विधि, विधान र नीति नियमलाई कसैले पनि मिचेर जानुुहुदैन

 

 वि.सं. २०२५ साल पुुस २४ मा सल्यान जिल्लाको साविक कोटमौला गा.वि.स.मा जन्मनुुभएका र सल्यान जिल्लामा लामो समयदेखि राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वको रुपमा चिनिएका निम बहादुुर ओलीसंगको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । हाल नेपाली कांग्रेस जिल्ला उपसभापतिको जिम्मेवारीमा रहनुभएका श्री निम बहादुर ओलिका अनुभव, विचार र समसामयीक विषयमा भएको कुराकानी यस्तो छ ।                         

                                                                                   निम बहादुर ओलि

 राजनैतिक क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भो ?

– जब मैंले समाज सुधार र देशको समग्र पक्षको विकासका लागि राजनीति नै मूल सिद्धान्त र विषय हो भन्ने बुझे, त्यसपछि नै मलाई राजनीतिप्रति अँझ बढी चासो बढेको हो । विशेष गरी काठमाडौंमा पढ्ने क्रममा वि.पि. कोइरालाका विचारहरुप्रति झुकाव बढ्दै जाँदा शुरुमा नेविसंको संगठनमा आवद्ध भएको थिए ।

 औपचारिक रुपमा कहिले प्रवेश गर्नुभयो ?

– मेरो राजनैतिक यात्राको औपचारिक प्रारम्भ २०४५ सालमा भएको हो । २०४५ सालमा आर आर क्याम्पसमा पढ्ने सिलसिलामा ने.वि.संघ क्याम्पस इकाई समितिको सचिवको जिम्मेवारी पाएको थिए ।

 २०४५ सालदेखि हालसम्म आईपुग्दा कुन कुन जिम्मेवारीमा काम गर्नुभयो ?

– २०४५ आर आर क्याम्पसमा ने.वि.संघ क्याम्पस इकाई समितिको सचिव भएपश्चात २०५३ सालमा म नेपाल टेड युनियन कांग्रेसको केन्द्रिय प्रतिनिधि भएर काम गरेको थिए । २०५७ मा नेपाल तरुण दल सल्यान जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए । त्यसपछि २०५८ मा नेपाल तरुण दल सल्यानको अध्यक्ष भएर काम गरे । २०६२ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा थिए । त्यसपछि २०६७ मा नेपाली कांग्रेस सल्यान जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर काम गरे । २०७२ देखि नेपाली कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारीमा छु ।

 

 नेपाली काँग्रेसले समय समयमा आफ्ना सिद्धान्तहरु परिवर्तन गर्दै आएको छ, लामो समय नेपालमा संवैधानिक राजाको वकालत गर्यो, तर पछि त्यसलाई पनि पुरै त्याग्यो, यसलाई कसरी लिनुहुन्छ ?

– नेपाली कांग्रेस सकेसम्म संवैधानिक राजतन्त्र नै होओस् भन्ने चाहन्त्यो, तर राजसंस्थाले संवैधानिक रुपमा बस्न चाहेन, पटक पटक निरंकुश बन्ने प्रयत्न गर्यो, पटक पटक नेपाली कांग्रेसलाई धोका दियो । यसरी राजसंस्थाको बढी महत्वाकांक्षाका कारण नेपाली कांग्रेसले बाद्य भएर संवैधानिक राजतन्त्रको मुद्धा छोडेको हो । २०६२।०६३ को संयुक्त जनआन्दोलनको समयदेखि स्पष्ट रुपमा संवैधानिक राजतन्त्र त्यागेको हो ।

 तर २०६२।०६३ को आन्दोलनमा उठ्दै नउठेको कुरा जुन धर्मनिरपेक्षता भन्ने छ, त्यसलाई कसरी स्वीकार गर्यो नेपाली कांग्रेसले ? अधिकांश हिन्दुुहरु भएको देशमा हिन्दुराज्य लेखिदा पार्टीलाई के नै पो संकट थियो ? तपाईलाई के लाग्छ ?

– व्यक्तिगत रुपमा भन्नुपर्दा म हिन्दु हु, सवै नागरिकले आफ्नो आश्थाको धर्म मान्न पाउनुपर्छ, यसमा दुइमत छैन । जहाँसम्म धर्म निरपेक्षता भन्ने शब्द छ, यसले राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेको हो, नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रतामाथि अंकुश लागेको छैन ।

 तर एकातिर संसारको एक मात्र हिन्दु राष्ट नेपाल भनेर पहिचान बनेको थियो, हिन्दुराष्ट भनेर विश्वभर चिनिएको थियो, अर्कोतिर हिन्दुराष्ट हुदैमा पनि सवै धर्म मान्नेहरुलाई संरक्षण गर्नुपर्छ भनिरहेको हिन्दु धर्मलाई पहिचान बनाउनै नहुने कारण के छ ? अहिले पनि कुनै देश इसाई, कुनै देश मुश्लिम र कुनै देश बुद्धिष्ट भनेर चिनिएकै छन्, हिन्दुराष्ट लेखिदैमा किन आपत्ति भयो ?

