सल्यान तेस्रो गजल महफिल बागचौरमा सम्पन्न

सल्यान, ४ पुस ।
सल्यान तेस्रो गजल महफिल सल्यानको बागचौरमा सम्पन्न भएको छ । सल्यान कला साहित्य परिषदको आयोजना र बागचौर नगरपालिकाको समन्वयमा शुक्रबार भएको गजल महफिलमा राष्ट्रिय स्तरका ४ जना गजलकारहरुले गजल वाचन गरेका थिए ।

बाबु त्रिपाठी, हुकुम धड्कन, ऋषि सुदामा र संगीता थापाले शुक्रबार दिनभर गजल वाचन गरेर सहभागीहरुको ध्यान तानेका थिए । उनिहरुका गजल सुन्नलाई सल्यानका विभिन्न ठाउँबाट साहित्य प्रेमिहरुको सहभागीता रहेको थियो । उनिहरुले गजल वाचन गर्दा हलको माहोल समेत तातिएको थियो ।

अघिल्ला वर्षहरुमा पहिलो गजल महफिल श्रीनगरमा र दोस्रो महफिल सल्लीबजारमा सम्पन्न गरेको सल्यान कला साहित्य परिषद्ले तेस्रो गजल महफिल बागचौरको होटल शारदा टपमा गरेको हो । पछिल्लो समय जिल्लामा साहित्यको जगेर्ना गर्न सल्यान कला साहित्य परिषदले महत्वपूर्ण काम गरेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले साहित्यका हरेक कार्यक्रमलाई आफुले साथ दिने बताएका छन् । कलालाई राष्ट्रको साझा सम्पत्ति बनाउन सबै तहका व्यक्तिहरु लाग्नु पर्ने र सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

आफ्नो स्थानीय तहमा गरिने जुनसुकै साहित्य कार्यक्रमलाई आफुले अभिभावकको जिम्मेवारी लिएर साथ दिने उनको भनाइ छ । गजलले सबै वर्ग, समुह र समुदायलाई समेट्नु पर्ने मेयर बुढाथोकीले बताए ।

कार्यक्रममा बोल्दै साहित्यका डा. पुर्ण भण्डारी पंकजले सल्यानमा भएको यो गजल महफिलले देश तताउने बताए । अहिले सल्यानमा कला साहित्यको विकास हुँदै गएको र अझै यसको विकास र प्रचार गर्नुपर्ने उनले बताए ।

सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय एक्सनको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर लोकमान बुढाथोकी, विशिष्ट अतिथि उपमेयर कल्पना पुनको सहभागी रहेको थियोे । कार्यक्रमको संचालन तारादेव शर्माले गरेका थिए भने स्वागत मन्तव्य जीवन जलनले राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

यसैबीच महफिलको पुर्वसन्ध्यामा बिहिबार बागचौरको रिभर साइड होटलको हलमा थुप्रै साहित्यकारले आफ्ना रचना बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<