो खातामा संकलित रकम समस्यामा रहेका संचार माध्यम र संचारकर्मीहरूलाई पारदर्शी माध्यमबाट सोझै प्रदान गरिने इन्जाले जनाएको छ । प्राथमिकताका आधारमा तीन चरणमा सहायता उपलब्ध गराइने र यसका लागि वरिष्ठ पत्रकार त्रय तीर्थ कोइराला, तारानाथ दाहाल तथा टंक पन्तसहितको उच्चस्तरीय कमिटी गठन गरिएको छ ।

इन्जाले यस उद्धेश्यका लागि गोफन्डमीका अलावा व्यक्तिगत वा संस्थागत सहयोगलाई पनि स्वीकार गर्ने जनाएको छ । पीडा र समस्यामा परेका पत्रकारहरूलाई इन्जाले तयार गरेको अनलाइन फर्म (https://bit=ly/2OBtDaK) फर्म भरेर आफ्नो अवस्था अवगत गराउन अनुरोध गरिएको छ ।

इन्जाले दीर्घकालीन अभियान अन्तर्गत आयोजना निर्माण गर्दै रहेको र विभिन्न दातृ निकायहरूसँग पनि सहकार्यको पहल गरिरहेको जानकारी दिएको छ । नेपाली पत्रकारहरूलाई संकटमुक्त गर्ने यो अभियानमा सरिक भइदिन र सहयोगका लागि प्रेरित गरिदिन इन्जाले आग्रह गरेको छ ।

सञ्चारमाध्यमहरू बन्द हुने तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूले बजार तथा विज्ञापनमा ह्रास आएको कारण देखाउँदै पत्रकारहरूलाई निष्काशन गर्ने, बेतलबी विदामा बस्न दवाव दिने, कार्यरत पत्रकारहरूलाई यसअघि पाइरहेको तलबमा ५० प्रतिशतभन्दा बढी कटौती गर्दा देशभरका झण्डै २ हजार पत्रकारहरूको दैनिक जीवन यापनमा समस्या भएको इन्जाले जनाएको छ ।

‘लामो समयसम्म फाइदामा सञ्चालित ठूला व्यवसायिक घरानाका सञ्चारमाध्यमहरूले यो महामारीलाई आधार मानी पत्रकारहरूलाई निकाल्ने र आफ्ना शाखा प्रकाशन बन्द गर्ने अवसरको रुपमा उपयोग गरेको पनि महसुस भएको छ,’ इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ’बजार तथा विज्ञापनमा आएको ह्रासको कारण मिडिया प्रत्यक्ष रुपमा संकटमा परेको कुरालाई नजरअन्दाज गर्न नसकिने, तर वैकल्पिक उपायहरू नखोजी संकटका बेला पत्रकारहरूलाई हटाउनु उचित कदम हुन सक्दैन ।’

नेपालजस्ता विकासोन्मुख देशमा संकटको समयमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै इन्जाले प्रेस सवल हुन नसके देशमा शक्ति सन्तुलन कायम नहुने तथा सरकार अराजक बन्ने संभावना बढ्ने तथा संचार जगत कमजोर हुँदा प्रजातन्त्र पनि अति कमजोर हुने सम्भावना औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

<