– आपत्ति होइन, तर हिन्दुराष्ट भन्दा अन्य धर्म मान्नेहरुले आफूलाई ओझेलमा पारेको वा अन्यायमा परिएको महसुुस् गर्छन्, अनि उनीहरुलाई पनि आफ्नो धर्मको राज्य चाहिन्छ भन्ने सोच पलाउन सक्छ, समाजमा बैमनश्यता उत्पन्न हुन सक्छ । सवैका लागि मान्य हुने भएकोले म धर्मनिरपेक्ष नै ठिक हो भन्ने पक्षमा छुु ।

 नेपालमा अहिले पनि ९४ प्रतिशत ओमकार परिवार छन्, ८० प्रतिशत भन्दा बढि जनताले हिन्दुु धर्म मान्दछन् । यसरी सल्लै सल्लाको जंगललाई सल्लाघारी, बाँसैबाँस भएको क्षेत्रलाई बाँसघारी पनि अब भन्न नमिल्ने हो ? सल्ला भएको ठाउँमा मेल, चुत्रा लगायत अन्य स साना बोट विरुवाको पहिचान हराउछ भन्दैमा के अव सल्लेरीलाई सल्लेरी पनि भन्न नपाउने हो त ?

– यसलाई पनि त्यसरी हेर्न हुदैन, धर्मका विषयमा त्यसरी अर्थ लगाउन मिल्दैन ।

 अनि सवैलाई स्थान दिने नाममा एउटा विद्यालयमा पढ्ने सवै विद्यार्थीलाई प्रथम बनाउन मिल्छ, नम्बरका आधारमा कोहि प्रथम, कोहि दोस्रो हुदै क्रमशः आफ्नो स्थान कुन हो, त्यसरी भएको नतिजा स्वीकार्न नहुने हो र ?

– होइन, यसलाई त्यसरी पनि हेर्न मिल्दैन, धर्मको आधारमा प्रथम, दोस्रो भन्ने रुपमा हेर्न हुदैन ।

 जुन कुरा घामजत्तिकै छर्लंग छ, त्यसलाई स्वीकार्ने नहुने समस्या के छ ?

– यसबारे धेरैं नजाऔं, तर म धर्म निरपेक्षकै पक्षमा छु र पार्टी पनि धर्मनिरपेक्षताकै पक्षमा छ ।

 तर तपाईको पार्टीमा त हिन्दुराष्टकै पक्षमा मत बलियो बन्दैछ नि , यसलाई कसरी लिनुहुन्छ ?

– विचार सवैको एउटै हुदैन । विभिन्न विचारहरु हुन्छन् । छलफल र बहस् हुनु पनि स्वभाविक हो, तर पार्टी धर्मनिरपेक्षताकै पक्षमा अडिग रहनेमा म विश्वस्त छु ।

 भोलि नेपाली भाषाका विषयमा पनि त्यस्तै धारण बन्ला ? सरकारी कामकाजको भाषा नेपाली किन बनाउने भन्ने प्रश्न उठ्न सक्छ, किनकी नेपाली भाषालाई महत्व दिदा अन्य भाषा ओझेलमा परेको अर्थ लगाउन सक्छन्, यसमा के भन्नुहुन्छ ?

– भाषाको विषयमा त प्रश्न उठ्दैन, किनकी नेपाली भाषा सवैले बुझ्ने र बोल्ने भाषा भैसकेको छ । त्यसै गरी सवै मातृभाषालाई संरक्षण गर्ने राज्यको नीति बनेकै छ । नेपाली बाहेक अन्य भाषा पनि स्थानीय स्तरमा बोल्न र लेख्न पाउने व्यवस्था छँदैछ ।

नेपाली कांग्रेस जनताको भावना अनुुसार चल्न सकेन भन्ने आरोप छ, अहिले जिल्लामा नेपाली कांग्रेसका गतिविधिहरुप्रति कांग्रेशकै आश्थावान युवा र कार्यकर्ताहरुमा समेत नैराश्यता देखिन्छ, उनीहरुमा त्यति उत्साह देखिदैन, संगठन समेत कमजोर बन्दै गएको देखिन्छ, अब तपाईको भूमिका के हुन्छ ?

