सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ : ओली

\

काठमाडौं, ८ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन् । शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन् ।

प्रचण्ड खिइएर सकिन लागेको उनको भनाइ छ । उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो ।

अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरे । उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे ।

अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’ ओलीले प्रचण्डको माया लागेर आउने बताएका छन् । उनले भने, ‘प्रचण्ड देख्दा मलाई माया लाग्छ । उहाँले पहिलो वैद्य लिनुभएको थियो । त्यसपछि डाक्टर लिनुभयो । अहिले झाँक्री लिनुभएको छ । तर, त्यसले उहाँलाई बचाउन सक्दैन ।’

उनले प्रचण्ड–माधव पक्षलाई सभा कस्तो हुन्छ हेर्न विराटनगरमा हेर्न आउन आग्रह समेत गरेका छन् । ‘उहाँहरुले अस्ति अलिकति मान्छे थुपार्नुभएछ, मलाई सभा हेर्न आउनु भन्नुहुन्थ्यो’ उनले भने, ‘यहाँ हेर्नुहोस् ।

यहाँ मान्छे अट्दैन भनेर जनताहरु टिभीमा हेरि राख्नुभएको छ ।’ केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए । उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए । सरकारले आफ्नो काम गर्न थालेपछि आत्तिएर नेपाल बन्द गरेका समेत ओलीको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस