अफवाह फैलाउनुको अर्थ छैन, आरोप प्रमाणित भए सजाय भोग्न तयार छु ः मन्त्री बाँस्कोटा

कञ्चनपुर, ८ फाल्गुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् । बिहीबार कञ्चनपुरको बेलडाँडीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै बास्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताए ।

मन्त्री बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने समेत बताए । “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’ जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ,” उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि ।’

मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्र नामका व्यक्तिसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<