– हाल नेपाली कांग्रेसको नेतृत्व पार्टीको विधिविधान अनुुसार चल्न सकिरहेको छैन । यसमा आन्तरिक रुपमा पनि छलफल भईरहेको छ । तर नेपाली कांग्रेशप्रति युवा र कार्यकर्ताहरुमा नैराश्यता भएको कुरा साँचो होइन, नेपाली कांग्रेसको संगठन कमजोर भएको कुरा पनि साँचो होइन । सवै स्थानीय तहमा नेपाली कांग्रेशको संगठन छ, भातृसंगठनहरु छन्, तरुण दल छ, अन्य संगठनहरु छन् र विभिन्न प्रकारका गतिविधिहरु पनि भईरहेका छन् । नेपाली कांग्रेस कमजोर भएको छ भन्ने मलाई लाग्दैन ।

लामो समय ठूलो पार्टीको रुपमा संगठन र सरकार समेत सञ्चालन गरिसकेको नेपाली कांग्रेसकै नेतृत्व अहिले निकै आलोचित हुनुपरेको छ, नेतृत्वले सहि दिशा निर्देश गर्न नसकेको आरोप लाग्दै आएको छ । यसमा तपाईको भनाई के छ ?

– पछिल्लो समय नेपाली कांग्रेसको नेतृत्व पार्टीको विधान अनुसार चल्न नसकेको अवस्था छ । तसर्थ नेतृत्व विधान अनुसार नै चल्नुपर्छ भन्ने हाम्रो भनाई हो । त्यसका लागि आन्तरिक रुपमा आ आफ्नो तह र क्षेत्रबाट नेतृत्वलाई सल्लाह सुझाव दिने प्रयाश भईरहेको छ ।

प्रसंग बदलौं,

तपाई कुनै समय साहित्यप्रति पनि रुचि राख्नुहुन्थ्यो, शारदा नामक बार्षिक पत्रिका समेत केही अंक प्रकाशन गर्नुभयो, तर किन निरन्तरता हुन सकेन ?

– हो, म साहित्य र सञ्चार क्षेत्रप्रति रुचि राख्ने व्यक्ति हु, म लगायत साथिहरुको सहयोगमा शारदा नामको पत्रिका पनि निकाल्यौं, समसामयीक कुरा र विचारहरु राख्ने गरेका थियौं, त्यस्तै मैंले नेपाली कांगे्रस प्रशिक्षण दिग्दर्शन २०७१ नामक पुुस्तक प्रकाशन गरेको थिए । छिटफुुट रुपमा विभिन्न लेखरचनाहरु प्रकाशन हुुदैआएका छन् । तर आर्थिक लगायत विविध कारणले नियमित रुपमा अगाडि बढाउन सकिरहेका छैनौं ।

 तपाईले सामाजिक क्षेत्रमा पनि विभिन्न कामहरु गर्दैै आउनुुभएको छ । लामो समय संघसंस्थाको पनि जिम्मेवारी सम्हाल्नुभएको थियो तर अहिले ति कुराहरु ओझेलमा देखिन्छन् । यसमा के भन्नुहहुन्छ ?

– हो मैंले धेरै सामाजिक कामहरु गरे, संघसंस्थामार्फत पनि विकास निर्माण लगायत विभिन्न कामहरु गरे तर अहिले राज्यको मूल नीति राजनीतिप्रति नै मेरो बढी ध्यान छ । अन्य कामहरुमा पुरा समय दिन सकिरहेको छैन ।

तपाईले संघसंस्थामार्फत पनि विभिन्न कामहरु गर्नुभयो, संघसंस्थालाई कमाईखाने भाँडोको रुपमा हेर्नेहरु पनि धेरै छन्, तपाईको भोगाई र बुझाई के रह्यो ?

– काम गर्नेले पारिश्रमिक नै लिनहुदैन भन्नु गलत हो, पारिश्रमिक लिन पाउनुपर्छ, यदाकदा कसैले कतै केही अनियमितता पनि गरेहोलान्, तर समग्र संस्थाले नै गलत काम गर्छन् भन्ने बुझाई ठिक होइन्, संघसंस्थाले थुप्रै राम्रा कामहरु पनि गरेका छन् ।

 तर पछिल्लो समय संघसंस्थाप्रतिको राज्यको दृष्टिकोण राम्रो देखिदैन, तपाई के भन्नुहुन्छ ?

– राज्यले संघसंस्थालाई परिचालन र व्यवस्थापन गर्न नसकेको हो । संघसंस्थाप्रति पुरै नकारात्मक बन्नु सरकारकै कमजोरी हो । सरकारले सहि रुपमा व्यवस्थापन र परिचालन गर्नुपर्छ ।

 अहिले सरकार पनि आलोचित बनिरहेको छ । जनताको अपेक्षा बमोजिम काम नगरेको भनेर नागरिकहरुले आवाज उठाईरहेका छन् । यसमा तपाईको सल्लाह सुुझाव के छ ?

–अहिले सरकारमा भ्रष्टहरुको बाहुल्यता छ । सुशासन्, पारदर्शिता, मितव्ययिता जस्ता कुराहरु सरकारमा बस्नेहरुले पुरै विर्सेका छन् । नीति, विधि र मूल्यमान्यताहरुलाई वेवास्ता गरेको अवस्था छ । अतः म के भन्न चाहन्छुु भने केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनवटै सरकारमा बस्नेहरुले विधि, विधान र नीति नियमअनुुसार काम गर्नुपर्छ । विधि, विधान र नीति नियमलाई कसैले पनि मिचेर जानुुहुदैन ।

 मुलुकमा लामो समय बन्दाबन्दी भयो, यसले गर्दा जनजीवन ठप्प अवस्थामा रह्यो । जनताको आर्थिक क्रियाकलापहरु अँझै पनि सुुचारु हुन सकेका छैनन् । उद्योग, कलकारखाना अँझै चल्न सकेका छैनन्, सरकारले के गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ ?

– हो, लामो समयदेखिको बन्दाबन्दीले जनताको जीवन नराम्ररी प्रभावित बनेको छ । आर्थिक अवस्था दयनीय बनेको छ, अतः अब आर्थिक क्रियाकलापहरु सूचारु गर्नुको विकल्प छैन । तर नागरिकले सचेतता भने अपनाउनै पर्दछ, राज्यले पनि नागरिकहरुलाई सचेत र सजग बनाउदै, महामारी नियन्त्रणका उपायहरु अपनाउदै विकास निर्माण लगायतका गतिविधिहरु अगाडि बढाउनुपर्छ ।

 तपाईले लामो समयदेखि जिल्लामा राजनैतिक र सामाजिक क्षेत्रमा रहेर काम गर्दै आउनुभएको छ, अबको सोच के छ ?

– मैंले सामाजिक र राजनैतिक क्षेत्रमा रहेर काम गर्दै आएको छु । अहिले नेपाली कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारीमा छु र अबको सोच भनेको जिल्लामा पार्टीको नेतृत्व गर्ने नै हो । पार्टीको चौधौं महाधिवेशनको तयारीमा अहिले छौं ।

 तर नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि त धेरै नेतृत्वका आकांक्षिहरु देखिन थालेका छन् नि ? अहिलेका जिल्ला समन्वय प्रमुख केश बहादुर विष्ट, पूर्व जिविस सभापति ध्रुवराज पुरी लगायत अन्य नेताहरु समेत जिल्ला नेतृत्वको आकांक्षि रहेको भन्ने कुराहरु सुन्न सकिन्छ नि ?

– आकांक्षा राख्नु स्वभाविक हो, तर उहाँहरु समेतले मेरो समर्थन गर्नेमा म विश्वस्त छु । अहिलेका जिल्ला पार्टी सभापति गनेश चन्द, पूर्व शिक्षाराज्य मन्त्रि राजेन्द्र बहादुर शाह, नेपाली कांग्रेसका पूूर्व केन्द्रिय समति सदस्य लगायत विभिन्न नेतृत्वहरुले मलाई समर्थन गरिसक्नुभएको छ । मलाई विश्वास छ, जो जो सभापतिका आकांक्षी हुनुुुहुुन्छ, उहाँहरुले अन्तिममा मलाई नै समर्थन गर्नुहुनेछ ।

 

 तपाईले यदि जिल्लाको नेतृत्व गर्ने अवस्थाम पार्टीलाई बलियो बनाएर अगाडि बढाउने स्पष्ट योजना के छ ?

– मैंले लामो समयदेखि संगठन निर्माण, कार्यकर्ता भेटघाट, कार्यकर्ता प्रशिक्षण लगायतका क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको छु, अब पनि संगठन निर्माण तथा क्रियाशिल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अठोट लिएको छु । सवैलाई मिलाएर अगाडि बढाउन सक्नेमा म विश्वस्त छु ।

 अन्तमा, राजनैतिक एबं सामाजिक यात्रा सुखद् रहोस् । समय र संवाद्को लागि धन्यवाद् ।

प्रतिक्रिया दिनुहोस

<